भारतमा एकैदिन ३ लाख ५२ हजारभन्दा बढीलाई कोरोना संक्रमण, २८१२ जनाको मृत्यु

वैशाख १३, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतमा लगातार पाँचौँ दिन ३ लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र ३ लाख ५२ हजार ९ सय ९१ जना नयाँ संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै बढी हो ।

त्यसैगरी पछिल्लो एक दिनमा २ हजार ८ सय १२ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा संक्रमणका कारण मृत्यु हुने १ लाख ९५ हजार १ सय २३ पुगेको छ । भारतमा अहिलेसम्म १ करोड ७३ लाख १३ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ४३ लाख संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या २८ लाख १३ हजारभन्दा बढी छ ।

भारत विश्वमा सबैभन्दा बढी संक्रमित मुलुकमध्ये अमेरिकापछि दोस्रोमा पर्छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै दिल्ली, महाराष्ट्र, उत्तरप्रदेश, मध्यप्रदेश, गुजरात, छत्तीसगढ, कर्नाटकलगायत राज्यमा उच्च संक्रमण देखिएको छ ।

महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ६१ हजार ४ सय ५० जनामा संक्रमण पुष्टि भएको छ भने ८ सय ३२ जनाको मृत्यु भएको छ । त्यस्तै राजधानी दिल्लीमा दिल्लीमा पछिल्लो २४ घण्टामा २१ हजार ७१ जनामा संक्रमण पुष्टि हुनुका साथै ३ सय ५० जनाको मृत्यु भएको छ । दिल्लीमा गएको संक्रमण विस्फोटक ढंगले बढ्न क्रमसँगै अक्सिजन र बेडको नपाएर संक्रमितहरुको बिचल्ली भएको छ । रेम्डेसिभिरलगायत औषधिको चरम अभाव देखिएको छ । पछिल्ला दिनमा संक्रमित हुने र निको हुने संख्याबीचको फरक पनि बढ्दै गएको छ ।

पछिल्लो समय नेपालसँग सीमा जोडिएका भारतका राज्यहरूमा पनि संक्रमण बढिरहेको छ । पछिल्लो २४ घण्टामा उत्तर प्रदेशमा २५ हजार ६ सय ६३ जनामा संक्रमण पुष्टि भएको छ भने २ सय ६ जनाको मृत्यु भएको छ । त्यस्तै पश्चिम बंगालमा १० हजार ९ सय ४१ जनामा संक्रमण पुष्टि भएको छ भने ५७ जनाको मृत्यु भएको छ । त्यस्तै नेपालसँग सीमा जोडिएको बिहारमा पछिल्लो २४ घण्टामा ७ हजार ५ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ भने ६८ जनाको मृत्यु भएको छ ।

भारतमा आइतबारसम्ममा १४ करोड १९ लाख ११ हजारभन्दा बढीले खोप लगाएका छन् ।आगामी १ मेदेखि अठार वर्षमाथिका सबै उमेर समूहका लागि खुला गरिएको छ । भारतमा १६ जनवरीदेखि खोप अभियान सुरु गरिएको हो । गत १ अप्रिलदेखि ४५ वर्षमाथि उमेरका लागि खोप उपलब्ध हुँदै आएको थियो । तर, कोरोना महामारी नियन्त्रणका लागि खोप अभियान पर्याप्त नभएको भन्दै मोदी सरकारको आलोचना भएपछि उमेर समूह घटाइएको हो ।

कोरोना खोपकोरोना भाइरस

कान्तिपुर

Link copied successfully