भारतमा एकैदिन ३ लाख ८६ हजारलाई कोरोना, ३४९८ को मृत्यु

वैशाख १७, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतमा कोरोना महामारीले ‘सुनामी’ को रूप लिइसकेको छ । तत्काल संक्रमितको संख्यामा कमी आउने सम्भावना देखिएको छैन । पछिल्लो एक साता भारतमा भाइरसबाट संक्रमित हुनेको संख्या अन्य कुनै देशमा भन्दा बढी छ । यो अवधिमा दैनिक ३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । 

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा त हालसम्मकै सबैभन्दा बढी ३ लाख ८६ हजार ४ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ । अघिल्लो दिन ३ लाख ७९ हजार २ सय ५७ जना संक्रमित थपिएका थिए। मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ करोड ८७ लाख ६२ हजार ९ सय ७६ पुगेको छ । 

एक दिनको अवधिमा ३ हजार ४ सय ९८ जनाले ज्यान गुमाएका छन् ।  शुक्रबार साँझसम्म भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ८ हजार ३ सय ३० पुगिसकेको छ । 

भाइरस प्रभावित देशहरूको सूचीमा शीर्षस्थानमा रहेको अमेरिकामा ३ करोड २२ लाखभन्दा बढी संक्रमित छन् । ५ लाख ७५ हजारभन्दा बढीको भाइरसले मृत्यु भइसकेको छ । 

भारतमा सक्रिय संक्रमितको संख्या नै करिब ३२ लाख पुगेको छ । महामारीका कारण भारतका अस्पतालहरूमा बेड तथा अक्सिजनको चरम अभाव देखिएको छ । जसका कारण बिरामीहरूको उपचार नपाएरै मृत्यु भएको छ । अस्पतालहरू बिरामीहरूको भार नसक्ने अवस्थामा पुगिसकेका छन् ।

अमेरिका, बेलायत, यूएई, साउदी अरबलगायत देशले अक्सिजन तथा मेडिकल सामग्रीहरू सहयोग गरेका भए पनि सवा अर्बभन्दा बढी जनसंख्या रहेको भारतका लागि बालुवामा पानी खन्याएसरह भएको जनस्वास्थ्यविद्हरूको भनाइ छ । 

शव जलाउनै मुस्किल 

भाइरसको महामारीका कारण अभूतपूर्व संकटमा परेको भारतमा कोरोनाका कारण मृत्यु भएकाहरूको दाहसंस्कार गर्नसमेत कठिनाइ हुन थालेको छ । पछिल्ला केही दिनहरूमा अन्तिम संस्कार गर्ने स्थानमा पनि ठूलो चाप बढेको छ । केही मसानघाटहरू चौबिसै घण्टा सञ्चालनमा छन् ।

मसानघाटका कर्मचारीहरू आफूले विश्रामबिना नै दाहसंस्कार गर्न थालेको जनाउँछन् । तर दाहसंस्कार गर्न पालो नपाएपछि खुला स्थानमा शवहरू जलाउने व्यवस्था गर्न थालिएको छ । राजधानी दिल्लीका घाटमा शव जलाउन ठाउँ नपुगेर नयाँ चिता बनाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । त्यसैगरी, अन्तिम संस्कारका लागि आवश्यक दाउराको समेत अभाव हुन थालेको छ । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully