निषेधाज्ञा उल्लंघन र स्वास्थ्य मापदण्ड पालना नगर्ने ५८ हजार १ सय ५२ जना नियन्त्रणमा
काठमाडौँ — कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएपछि १४ जिल्लामा अत्यावश्यकबाहेकका सेवा बन्द भएका छन् ।
ती जिल्लामा अत्यावश्यक र प्रशासनबाट अनुमति लिएका वस्तु तथा सेवाबाहेक निजी तथा सार्वजनिक सवारी, उद्योग/कलकारखाना, मानिसको हिँडडुल, व्यापार/व्यवसाय, मठमन्दिरलगायतका क्षेत्र बन्द गरिएका हुन् ।
यस्तै, दाङ र पाल्पामा शुक्रबार निषेधाज्ञा सुरु हुँदै छ । सल्यानमा वैशाख १९ गतेदेखि जेठ १ सम्म र सुनसरीमा शुक्रबारबाटै वैशाख २४ सम्म लागू हुने गरी बिहीबार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा घोषणा गरेका छन् ।
मन्त्रिपरिषद्ले सोमबार काठमाडौं उपत्यका र तराईका जिल्लामा ५ सय र हिमाली तथा पहाडी जिल्लामा २ सय सक्रिय संक्रमित देखिए तत्काल निषेधाज्ञा लगाउन देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको थियो । त्यही नीतिअनुसार निषेधाज्ञा जारी गरिएको हो । गृह मन्त्रालयका अनुसार बिहीबार साँझसम्म उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरसहित १३ जिल्लामा जिल्लाभर र बागलुङ, बर्दिया र कालीकोटमा प्रभावित क्षेत्रमा लागू हुने गरी निषेधाज्ञा लगाइएको छ ।
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले निषेधाज्ञा जारी भएका ठाउँमा आदेश कडाइका साथ लागू गर्न थप निर्देशन दिइएको बताए । उनका अनुसार बिहीबार गृहले ७७ वटै प्रशासनलाई परिपत्र गरी सार्वजनिक तथा निजी सवारी सुरु स्थानबाट काठमाडौं उपत्यकालाई गन्तव्य बनाएर र निषेधाज्ञा जारी भएका जिल्लाको भूभाग प्रयोग गरी ओहोरदोहोर गर्न नदिन भनेको छ । ‘पहिलो दिन भएर होला, बिहीबार उपत्यकामा निषेधाज्ञा जारी हुँदा पनि बाहिरबाट भित्रिएका सवारी व्यवस्थापनमा केही अलमल र कठिनाइ देखियो, यसलाई सुरु दिन ठानेर प्रशासनले पनि लचकता अपनायो,’ प्रवक्ता दाहालले भने, ‘शुक्रबारबाट उपत्यकाको निषेधाज्ञा अझै कडाइ गर्न निर्देशन दिएका छौं, अवज्ञा गर्नेप्रति अब नरम हुन सकिँदैन ।’
बिहीबारदेखि उपत्यकामा निषेधाज्ञा भए पनि लामो दूरीका सवारी थानकोट, साँगा, बल्खु हुँदै भित्रिएर कतिपय ठाउँमा जाम नै भएको थियो । उपत्यका छिर्ने नाकाबाहेक अरू ठाउँमा निषेधाज्ञालाई कडाइका साथ लागू गरिएको थियो । निषेधाज्ञा लगाइएका जिल्लामा अत्यावश्यक र अनुमति दिइएकाबाहेकलाई आवागमन र वस्तु तथा सेवा सञ्चालनमा रोक लगाइएको छ । बागलुङको बागलुङ नगरपालिकाका १२, १३ र १४ वडामा अत्यावश्यकबाहेकका सबै क्षेत्र सञ्चालनमा रोक लगाइएको छ ।
बर्दियाको गुलरिया नगरपालिका–५ र ६ का सबै क्षेत्र, बाँसगढी नगरपालिकाको बाँसगढी बजार क्षेत्र, बारबर्दियाको जयनगर र कतर्निया बजार क्षेत्र, मधुवन नगरपालिकाको लालीबजार र ओराली बजार, ठाकुरबाबा नगरपालिकाको बगनाहा, भुरीगाउँ र ठाकुरद्वार बजार क्षेत्र, राजपुर नगरपालिकाको राजापुर र मानपुर टपरा बजार, बढैयाताल गाउँपालिकाको भोलागौंढी, मैनापोखर र शीतला बजार, गेरुवा गाउँपालिकाको शान्तिबजार र पशुपतिनगर क्षेत्रमा निषेधाज्ञा लगाइएको छ । यस्तै कालीकोटको खाँडाचक्र नगरपालिका–रेङगिल क्षेत्रमा निषेधाज्ञा छ ।
बाँकेमा वैशाख २० सम्म, सुर्खेतमा २१, काठमाडौं, भक्तपुर र ललितपुरमा पहिलो सात दिन त्यसपछिको थप सात दिन गरी वैशाख २९ सम्म, कास्कीमा २१ सम्म, कैलाली, कञ्चनपुर र पर्सामा वैशाख २२ सम्म, पाल्पामा २४, चितवन र रूपन्देहीमा क्रमशः १ र ३० गतेसम्म निषेधाज्ञा लगाइएको छ । बागलुङ र कालीकोटका केही स्थानमा शुक्रबारसम्म र बर्दियामा २९ गतेसम्म निषेधाज्ञा कायम हुने छ ।
उपत्यकामा २,४२२ जना नियन्त्रणमा
प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन र स्वास्थ्य मापदण्ड पालना नगर्ने मुलुकका विभिन्न ठाउँमा ५८ हजार १ सय ५२ जनालाई होल्डिङ सेन्टरमा राखेर छाडिएको छ । काठमाडौं उपत्यकामा मात्र सुरक्षाकर्मीले बिहीबार २ हजार ४ सय २२ जनालाई नियन्त्रणमा लिएका छन् । उनीहरूलाई सडकमै बनाइएका होल्डिङ सेन्टरमा राखेर साँझ छाडिएको थियो ।
महानगरीय प्रहरी कार्यालयका एसपी सुशीलसिंह राठौरका अनुसार काठमाडौंमा ४ सय ९१, ललितपुरमा १ हजार ७ सय १३ र भक्तपुरमा २ सय १८ जनालाई नियन्त्रणमा लिइएको थियो । उपत्यकामा निषेधाज्ञा उल्लंघन गरेका २ हजार ४९ गाडीलाई पनि नियन्त्रणमा लिएर साँझ सम्बन्धित चालकलाई नै बुझाइयो । नियन्त्रणमा लिइएका धेरैजसो सवारीलाई बेलुका ७ बजेपछि सम्बन्धित धनीको जिम्मा लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दियो । सवारी लिन नआएकालाई जरिवाना तिराएर जिम्मा लगाइने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तीनवटै जिल्लाबाट १ हजार ४ सय ८८ दुईपांग्रे र ५ सय ६१ चारपांग्रे सवारीसाधन नियन्त्रणमा लिइएको थियो ।
अनुमतिबिना गुडेका सवारी नियन्त्रण र नियमन गर्न महाशाखाले १ सय ७२ ठाउँमा चेक प्वाइन्ट र ५६ स्थानमा ‘ब्यारिकेट’ सहितको डेडिकेटेड चेक प्वाइन्ट स्थापना गरेको थियो । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता राठौरले पहिलो दिन भएर उल्लंघन गर्नेबाट जरिवाना नलिइएको बताए । ‘अब पनि उल्लंघन गर्ने प्रवृत्ति नरोकिए दिनभर होल्डिङ सेन्टरमा राख्छौं । सवारी चालक र पैदल यात्रुलाई कानुनअनुसार जरिवाना पनि तिराउँछौं,’ उनले भने ।
