कञ्चनपुर — भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेका कारण घर फर्किनेको संख्या बढ्दो छ । त्यसमा अधिकांश संक्रमित पाइएका छन् । तर, नाकामा स्वास्थ्य जाँचलगायतको व्यवस्थापन भने अस्तव्यस्त छ । उनीहरूलाई सामान्य तापक्रम जाँचकै भरमा घरतर्फ पठाइने गरिएको छ ।
गड्डाचौकी नाकाबाट दिनमा करिब ७/८ सय नेपाली घर फर्किरहेका छन् । उनीहरूमध्ये अधिकांश भारतमा कोरोनाको उच्च जोखिम भएको क्षेत्रबाट फर्किरहेका हुन् । बिहीबार मात्रै गड्डाचौकीबाट ७ सय ३ जना भित्रिए । ‘न जाँच, न कुनै स्वास्थ्य मापदण्ड,’ नाकाबाट फर्किएका बैतडीका रामदत्त जोशीले भने, ‘यस्तो भीडभाडमा कोरोना नभएकालाई पनि संक्रमण हुने जोखिम छ ।’ उनी दिल्लीबाट घर फर्किएका हुन् ।
बिहीबारदेखि नै भारतबाट फर्किनेलाई नाकाबाटै सम्बन्धित जिल्लातर्फ पठाउन थालिएको छ । नाकामा होल्डिङ सेन्टर निर्माण गर्ने भनिए पनि ठाउँ अभावका कारण बनाउन सकिएको छैन । भारतबाट फर्किनेलाई दशगजामै रोकेर बस तथा अन्य सवारीसाधनमा घरतर्फ पठाउन लागिएको हो । यसअघिसम्म उनीहरू सोझै महेन्द्रनगर पुगेर सार्वजनिक यातायातमा घरतर्फ जाने गरेका थिए ।
बिहीबार भित्रिएकामध्ये ५१ जनाको मात्रै एन्टिजेन परीक्षण गरिएको छ । जसमा चार जनामा संक्रमण पाइएको छ । एन्टिजेन किट अभाव भएका कारण कञ्चनपुरका स्थानीयको मात्रै परीक्षण गरिएको हो । बुधबारसम्म भारतको जोखिमग्रस्त क्षेत्रबाट आएका र लक्षण देखिएकाको एन्टिजेन परीक्षण गरिन्थ्यो । बुधबारसम्म दिनमा दुई/अढाई सयको परीक्षण गर्दा ३०/३५ जनामा संक्रमण पाइएको थियो । ‘एन्टिजेन किट अभावका कारण कञ्चनपुर घर भएकाको मात्रै परीक्षण गर्न थालेका छौं,’ गड्डाचौकीस्थित हेल्थ डेस्कका इन्चार्ज आकाश बारुडीले भने, ‘अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाले नै व्यवस्था गर्नेछ ।’
जिल्लाका विभिन्न पालिकामा पनि एन्टिजेन अभाव भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका निमित्त प्रमुख नरेन्द्र कुँवरका अनुसार विभिन्न स्थानीय तहबाट माग भए पनि पठाउन सकिएको छैन । गड्डाचौकी नाकासँगै महाकाली अस्पतालमा पनि न्यून मात्रामा एन्टिजेन किट पठाइएको उनले बताए । गड्डाचौकी नाकाबाट फर्किनेलाई अहिले पनि सोझै घर पठाउने गरिएको छ ।
