भेरीमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु

वैशाख १७, २०७८

रुपा गहतराज

बाँके — बाँकेमा बढ्दै गइरहेको कोरोना संक्रमणसँगै ज्यान गुमाउनेको संख्यामा पनि तीव्र रुपमा वृद्धि भइरहेको छ ।

नेपालगन्जको भेरी अस्पतालमा उपचाररत थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताए ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेले दिएको जानकारीअनुसार बाँके, बर्दिया र कैलालीका एक/एक जना बिरामीको मृत्यु भएको हो ।

चैत २५ गते भेरीमा भर्ना भएकी बर्दिया बढैयाताल गाउापालिका वडा नम्बर ७ का ४७ वर्षीया महिलाको बिहीबार साँझ ५:३० बजे मृत्यु भएको छ।

त्यस्तै कैलाली गोदावरीका ६२ वर्षीय पुरुषको बिहीबार ९:३० बजे मृत्यु भएको छ । वैशाख १३ गते भेरीमा भर्ना भएका उनलाई भोलिपल्ट कोरोना पुष्टि भएको थियो ।

त्यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ की ५७ वर्षीया महिलाको शुक्रबार बिहान ३:३० बजे मृत्यु भएको छ । वैशाख १४ गते भर्ना भएकी उनको त्यही दिन गरिएको परीक्षणमा कोरोना देखिएको थियो । 

कोरोना भाइरस

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully