तनहुँ — जिल्लाका १० वटै पालिकाको लागत सहभागितामा तयार गरिएको आइसोलेसन भवनमा आवश्यक उपकरणको अभाव देखिएको छ ।
शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको हाताभित्र कोभिड संक्रमितको व्यवस्थापन गर्न ३० वेड क्षमताको आइसोलेसन भवन तयार गरिएको छ ।
गत वर्ष भाइरस संक्रमण समुदायस्तरमै फैलिएपछि व्यवस्थापनमा जटिलता आइलागेको थियो । संक्रमितमा गम्भिर प्रकृतिको स्वास्थ्य समस्या नदेखिएपछि जिल्लाका अधिकांश संक्रमति होम आइसोलेसनमै बसेका थिए । निको हुन थालेपछि स्थानीय पालिकाले तयार गरेको आइसोलेसन भवन प्रयोगमा ल्याउन कुनै चासो देखाइएको थिएन ।
अहिले मुलुकमा कोभिडको नयाँ भेरिएन्ट फैलिदा आइसोलेसन भवनलाई व्यवस्थित गर्न चासो देखाइएको छ तर आवश्यक उपकरणहरू नहुँदा संक्रमितलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौति आइलागेको केन्द्रका निर्देशक डा. रामकुमार श्रेष्ठ बताउँछन् ।
‘१० वटै पालिकाको लागत सहभागीतामा आइसोलेसन भवन तयार भएको छ, यस भवनमा एसि, अक्सिजन सहित ३० वेड तयार छन’, उनले भने, ‘५ वेडको इमरजेन्सि कक्ष तयारीमा जुटेका छौं तर आवश्यक उपकरणहरू नहुँदा समस्या आइलागेको छ ।’ अस्पतालमा आवश्यक दक्ष जनशक्ति भने छन । ‘यदि भेन्टिलेटरसहितको आईसीयु कक्ष सञ्चालनका लागि आवश्यक उपकरण उपलब्ध भएमा गम्भिर प्रकृतिका संक्रमितलाई सहज रुपमा उपचार सेवा दिन सक्छौं’ उनले भने, ‘नत्र अक्सिजनको भरमा उपचार गर्नुपर्ने अवस्था छ । यो पनि पर्याप्त छैन ।’
करिव ७२ लाख रुपैयाँमा निर्माण गरिएको भवन चैत्र ७ गते केन्द्रलाई हस्तान्तरण गरिएको थियो । आइसोलेसन भवनका निर्माणका लागि शुक्लागण्डकीको १४ प्रतिशत, व्यास, भिमाद र भानु नगरपालिकाको १२/१२ प्रतिशत, रिसिङ, घिरिङ, म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाको ९/९ प्रतिशत र देवघाट गाउँपालिकाको ५ प्रतिशत लागत सहभागिता रहको छ ।
