क्वारेन्टाइन, आइसोलेसन छैनन्, सवारीमा निर्बाध आउजाउ
म्याग्दी, लमजुङ, गोरखा — कोरोना संक्रमणको पहिलो लहरमा म्याग्दीका स्थानीय तह, प्रशासन र समुदायले देखिएको सक्रियता दोस्रो लहरमा भयावह बनिरहेको संक्रमण रोक्न भने खासै पहल गरिएको छैन । कोरोना संक्रमण रोक्न जोखिमयुक्त क्षेत्रबाट आएकालाई अलग्गै राख्न गतवर्ष निर्माण गरिएका क्वारेन्टाइन यतिबेला छैनन ।
संक्रमण आशंका गरिएका बिरामीलाई समुदायबाट छुट्याई एकान्तबासमा राख्न बनाइएका आइसोलेसन सेन्टर पनि यतिबेला छैनन् । ‘गत वर्षजस्तो क्वारेन्टाइन र आइसोलेसन राख्ने भन्ने छैन,’ मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले भने, ‘लक्षण देखियो भने गाउँपालिकाको कोरोना अस्पताल आउन भनिएको छ ।’ मास्क अनिवार्य प्रयोग गर्न, बिरामीले परिवार तथा समुदायमा घुलमिल नहुन र कोरोना परिक्षण गर्न जनप्रतिनिधि, स्थानीय अगुवा र वडा कार्यालयमार्फत सचेत गरिएको उनले बताए । १५ बेडको कोरोना अस्पतालमा एक मात्र डाक्टर छन् ।
मालिकामात्र होइन, जिल्लाका सबै स्थानीय तहको अवस्था यस्तै नाजुक छ । एक लाख जनसंख्या रहेको जिल्लामा पछिल्लो एक सातामा मात्र सक्रिय संक्रमित ४६ पुगेका छन् । उच्च जोखिमयुक्त सहरबाट फर्किएकाको व्यवस्थापन पनि हुन सकेको छैन ।
बेनी नगरपालिकाले भने लक्षण नदेखिए पनि कोरोना संक्रमण भएकालाई घरमै क्वारेन्टाइनमा बस्न भनेको छ । सदरमुकामसमेत बजारमा डेरा गरी बस्ने वा घरमा छुट्टै क्वारेन्टाइनमा बस्न नसक्नेलाई राख्ने २३ बेडको प्रिआइसोलेन स्थापना गरेको छ । ‘कोरोना संक्रमित भए पनि लक्षण देखिएको छैन भने घरमै राख्ने सरकारी नीति छ । तर सबैलाई घरमै क्वारेन्टाइन बस्न नमिल्ने अवस्थाका संक्रमितलाई छुट्टै प्रिआइसोलेसन बनाएका छौं,’ बेनीका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले भने, ‘आईसीयूमा राख्नुपर्ने बिरामीबाहेकका संक्रमितको उपचार र व्यवस्थापन सम्बन्धित स्थानीय तहले गर्ने सहमतिअनुसार खर्च व्यवस्थापन गर्न कार्यविधि बनाएका छौं ।’
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सहरबाट गाउँ फर्केकाको बेनीको कालीपुलमा होल्डिङ सेन्टर बनाई अभिलेख लिएर स्थानीय तहले कन्ट्र्याक्ट ट्रेसिङ गर्ने निर्णय गरेको पनि कार्यान्वयन भएको छैन । केन्द्रका सदस्य रेडक्रस प्रतिनिधि सुरत केसीका अनुसार सदरमुकाम बेनीमा लक्षण देखा नपरेका संक्रमितलाई राख्ने प्रिआइसोलेन बनाउन र बेड थप गर्न सक्ने क्षमता भए पनि गाउँपालिकामा भने प्रिआइसोलेसनको तयारी भएको छैन ।
सहरको तुलनामा गाउँका घरमा छुट्टै शौचालय, कोठासमेत एकान्तबास बस्ने ठाउँ नहुने हुँदा हरेक बस्तीमा एक/एक वटा क्वारेन्टाइन आवश्यक छ । ‘पोखरा, काठमाडौंबाट घर फर्केकाको कालीपुलमा होल्डिङ सेन्टरमा हरेक स्थानीय तहका एक/एक प्रतिनिधिमार्फत ट्र्याकिङ गरी क्वारेन्टाइनमा राख्न सुरु भएको छ,’ प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले भने, ‘बेनी अस्पतालको निर्माणाधीन भवनका ४ कोठालाई कम्तीमा ३ भेन्टिलेटरसहित २० बेडको आईसीयू सञ्चालन तयारीमा छौं ।’ अधिकारीका अनुसार पढेलेखेका र शिक्षितले नै कोरोनाको स्वास्थ्य समस्याको गम्भीरतालाई बुझ्न नसकेको र हेलचक्र्याइँ गरेको देखिएको छ ।
सावधानीबिनै जिल्ला प्रवेश
स्वास्थ्य मापदण्डका सावधानीबिनै बाहिरी जिल्लाबाट लमजुङ प्रवेश गर्ने बढेका छन् । कोरोना संक्रमणको जोखिमस्थलबाट आए पनि उनीहरूको स्वास्थ्यको कुनै परीक्षण भएको छैन । काठमाडौं, चितवन, पोखरालगायत ठाउँबाट सामान्य ज्वरो, रूघाखोकी लागेकासमेत सवारी साधन चढेर आएका छन् । स्वास्थ्य समस्या देखिएकाले समेत मास्क नलगाउने, जथाभावी हाछ्युँ गर्ने गुनासो यात्रुले नै गरेका छन् । सवारी साधनमा ठेलमठेल गरेरमात्रै नभई ट्रक र जीप चढेरसमेत जिल्ला प्रवेश गरेका छन् ।
सुन्दरबजार नगरपालिका–७ पाउँदीकी सलिमा श्रेष्ठले केही दिनयता जिल्ला प्रवेश गर्नेको संख्या बढेको र उनीहरू स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी आएको बताइन् । ‘गाडीभित्र कोचाकोच छ । न मास्क छ, न दूरी कायम छ,’ उनले भनिन्, ‘यस्तो तरिकाले कोरोना भयावह हुने स्थिति छ ।’ स्वास्थ्य परीक्षण गर्ने र शंकास्पदलाई कोरोना परीक्षण गर्ने वातावरण मिलाएमा राम्रो हुने उनले बताइन् ।
कोरोना संक्रमितस्थलबाट सिधै घर गएपछि कोरोना समुदायमा फैलने जोखिम बढेको छ । पछिल्लो समय काठमाडौं, चितवन र पोखरामा कडाइ गरिएपछि लमजुङ भित्रने नाका पाउँदी, दुईपिप्ले, रामबजारबाट रातदिन स्वास्थ्य सुरक्षाबिनै हुलका हुल भित्रने गरेका छन् । प्रहरीले त्यसलाई रोक्न सकेको छैन । पाउँदी प्रहरी अस्थायी बिटका अनुसार बुधबार बिहान ६ बजेदेखि साँझ ६ बजेभित्र करीब ३ हजार यात्रु जिल्ला भित्रिएका छन् । बिटइन्चार्ज अमृतबहादुर भुजेलका अनुसार रातको समय कतिपयलाई चेकजााच गर्न गाह्रो पर्यो । काठमाडौं, चितवन, पोखरामा कोरोना संक्रमण बढेपछि रातारात सवारी साधन रिजर्भ गरेरसमेत आउने गरेको उनले बताए । सवारी साधनमा सेनिटाइजरको व्यवस्थापन गरिएको छैन । सामाजिक तथा भौतिक दूरी कायम गरिएको छैन । अझ कतिपयले त मास्कबिनै गाडीमा हिँडेका छन् ।
