हटस्पट मानिएका राज्यबाट आउनेलाई ७२ घण्टाभित्रको नेगेटिभ पीसीआर रिपोर्ट चाहिने, सीमा क्षेत्रका भारतीय आउनुपरे एन्टिजेन परीक्षण
पर्सा — निषेधाज्ञाको पहिलो दिन पर्साको वीरगन्जस्थित नेपाल–भारत सीमा नाकामा लामो लाइन थियो । भारत फर्किनेहरू बिहीबार बिहानै पारि जाने तरखरमा थिए । उनीहरूमध्ये अधिकांश राजधानी काठमाडौंबाट रात्रि बसमा वीरगन्ज आएका हुन् ।
बढ्दो संक्रमणका बीच उपत्यकासहित विभिन्न जिल्लामा निषेधाज्ञा लगाइएपछि भारतीयहरू सपरिवार घर फर्किन सीमानाकामा आइपुगेका हुन् ।
तर सहजै पारि जान भने पाएका छैनन् । उनीहरूलाई भारतीय आधार कार्ड जाँच गरेर मात्रै पारि पठाइएको छ । बिहीबारदेखि पर्सामा समेत निषेधाज्ञा सुरु भएकाले भारतबाट नेपाल प्रवेशमा समेत कडाइ गरिएको छ । नेपाली नागरिकलाई नागरिकता तथा अन्य पहिचान खुल्ने कागजात हेरेर सम्बन्धित स्थानीय तहसँग समन्वय गरी डेढदेखि २ सातासम्म होम क्वारेन्टाइनमा बस्ने सर्तमा मात्र प्रवेश गर्न दिइएको छ । उनीहरूको सीमास्थित हेल्थ डेस्कमा अनिवार्य स्वास्थ्य परीक्षणसमेत गरिएको छ ।
कोरोना हटस्पट रहेका विभिन्न भारतीय राज्यबाट आएका भारतीयहरूलाई वारि आउन ७२ घण्टाभित्र नेगेटिभ आएको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । सीमा क्षेत्रका भारतीय नागरिक अत्यावश्यक काम परेर वारि आउनुपरे उनीहरूको पनि सीमामा एन्टिजेन परीक्षणको व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत जयमोद ठाकुरले जानकारी दिए । ‘अन्यथा नेपाल प्रवेश गर्न नदिई सबैलाई मितेरी पुलमै रोकिएको छ । पारि जान खोज्ने नेपालीलाई पनि जान दिइएको छैन,’ उनले भने ।
भारतबाट नेपालमा वैवाहिक प्रयोजनका लागि आउनेहरूलाई गाडीमा बेहुला–बेहुली भए नभएको जाच गरी एक थान गाडी मात्र नेपाल प्रवेश गर्न दिइएको छ । भारतबाट खाद्यान्न, तरकारी, फलफूल, माछा, मासुलगायत अत्यावश्यकीय सामग्री आयातमा रोक लगाइएको छैन । कोइला, इन्धनलगायतको आयात पनि सहज रूपमा भइरहेको छ ।
१७० बेडको कोभिड अस्पताल सञ्चालनमा
संक्रमित थपिने क्रम बढेसँगै वीरगन्जमा कोभिड अस्पताल सञ्चालनमा ल्याइएको छ । नेसनल मेडिकल कलेजले वीरगन्जको नगवामा १ सय ७० शय्याको कोभिड अस्पताल बुधबारदेखि सञ्चालनमा ल्याएको हो ।
अस्पतालका प्रवक्ता सेराज अहमदका अनुसार आइसोलेसन, आईसीयू, भेन्टिलेटरलगायत सेवा उपलब्ध हुनेछ । बुधबार र बिहीबार गरी अस्पतालमा ३० जना संक्रमित उपचारार्थ भर्ना भइसकेको उनले जानकारी दिए । संक्रमितलाई निःशुल्क उपचार र खानाको व्यवस्थासमेत गरिएको उनले बताए । आवश्यक परे अस्पतालमा सय शय्या थप गरी एकैसाथ २ सय ७० संक्रमितको उपचार गर्न सकिने उनले दाबी गरे ।
यसैबीच, बिहीबार वीरगन्जमा एक संक्रमितको मृत्यु भएको छ । वीरगन्ज–१२ का ४० वर्षीय पुरुषको नारायणी अस्पतालमा उपचारको क्रममा बिहान १० बजे मृत्यु भएको हो । गत चैत १५ यता अस्पतालमा उपचाररत २० संक्रमितको मृत्यु भइसकेको छ । यसबाहेक नारायणी वयोधा अस्पतालमा तीन, गण्डक अस्पतालमा एक र पर्साका एक पुरुषको भरतपुरमा समेत गरी २५ जनाको कोरोनाकै कारण मृत्यु भएको तथ्यांक छ ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा एकै दिन जिल्लामा १ सय ६९ संक्रमित थपिएका छन् । बुधबार कुल २ सय ८८ जनाको स्वाब परीक्षण गरिएको थियो । संक्रमितहरू १० देखि ७७ वर्षसम्मका छन् । कोरोनाको दोस्रो लहर सुरु भएपछि जिल्लामा एकै दिन यति धेरै संख्यामा संक्रमित थपिएको यो पहिलोपटक हो ।
