काभ्रेमा तयार छैनन् आइसोलेसन

चिकित्सकका लागि सूचना गरे पनि आवेदन परेन

वैशाख १३, २०७८

नगेन्द्र अधिकारी

काभ्रे — जिल्लामा दैनिक २० जनाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भए पनि जिल्लाका स्थानीय तहले आइसोलेसन र क्वारेन्टाइन सञ्चालन गर्न चासो दिएका छैनन् । दोस्रो लहरको संक्रमण देखिन थालेको दुई साता बितिसक्दा पनि जिल्लाका कुनै पनि आइसोलेसन चालु अवस्थामा छैनन् ।

गत वर्ष कोरोना व्यवस्थापनका लागि भन्दै प्रत्येक स्थानीय तहमा १०/१० लाख रुपैयाँ बजेट व्यवस्थापन गरेर जिल्लाका ११ पालिकामा कोरोना अस्थायी अस्पताल सञ्चालनमा थिए । गत वर्ष विद्यालयमा सञ्चालन गरिएका आइसोलेसन पनि हटेकाले तत्काल सेवा दिन सम्भव नभएको हो । स्थानीय तहहरूले तयारी थालिएको बताएका छन् ।

नमोबुद्ध नगरपालिका प्रमुख टंकप्रसाद शर्मा (तिमल्सिना) ले केही दिनमा नै सञ्चालनको तयारी रहेको बताए । ‘जनशक्ति र उपकरण तयारी अवस्थामा छ,’ तिमल्सिनाले भने, ‘आवश्यक प्रबन्ध गरेर छिट्टै सञ्चालनमा ल्याउँछौं ।’ संघीय सरकारले पठाएको १० लाख बजेटबाट पालिकाहरूले मेडिकल अधिकृत र उपकरणहरू खरिद गरी सेवा सुरु गरेका थिए । पनौती, धुलिखेल, पाँचखाल, नमोबुद्धलगायतका स्थानीय तहले प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका चिकित्सक नै प्रयोग गरेर आइसोलेसन सञ्चालन गरेका थिए । 

यसअघि ५० बेडको आइसोलेसन कक्ष सञ्चालनमा ल्याएको बनेपा नगरपालिकाले ‘स्ट्यान्ड बाई’ अवस्थामा रहेको जनाएको छ । ‘उपकरण र जनशक्ति स्ट्यान्डबाई छन्,’ प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले भने, ‘धेरै संक्रमितहरू घरमा नै बसिरहनुभएको छ, अवस्था परे आजैबाट सञ्चालनमा ल्याउन सकिन्छ ।’ तेमाल गाउँपालिकाले यसअघि चिकित्सकका लागि सूचना गरे पनि आवेदन नपरेपछि नर्सको मात्रै व्यवस्थापन गरेको थियो । केही दिनमा बैठक बसेर आइसोलेसन पुन सञ्चालन गर्नेबारे निर्णय गर्ने अध्यक्ष सलामसिं लामाले जानकारी दिए ।

 केही पालिकाले भने सञ्चालनमा रहेको दाबी गरेका छन् । रोशी गाउँपालिका अध्यक्ष दलबहादुर (डीबी) लामाले सञ्चालनमा रहेको बताए । भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले १५ बेड क्षमताको अस्पतालको सेवा विस्तार गरी ३० मा पुर्‍याइएको दाबी गरे । 

 संघीय सरकारले पठाएको १० लाख रुपैयाँ बजेटबाट खानीखोला, रोशी, चौरीदेउराली, भुम्लु, बेथानचोक, महाभारत गाउँपालिकाले चिकित्सक व्यवस्था गरे पनि केही पालिकाले बजेट नहुँदा नियमित गर्न सकेका छैनन् । 

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी शिवकुमार पोखरेलले केन्द्रको निर्देशनबमोजिम जिल्लाका सबै स्थानीय तहमा रहेका आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउन अनुरोध गरिएको बताए । जिल्लामा रहेका धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पतालले तयारी गरेर सेवा सुरु गरेको बताए ।

काभ्रेमा १ सय १ जना सक्रिय संक्रमित छन् । आइतबार मात्रै २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए । उनका अनुसार, सक्रिय संक्रमितमध्ये ५ जना अस्पतालमा र ९६ जना होम आइसोलेसनमा छन् । 

कोरोना खोपकोरोना भाइरस

नगेन्द्र

Link copied successfully