खाडी तथा मलेसियामा कार्यरत श्रमिकको जानकारी म्यानपावर कम्पनीमार्फत लिइने
काठमाडौँ — कोरोना भाइरसको दोस्रो लहरबाट खाडी तथा मलेसियामा अप्ठ्यारोमा परेका नेपाली श्रमिकलाई तत्काल उद्धार गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले र्यापिड रेस्पोन्स टिम (द्रुत उद्धार टोली) बनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीको संयोजकत्वमा टोली बनाएका हुन् । टोलीको बैठकले भने उद्धारका लागि सरोकार मन्त्रालयसँग समन्वय र सहजीकरण गर्न श्रम सहसचिवको नेतृत्वमा अर्को उच्चस्तरीय टोली बनाउन मन्त्रालयलाई अनुरोध गरेको छ ।
‘श्रमिकको उद्धारका लागि परराष्ट्र, पर्यटनलगायत मन्त्रालयसँग नियमित समन्वय गर्नुपर्छ । मेरो नेतृत्वको टिमले सूचना संकलन गर्छ । मन्त्रालयकै संयोजकत्वमा उच्चस्तरीय उद्धार टोली बनाउन आवश्यक देखियो,’ दवाडीले कान्तिपुरलाई भने ।
बैठकले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी) लाई आफूलाई पठाएका श्रमिकको यथार्थ विवरण पेस गर्न लगाउने निर्णय गरेको छ । ‘म्यानपावरमार्फत गएका श्रमिकको जानकारी म्यानपावरबाटै लिने र व्यक्तिगत हिसाबले गएका श्रमिकको जानकारी दूतावासमार्फत लिने निर्णय भएको छ,’ दवाडीले भने । उनले श्रमिकको उद्धारका लागि खर्चको प्रबन्ध वैदेशिक रोजगार बोर्ड, अर्थ मन्त्रालय र अन्तर्राष्ट्रिय दातृ निकायमार्फत बन्दोबस्त गर्ने तयारी भइरहेको बताए । गत वर्ष बोर्डले १० हजार श्रमिकलाई उद्धार गर्ने तयारी गरेको थियो । तर, बोर्डको खर्चबाट तीन सय २७ जना मात्रै उद्धार गरिएको थियो ।
कोरोना संक्रमणको पहिलो लहरका बेला वैदेशिक रोजगारमा गएकामध्ये झन्डै एक लाख १० हजार जना फर्किएका छन् । खाडी तथा मलेसियास्थित नेपाली दूतावासका अनुसार फर्किएकामा श्रमिक रोजगार करारपत्र नवीकरण नगर्नेहरू बढी छन् । गन्तव्य देशका राजदूतहरूका अनुसार कोरोना संक्रमण बढे पनि पहिलाजस्तो श्रमिकहरूलाई तत्काल उद्धार गर्नुपर्ने अवस्था देखिएको छैन । ‘पहिलाजस्तो भयग्रस्त वातावरण छैन । साउदीमा कोरोना नियन्त्रणमा आइसकेको थियो । अहिले फेरि संक्रमितको संख्या दिनमा हजार नाघिरहेको छ । तैपनि पहिलाजसरी श्रमिकहरू आत्तिएका छैनन् । खोप सहजै उपलब्ध भइरहेको छ, नाम लेखाएको दुई–तीन दिनभित्र खोप लगाउन पाइन्छ । अक्सिजनको अभाव छैन,’ साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले कान्तिपुरसँग भने, ‘भारत र पाकिस्तानबाट श्रमिक आउन रोक लगाइएको छ । नेपालबाट निर्बाध रूपमा श्रमिक आइरहेका छन् ।’
गत वर्ष कोरोनाको संक्रमण नियन्त्रण गर्न अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइँदा स्वदेश फिर्न श्रमिकले नेपाली दूतावासमा नाम दर्ता गर्नुपरेको थियो । नाम दर्ता गरेकालाई प्राथमिकताका आधारमा दूतावासले चार्टर उडानमार्फत स्वदेश पठाउनुपरेको थियो । संयुक्त अरब इमिरेट्स (यूएई) मा ५० हजार, साउदी अरबमा २१ हजार, कतार २० हजार र मलेसियामा १७ हजार नेपाली श्रमिकले नाम दर्ता गराएका थिए । त्यसको झन्डै ९५ प्रतिशत श्रमिक स्वदेश फर्किए । नियमित उडान भएपछि खाडी तथा मलेसियास्थित नेपाली दूतावासले स्वदेश फिर्न चाहने नेपाली श्रमिकले अनुमति लिनुपर्ने व्यवस्था हटाएको थियो ।
मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले अब भने पहिलाजसरी स्वदेश फिर्न दूतावासमा नाम नै दर्ता गर्नुपर्ने अवस्था नआउने बताए । ‘मलेसियाले कोरोना संक्रमण नियन्त्रण गर्न स्वास्थ्य संकटकाल लगाएको छ । यहाँ स्वास्थ्य मापदण्ड अपनाइएको छ । संक्रमितको संख्या बढे पनि श्रमिकलाई अप्ठ्यारो परिस्थिति आउने देखिएको छैन,’ उनले भने । उनले जबर्जस्ती काम गर्न बाध्य बनाउने कम्पनीलाई मलेसिया सरकारमार्फत कारबाही भइरहेको पनि जानकारी दिए ।
