हेल्थ डेस्क छलेर वारिपारि

नाका व्यवस्थापन गर्ने निकाय नै एकअर्कामाथि दोषारोपण गर्दै

वैशाख १२, २०७८

अजित तिवारी

जनकपुर — धनुषाको मूल नाका जटहीस्थित भन्सार कार्यालयको उत्तर–दक्षिण दुईतिरै डाइभर्सन छ । जमुनी खोलाले नेपाल–भारत छुट्टयाएकाले दुई देशको सडक जोड्ने पुल दुई वर्षदेखि निर्माणाधीन छ । त्यसैले भन्सार कार्यालयको दुबै छेउबाट डाइभर्सन सडक खनिएको हो । अच्चमलाग्दो के छ भने, उत्तरको डाइभर्सनबाट मानिसहरू लस्करै वारिपारि आउजाउ गरे पनि हेल्थ डेस्क भने दक्षिणको बाटोमा राखिएको छ, जसका कारण नाकामा ओहोरदोहोर गर्नेको स्वास्थ्य जाँच हुन सकेको छैन ।

जटही नाकाबाट शनिबार बिहान मानिसहरूको वारिपारि बाक्लै आउजाउ भइरहयो । दुईतिरैका सुरक्षाकर्मी यसको साक्षी मात्र बसेका थिए । बेरोकटोक र स्वास्थ्य जाँचबेगरै उनीहरू निर्बाध आउजाउ गरिरहे । मास्क चाँही धेरैजसोले लगाएका थिए । भन्सार कार्यालयको उत्तरछेउको गोरेटो बाटो प्रयोग गर्न नदिन दुई ठाउँमा माटो काटेर अग्लो ढिस्को बनाइएको थियो । तर, अप्ठ्यारो भएपनि त्यहीँबाट पैदल, साइकल र मोटरसाइकलबाट आवतजावत भइरहेको थियो । पारी दशगजामा रहेको पिलरकै छेउमा भारतका विहार प्रहरी बसे पनि खासै जाँच गरेका थिएनन् । 

संक्रमणको बेला वारिपारि हिँड्नेको तथ्यांकसमेत जटही नाकामा राखिएको छैन् । सशस्त्र प्रहरी जटही बीओपीले कार्यालयअगाडि सडकमा लगाएको ब्यारिकेटनजिक सर्वसाधारणसँग सोधखोज गरे पनि व्यवस्थापन गर्न सकेको छैन् । ‘वारिपारि गर्नेको भीड नै छ,’ जटही नाकामा खटिएका सशस्त्र प्रहरीका एक जवानले भने,‘बिहेवारीका बेला भएकाले नाकामा झन् चाप बढेको छ । महामारीको बेला मास्क र लठ्ठीकै भरमा व्यवस्थापन गर्न समस्या छ ।’

हेल्थ डेस्कमा ज्वरो नाप्ने थर्मल गन र सेनिटाइजर बोकेर स्वास्थ्यकर्मी बसे पनि स्वास्थ्य जाँच गरेका छैनन् । दशगजामै पुगेर मानिस पिकअप गरेर फर्किने गाडी हेल्थ डेस्कनजिकैबाट गए पनि स्वास्थ्यकर्मी वास्ता गर्दैनन् । नगराइन नगरपालिकाले जटही नाकामा हेल्थ डेस्क राखेको हो । तीन दिनअघि हेल्थ डेस्क स्थापना गर्दा नगराइनका मेयर प्रमेश्वर यादव, प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसी पनि पुगेका थिए । ‘भन्सार कार्यालयको उत्तरतिरको बाटो बन्द गरेर हेल्थ डेस्क राखिएकै दक्षिण बाटो प्रयोग गर्ने सहमति भएको हो,’ नगराइनका प्रमुख प्रशासकीय अधिकृत केसीले भने, ‘सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाएरै एकद्वार गरिने भनिएको हो । के भएको हो बुझछु ।’ हेल्थ डेस्कमा एक जना स्वास्थ्यकर्मी ८ घण्टा खट्छन् । केसीका अनुसार आलोपालो गरेर त्यहाँ दिनमा दुई जना स्वास्थ्यकर्मी खटिएका छन् ।

हेल्थ डेस्कमा भारतबाट आउनेको एन्टिजेन विधिबाट जाँच गर्न सामग्री पनि उपलब्ध गराइएको छैन । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले एन्टिजेन परीक्षणको बन्दोबस्त मिलाउने आश्वासन दिएको केसीले बताए । सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डीआईजी चन्द्रप्रकाश गौतमले संक्रमण बढेसँगै प्रदेशका ८ वटै जिल्लाका मुल नाकामा कडाइ गरिएको दाबी गरे । ‘हामीले नाकालाई व्यवस्थित गरिदिने हो । सबैथोक प्रहरीकै जिम्माजस्तो देखियो,’ डीआईजी गौतमले भने, ‘स्वास्थ्यकर्मी नाकामा बस्नै मान्दैनन् । प्रहरीले जाँच्ने त होइन होला । सबै निकायले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । नत्र स्थिति भयावह हुनेछ ।’

‘सुरक्षाकर्मीले नै सबै गरिदिओस्जस्तो गर्छन्’

– चन्द्रप्रकाश गौतम, सशस्त्र प्रहरी डीआईजी

नाका कडाइ गर्ने नीति नै हो । शुक्रबार मात्रै प्रदेशभरिका सशस्त्र प्रहरीका इन्चार्जसँग यसै विषयमा छलफल गरेँ । शनिबार पनि मुख्यमन्त्री लालबाबु राउतज्यूसँगको मिटिङमा नाकालाई कडाइसँगै व्यवस्थित बनाउनुपर्ने कुरा राखेको छु । प्रदेशका ८ वटै जिल्लामा थप कडाइ गर्दै छौं । प्रदेशभरि नो मास्क, नो मुभमेन्ट लागू गर्न सीडीओसाबहरूमार्फत स्थानीय तहलाई परिचालन गरिँदै छ । वारिपारि गर्नेलाई नाकामा जाँच गरिएको छ । नाकाबाट आउनेलाई एन्टिजेन जाँच गर्ने भनिएको छ । थर्मल गनले पहिला चेक गर्ने ज्वरो वा शंका लागे एन्टिजेन गर्ने र रिपोर्ट नआएसम्म होल्डिङ सेन्टरमा राख्ने नीति लागू गरिएको छ । वीरगन्ज र गौर नाकामा एन्टिजेन टेस्ट सुरु भइसकेको छ । आजभोलिबाट अरू नाकामा पनि सुरु गर्ने तयारी छ । तर, समस्या के छ भने न एन्टिजेन किट उपलब्ध गराउँछन् न जनस्वास्थ्यका कर्मचारी नाकामा बस्छन् । सबैको सहयोगमा मात्रै यो महामारीबाट जोगिने हो । सबैले चासो देखाउनुपर्छ, जनस्वास्थ्य कार्यालयको चासो कम देखिएको छ । नाकामा प्रहरीले नै सबै गरिदियोस्जस्तो गर्छन् । त्यो सम्भव छैन । हामी आफ्नो जिम्मेवारी पूरा गर्न तयारी अवस्थामा छौं । 

(कुराकानीमा आधारित)

कोरोना भाइरस

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully