अनियन्त्रित आवागमन रोक्न अनुगमन

इलामको पशुपतिनगर, झापाको भद्रपुर, काँकडभिट्टा, मोरङको रानी र सुनसरीको भन्टाबारी नाकामा स्वास्थ्य परीक्षण गरेर प्रवेश दिने निर्णय

वैशाख १२, २०७८

देवनारायण साह

मोरङ — प्रदेश १ का सामाजिक विकासमन्त्री उषाकला राईले प्रदेशभरि संक्रमण बढ्दै गएकाले नाकाहरूमा भारतबाट भइरहेको अनियन्त्रित अवागमन रोक्न शुक्रबार अनुगमन गरेकी छन् । उनले विराटनगरस्थित रानी नाका, विराटनगर जुटमिल दक्षिण, टिकुलिया र दरैहयास्थित दशगजा क्षेत्रको अनुगमन गरेकी हुन् । अनुगमनपछि सशस्त्र प्रहरीलाई तत्काल अनियन्त्रित आवागमन रोक्न उनले निर्देशन दिइन् ।

सीमानाकाको निरीक्षणपछि मन्त्री राईले सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणका गणपति तीर्थ पौडेललाई चोर बाटोबाट भइरहेको अनियन्त्रित आवागमन रोकेर सरकारले तोकेको नाकाबाट मात्रै भारत आवतजावतका लागि व्यवस्थित गर्न निर्देशन दिएकी हुन् । 

सीमामा प्रत्येक २ सय मिटरमा एक जना सुरक्षाकर्मी बस्ने मापदण्डअनुसार जनशक्ति परिचालन गर्नसमेत उनले पौडेललाई निर्देशन दिइन् । मन्त्री राईले अनुगमनमा गएको बेलासमेत दशगजा क्षेत्रस्थित चोर बाटोबाट आवतजावत गर्नेको घुइँचो लागेको प्रत्यक्ष अवलोकन गरेको बताइन् । ‘अनुगमनका क्रममा रानी नाकास्थित हेल्थ डेस्कमा शुक्रबार ८ जनामात्रै आएको देखियो तर चोर बाटोबाट ह्वारह्वार्ती मानिस आइरहेका छन्,’ उनले भनिन्, ‘दशगजास्थित चोर बाटो हुँदै भारतबाट मानिसमात्रै नभई कोरोनासमेत आइरहेकाले यस प्रदेशमा संक्रमितको संख्या बढ्दै गएको हो ।’

भारतमा कोरोना संक्रमण दैनिक उच्चदरमा बढ्दै गएकाले त्यहाँ बस्नेहरू चोर बाटोबाट धमाधम नेपाल आइरहेकाले संक्रमणको जोखिम बढाएको राईको भनाइ थियो । ‘भारतमा बस्ने नेपालीहरूलाई आउनै नदिने होइन तर व्यवस्थित रूपमा सरकारले तोकेको नाकाबाट आउन आग्रह छ,’ उनले भनिन्, ‘यस प्रदेशमा भारतबाट इलामको पशुपतिनगर, झापाको भद्रपुर, काँकडभिट्टा, मोरङको रानी र सुनसरीको भन्टाबारी नाकामा स्वास्थ्य परीक्षण गरेर प्रवेश दिने निर्णय गरेका छौं ।’ 

भारतबाट आउनेहरूले आफ्ना लागि, परिवार, समाज, प्रदेश र देशवासीको स्वास्थ्य सुरक्षाका लागि भए पनि सरकारले तोकेको नाकाबाट सुरक्षित आउन मन्त्री राईले आग्रह गरिन् । ‘सरकारले तोकेका नाकाबाट आउनेहरूलाई एन्टिजेन परीक्षण गरेर नेपाल भित्र्याउने भएकाले सरकारले गरेको व्यवस्थाको लाभ लिन आग्रह छ,’ राईले भनिन्, ‘सबै मिलेर नाकाहरूलाई व्यवस्थित गर्नुको विकल्प छैन ।’ 

