अमेरिकी विदेशमन्त्री भन्छन् : छिटोभन्दा छिटो भारतलाई आवश्यक सामग्री उपलब्ध गराउछौँ
काठमाडौँ — भारतमा कोरोना संक्रमणले अवस्था भयावह भएपछि छिमेकी मुलुक पाकिस्तानले सहयोगको प्रस्ताव गरेको छ । तीन दिनयता भारतमा दैनिक ३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने २ हजारभन्दा बढीको दैनिक मृत्यु भएको छ ।
यसैबीच पाकिस्तानी विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै महामारीसँग जुधिरहेको भारतलाई सहयोग गर्न चाहेको बताएको हो । पाकिस्तानी विदेश मन्त्रालयले भारतलाई अत्यावश्यक मेडिकल उपकरण दिन चाहेको बताएको छ ।
विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘महामारीको यस संकटको घडीमा हामी भारतका नागरिकको साथमा छौं । सहयोगका रुपमा पाकिस्तान भारतलाई भेन्टिलेटर बाई प्याप, डिजिटल एक्सरे मेसिन, पीपीई किट तथा अत्यावश्यक स्वास्थ्य सामग्री दिन चाहन्छौं ।’ पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले पनि ट्विटमार्फत भारतलाई सहयोगको प्रस्ताव गरेका छन् । उनले लेखेका छन्, ‘पाकिस्तान मानवतालाई प्राथमिकता दिने नीतिमा विश्वास गर्छ ।’
As a gesture of solidarity with the people of India in the wake of the current wave of #COVID19, Pakistan has officially offered relief & support to #India, including ventilators, Bi PAP, digital X ray machines, PPEs & other related items. We believe in a policy of #HumanityFirst
— Shah Mahmood Qureshi (@SMQureshiPTI) April 24, 2021
पाकिस्तानले भारतीय अधिकारीहरुसँग छिटोभन्दा छिटो भेटेर उक्त सहयोग उपलब्ध गराउन सक्ने पनि बताएको छ । ‘दुवै मुलुक महामारीका कारण निम्तिने चुनौतीलाई सामना गर्न सम्भावित उपायको खोज पनि गर्न सक्नेछन्,’ वक्तव्यमा भनिएको छ ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पनि कोरोना महामारी झेलिरहेका भारतीय नागरिकप्रति सहानुभूति प्रकट गरेका छन् । ‘छिमेकी मुलुक र पूरा विश्वले नै घातक भाइरसको सामना गर्नुपरिरहेको छ । कोरोना भाइरसको सामना गरिरहेका सबैको म शीघ्र स्वास्थ्यलाभको कामना गर्छु,’ प्रधानमन्त्री खानले सामाजिक सञ्जालमा लेखेका छन् । उनले कोरोना महामारी वैश्विक संकट भएकाले सबै मिलेर यसविरुद्ध लड्नुपर्ने पनि बताएका छन् । पाकिस्तानले गरेको सहयोगको प्रस्तावबारे भारतले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
I want to express our solidarity with the people of India as they battle a dangerous wave of COVID-19. Our prayers for a speedy recovery go to all those suffering from the pandemic in our neighbourhood & the world. We must fight this global challenge confronting humanity together
भारतमा केही दिनयता अक्सिजनको चरम अभाव भएको छ । अस्पतालमा भर्ना भएका बिरामीको नै अक्सिजन नपाएर मृत्यु भइरहेको छ । त्यस्तै अस्पतालमा पनि थेग्नै नसक्ने गरी बिरामी भर्ना भइरहेका छन् भने सयौं बिरामी भर्नाका लागि अस्पतालबाहिर नै पालो पर्खिरहेका छन् ।
यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले पनि भारतको पछिल्लो अवस्थाप्रति सहानुभूति प्रकट गर्दै कोरोना महामारीको लडाइँमा भारतसँग मिलेर काम गर्ने बताएका छन् । उनले भारतीय नागरिक र भारतीय स्वास्थ्यकर्मीको सहयोगका लागि तीव्र गतिमा मेडिकल उपकरण र स्वास्थ्य सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Our hearts go out to the Indian people in the midst of the horrific COVID-19 outbreak. We are working closely with our partners in the Indian government, and we will rapidly deploy additional support to the people of India and India's health care heroes.
