२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

न बेड पाइन्छ, न एम्बुलेन्स

आइतबार अपराह्न साढे ३ बजेतिर बिरामीको मृत्युको खबर थाहा पाएपछि टेकु अस्पताल परिसरमा आफन्तको रुवाबासी चलेको थियो । त्यही बेला भेन्टिलेटरमा राख्नुपर्ने बूढानीलकण्ठका ५४ वर्षीय पुरुषका आफन्त भने भगवान् पुकारिरहेका थिए ।
मकर श्रेष्ठ

काठमाडौँ — भक्तपुरका ३३ वर्षीय युवकको मृत्यु भएपछि टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइतबार बिहान एकाएक सन्नाटा छायो । कोरोनाले युवाकै ज्यान लिएकामा अस्पतालका चिकित्सक र व्यवस्थापकसमेत दुःखी भए ।

न बेड पाइन्छ, न एम्बुलेन्स

‘यति कम उमेरका युवकले समेत कोरोनाकै कारण ज्यान गुमाउनुपरेपछि हामी साह्रै चिन्तित छौं,’ अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले भने । यही अस्पतालको भेन्टिलेटरमा उपचाररत सुन्दरीजलका ४३ वर्षीय पुरुषको पनि आइतबार नै मृत्यु भयो ।

अपराह्न साढे ३ बजेतिर उनको मृत्युको खबर थाहा पाएपछि अस्पताल परिसरमा आफन्तको रुवाबासी चलेको थियो । त्यही बेला भेन्टिलेटरमा राख्नुपर्ने बूढानीलकण्ठका ५४ वर्षीय पुरुषका आफन्त भने भगवान् पुकारिरहेका थिए । टेकु अस्पतालमा भेन्टिलेटर नपाएपछि उनीहरू बिरामीलाई निजी अस्पतालमा लैजाने तयारीमा लागे । उनीहरूले एम्बुलेन्स खोजे । बल्ल अपराह्न ५ बजे नेपाल एम्बुलेन्स सेवाको एम्बुलेन्स अस्पताल आइपुग्यो । उनी केही दिनसम्म घरायसी उपचार गर्दै होम आइसोलेसनमा बसेका थिए ।

सास फेर्न गाह्रो भएपछि आफन्तले आइतबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुर्‍याएका थिए । अस्पतालमा प्राथमिक उपचार त भयो तर उनलाई अक्सिजनको मात्रा बढाएर तत्काल भेन्टिलेटरमा राख्नुपर्ने भयो । अस्पतालमा भेन्टिलेटर खाली थिएन ।

एम्बुलेन्स आएपछि अक्सिजन सिलिन्डर जोडेर बिरामीलाई ह्वीलचियरमा गुडाउँदै बाहिर निकालियो । अक्सिजन जोड्दा पनि बिरामीलाई असहज देखिन्थ्यो । उनी बारम्बार खोकिरहेका थिए । अस्पतालमा बेड नपाएपछि घरबाट लगिएको बिरामीलाई एम्बुलेन्समै राखेर सेवा दिएको नेपाल एम्बुलेन्स सेवाका प्रमुख रञ्जित आचार्यले बताए । ट्वीटरमा उनले लेखेका छन्, ‘अस्पतालमा बेड नपाएर बिरामीलाई अक्सिजन सपोर्टका लागि एम्बुलेन्समै राख्नुपरेको छ । यो क्रम बढ्दै जानेछ । अहिले नै आइसोलेसन बेड अक्सिजनको जोहो गरौं नत्र रोगले होइन, उपचार नपाएर ज्यान जानेछ ।’

सीसीएमसीको आइतबारको बैठकमा स्वास्थ्य सचिव लक्ष्मण अर्यालले यस्तै दृश्य सुनाएका थिए । ‘अस्पतालका सबै बेड भरिइसके । सचिव, मुख्य सचिव, मन्त्री जसलाई कोरोना लागे पनि बेड पाउने अवस्था छैन । यो अवस्था टुटाउन केही न केही निर्णय गर्नैपर्छ,’ उनको भनाइ उद्धृत गर्दै बैठकका एक सहभागीले भने । बेड सबै भरिएपछि टेकु अस्पतालमा आउन सक्ने बिरामीको उपचारको व्यवस्था गर्न आकस्मिक कक्षबाहिर अक्सिजनको पाइप जडान गर्न लागेको निर्देशक डा. सागरराज भण्डारीले बताए । ‘अब बेड खाली छैन । सास फेर्न गाह्रो भएर आएका बिरामीलाई बाहिरै राखेर भए पनि अक्सिजन दिने व्यवस्थापनमा जुटेका छौं,’ उनले भने ।

मन्त्रालयका अनुसार यो अस्पतालको आइसोलेसन वार्डमा ४७ जना, आईसीयूमा ९ जना र भेन्टिलेटरमा १० जना उपचाररत छन् । बलम्बुको सशस्त्र प्रहरी अस्पतालमा पनि दिनमा १० जनाभन्दा बढी भर्ना गर्नै नसक्ने अवस्था रहेको कोरोना संक्रमितको व्यवस्थापनमा नेतृत्व गरेका डा. प्रवीन नेपालले बताए । यो अस्पतालमा सबैभन्दा बढी संक्रमितको उपचार भइरहेको छ । यहाँ आइसोलेसनमा १ सय ६ जना, आईसीयूमा १० जना, भेन्टिलेटरमा ८ जना उपचाररत छन् । काठमाडौं उपत्यकाका १२ वटा अस्पतालको आइसोलेसनमा ५ सय ५४ जना, आईसीयूमा ८२ र भेन्टिलेटरमा ४० जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । ५ सयभन्दा बढी संक्रमित हुने जिल्ला काठमाडौं, भक्तपुर, ललितपुरसहित १० वटा पुगेका छन् ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८ हजार ४ सय ५६ जना सक्रिय संक्रमित छन् । यो देशभरिको कुल संक्रमितको ४३ दशमलव ६२ हो । काठमाडौंमा सबैभन्दा बढी ६ हजार ५ सय २८ सक्रिय संक्रमित छन् । संक्रमित बढेसँगै होम आइसोलेसनमा बसेकालाई गाह्रो भएपछि अस्पताल लानुपर्दा एम्बुलेन्ससमेत पाउन मुस्किल पर्न थालेको छ । कलंकीकी ३२ वर्षीया महिलाले आइतबार बिहानदेखि कोसिस गर्दा पनि एम्बुलेन्स नपाएपछि ट्याक्सीमै अस्पताल पुगिन् । ‘सास फेर्न गाह्रो भएकाले अस्पताल ल्याउन खोज्दा एम्बुलेन्स पाउनै सकिएन,’ संक्रमितका श्रीमान्ले भने । उनलाई रुघाखोकी, ज्वरो भए पनि परीक्षण गरेका छैनन् । कोरोना पोजिटिभ भएका आफन्तलाई ज्वरो नघटेपछि हामी पनि एक्सरे र रगत परीक्षण गर्न अस्पताल गएका थियौं । एक्सरे गर्ने र रगतको नमुना दिन अस्पतालमै डेढ घण्टा बस्दा एक जना बिरामी निजी अस्पतालमा गए भने होम आइसोलेसन बसेर गम्भीर भएका तीन जना अस्पताल आइपुगे । उनीहरू सबैजसो अक्सिजनको मात्रा कमी भएपछि अस्पताल आएका थिए ।

***

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आईसीयूमा ४५ वर्षीय एक पुरुष उपचाररत छन् । उनको अवस्था गम्भीर छ । अर्को बेडमा रहेका उनका ८५ वर्षीय बुबाको शुक्रबार मृत्यु भइसकेको छ । बुबाको मृत्यु भएर उनी शोकमा छन्, योभन्दा बढी उनी आफैंलाई सास फेर्न नसक्नुको पीडा छँदै छ । ‘छटपटाउँदै रुन्छन्, हामीले सकेको गरिरहेका छौं,’ एक चिकित्सकले भने ।

यही अस्पतालमा कोरोना संक्रमित भएपछि एउटै परिवारका चार जना भर्ना भएका थिए । यसमध्ये ७५ वर्षीय एक जना आईसीयूमा भर्ना भएका थिए । दुई दिनअघि उनको मृत्यु भएपछि शव बुझ्न पनि अरू नै आउनुपरेको स्वास्थ्यकर्मी र चिकित्सकले देखेका छन् । घरमूली गुमाएको पीडा भुल्न तीन जना भने अन्यत्र अस्पतालमा रिफर भइसकेका छन् । ‘सँगै अस्पताल भर्ना भएका एक जना गुमे पनि दाहसंस्कारसमेत गर्न कोही पुग्न नपाउँदा उहाँहरू विक्षिप्त हुनुभएको थियो,’ अस्पतालका एक स्वास्थ्यकर्मीले भने । उनीहरू वार्डमा उपचाररत थिए ।

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा पनि परिवारै संक्रमित भएपछि उपचाररत छन् । अस्पतालका कोरोना संक्रमितको उपचार र व्यवस्थापनका संयोजक डा. प्रवीन नेपालले तीन वटा परिवारका सबैजसो सदस्य संक्रमित रहेको बताए । एउटा परिवारमा २२ वर्षीया छोरी आईसीयूमा छिन् भने बुबा र भाइ जनरल वार्डमा उपचाररत छन् । त्यस्तै अर्को परिवारका चार जना संक्रमित भएर उपचाररत छन् । ‘अस्पतालमा जति पनि संक्रमित आउँछन्, ७० प्रतिशतलाई आईसीयू चाहिएको छ,’ नेपालले भने ।

एकै परिवारका ११ जनामा संक्रमण

राजविराज– सप्तरीमा आइतबार एकै परिवारका ११ सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएका सबै लक्षणसहितका छन् । डाक्नेश्वरी नगरपालिका तरहीमा एकै परिवारका ११ जनामा संक्रमण भएको पाइएको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा. रञ्जित झाले जानकारी दिए ।

उपचारका लागि केही दिनअघि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएकी तरहीकी ९५ वर्षीया वृद्धामा संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनको परिवारका १५ जनाको परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको डा. झाले बताए ।

परिवारका एक सदस्य केही दिनअघि मात्र भारत, राजस्थानबाट फर्किएका थिए । संक्रमित ११ जना नै होम आइसोलेसनमा छन् । उनका अनुसार केही दिनअघि भारतको पटनाबाट परीक्षा दिएर फर्किएका तिलाठी कोइलाडी गाउँपालिकाका एक कर्मचारीसमेत संक्रमित भएका छन् । गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा उपचाररत २ जनामा पनि संक्रमण भएको पाइएको छ ।

प्रकाशित : वैशाख १३, २०७८ ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?