सस्तो खरिद गर्ने लोभमा सीमावर्ती भारतीय बजारमा किनमेल गरेर दैनिक उपभोग्य सामग्रीसँगै कोरोना पनि आइरहेको सबैले बुझ्नु आवश्यक रहेको उनको भनाइ छ । ‘विराटनगरबाट हजारौं सीमावर्ती भारतीय बजार जोगबनीमा दैनिक उपभोग्य सामग्री खरिद गर्न जानेको भीडले पनि सीमानाकामा अव्यवस्थित आवागमन बढेको छ,’ उनले भनिन्, ‘सस्तो दैनिक उपभोग्य सामग्रीको लोभमा ज्यान जोखिममा नपारौं ।’ 

राईले क्रमिक रूपमा मोरङ, सुनसरी, झापा र इलामका नाकाहरूको अनुगमन गरी अनियन्त्रित आवागमनलाई व्यवस्थित गर्ने अभियान सुरु गरेकाले सबैलाई सहयोग गर्न आग्रह गरिन् । 

‘यस प्रदेशको भारतसँग जोडिएका जिल्लाहरूमा १/१ हजार शय्याको होल्डिङ सेन्टर स्थापना गर्ने नीतिगत निर्णय गरिसकेका छौं,’ उनले भनिन्, ‘यसअघि रहेकै ठाउँमा होल्डिङ सेन्टर सञ्चालन गरेर भारतबाट आउनेलाई राखेर स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइन, आइसोलेसन वा अस्पताल जहाँ पठाउनुपर्ने त्यहाँ पठाउने व्यवस्थामा जुटेका छौं ।’ विराटनगरको डीएभी स्कुल, काँकडभिट्टा, भद्रपुर, भन्टाबारी, पशुपतिनगरमा पनि साविककै होल्डिङ सेन्टर सञ्चालनमा ल्याउन लागेको उनले सुनाइन् । संक्रमितको संख्या दैनिक बढ्दै गएकाले अब स्थानीय तहहरूको सहयोगमा संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ पनि सुरु गर्ने राईले बताइन् । अहिले कोरोना संक्रमण नियन्त्रणका लागि सबभन्दा ठूलो चुनौती खुला सिमाना भएकाले यसलाई व्यवस्थित गर्न सबैलाई सहयोग गर्न आग्रह उनले आग्रह गरिन् । 

प्रदेश १ मा शुक्रबारमात्रै १ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये विराटनगर महानगरमा मात्रै ५४ जनामा संक्रमण पुष्टि भएको हो । यस प्रदेशमा रहेका कुल ७ सय ७६ सक्रिय संक्रमितमध्ये महानगरमा मात्रै ३ सय ३० जना रहेको मन्त्रालयले जनाएको छ ।

महानगरद्वारा कोरोना नियन्त्रण पहल

यसैबीच विराटनगर महानगरस्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटीको शुक्रबार बसेको बैठकले महानगरमा सञ्चालित अस्पतालहरूले २० प्रतिशत शय्या कोरोना संक्रमितको उपचारका लागि छुट्याउनुपर्ने निर्णय गरेको छ । महानगरको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले आधारभूत स्वास्थ्य केन्द्र वडा ५, प्राथमिक स्वास्थ्य केन्द्र रानी र रानी नाकास्थित हेल्थ डेस्कमा एन्टिजेन परीक्षण र स्वाब संकलन गर्ने निर्णय भएको बताए । ‘न्यूनतम १ सय अक्सिजन सिलिन्डर तयारी अवस्थामा राख्ने व्यवस्था गरेका छौं,’ उनले भने, ‘होम क्वारेन्टाइन, होम आइसोलेसन, कन्ट्याक्ट ट्रेसिङ र फिभर क्लिनिक सञ्चालन तथा व्यवस्थापन वडास्तरीय स्वास्थ्य संस्थामार्फत सुरु गर्ने तयारी गरेका छौं ।’

महानगरमा कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापनका लागि तीन सदस्यीय कोभिड–१९ रोकथाम तथा व्यवस्थापन समन्वय टिम गठन गर्ने निर्णय गरिएको कार्कीले बताए । संक्रमितहरूलाई अस्पतालसम्म पुर्‍याउने, महानगरभरि कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि टोल विकास संस्थाहरूलाई परिचालन गर्ने, चिकित्सकसहितको स्वास्थ्यकर्मीहरूको टोली परिचालन गरिनेलगायतको निर्णय गरिएको उनले सुनाए ।

कोरोना भाइरस

देवनारायण

Link copied successfully