भुजेलका अनुसार रातदिन नभनीकन सुरक्षा दिएर सवारी अवागमन गरिरएको र सबैलाई स्वास्थ्य सुरक्षा कायम गर्न आग्रह गरेको बताए । कतिपय यात्रु तथा चालक मास्कबिना आउजाउ गरेकाले मास्क लगाएरमात्रै हिँड्न आग्रह गरिएको उनको भनाइ छ । ‘यात्रु कसैले मास्क लगाएका छैनन् । ड्राइभरलेसमेत मास्क लगाउँदैनन् । हामीले भने पछिमात्रै लगाउने गरेका छन्,’ उनले भने । प्रहरीका अनुसार सोमबारदेखि बढीमात्रामा यात्रु भित्रिएका छन ।
डीएसपी गंगाबहादुर थापाले सीमामा मान्छे रोक्नेबारे कुनै निर्देशन नभएपछि प्रहरीले स्वास्थ्य सुरक्षाको अवस्थामात्रै हेरेको बताए । ‘केही दिनयता जिल्ला प्रवेश र गाउँ जानेको संख्या पनि बढेको छ,’ उनले भने, ‘हामीले स्वास्थ्य सुरक्षा अपनाएको छ वा छैन भनेर हेरेका छौं । सवारी साधनमा सिट क्षमताभन्दा बढी चढ्न दिएका छैनौं ।’ प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले अहिलेको समयमा जिल्ला प्रवेशमा कसैलाई रोक नलगाएको तर, जिल्ला भित्रिएकालाई वडाले निगरानी गर्ने र होमक्वारेन्टाइनमा राख्न भनिएको बताए ।
संक्रमण बढ्यो, तयारी सुस्त
कोरोना संक्रमणबाट मंगलबार राति मृत्यु भएका गोरखा नगरपालिका–१४ का एक पुरुषको शव व्यवस्थापन झन्डै २३ घण्टापछि भयो । झुन्डिएर आत्महत्या गरेका ३६ वर्षीयको शव व्यवस्थापन नहुँदा छिमेकी र आफन्तलाई बुधबार दिनभर घरबाहिर रुँघेर बस्नुको विकल्प थिएन । ‘शव झुन्डिएको अवस्थामा घरभित्र थियो, हामी भोकभोकै बाहिर बस्यौँ, शव व्यवस्थापनका लागि गाडी आउँछ भनेर कुर्दैमा दिन बित्यो,’ स्थानीय सन्तोष नेपालीले भने, ‘अघिल्लो दिन राति ९ बजे घटना भएकोमा भोलिपल्ट राति ८ बजेतिर मात्र शवको व्यवस्थापन भयो ।’ कोरोना दोस्रो लहर फैलिरहँदा यो कमजोर पूर्वतयारीको एउटा नमुना हो ।
‘जनप्रनिधिले सीडीओ, सीडीओले सेना भन्दैमा दिन बित्दो रहेछ,’ एक स्थानीयले भने, ‘एउटा शव व्यवस्थापनमा यति उल्झन गरे, भोलि भयावह स्थिति आए के होला ?’ कोरोनाको दोस्रो लहर फैलिँदै गर्दा स्थानीय तह र सरोकारवालाबीच समन्वय अभाव देखिएको छ । काठमाडौं तथा अन्य जिल्लाबाट भित्रनेको संख्या पछिल्ला दिनमा बढेको छ । यसरी जिल्लामा भित्रिएकाको कोरोना परीक्षण र क्वारेन्टाइनमा राख्ने प्रबन्धबारे सरोकारवाला निकायले बेवास्ता गर्दै आएका छन् । बुधबारको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको वैठकले भारतबाट स्थलमार्ग भई आउनेले अनिवार्य १० दिन होमक्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको छ ।
होमक्वारेन्टाइनमा बसेकाको अनुगमन सम्बन्धित पालिकालाई गर्न भनिएको छ । जिल्ला प्रवेश गर्ने मुख्य नाकामा सम्बन्धित स्थानीय तहले स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्रीसहितको हेल्थ डेक्स स्थापना गर्ने निर्णय भए पनि बिहीबारसम्म भएका छैनन् ।
