भेन्टिलेटर खोज्दै तराईतिर

वैशाख १२, २०७८

आनन्द गौतम

ताप्लेजुङ — फुङलिङ नगरपालिका–६ कोठेबारीका शिवकुमार गुरुङ वैशाख पहिलो साता झापा पुगेर फर्किए । कांग्रेस फुङलिङ नगरपालिकाका नगर सभापतिसमेत रहेका उनी आफन्तको मृत्युमा माईधारमा मलामी गएका थिए ।

आफ्नै निजी सवारीमा गएर फर्किएका उनले अस्वस्थ महसुस गरे । स्थानीय तमोर अस्पतालमा चिकित्सकको सल्लाहअनुसार औषधि खाए । उनलाई टाइफाइडको आशंका गरिएको थियो । तुलनात्मक रूपमा बिहीबार श्वासप्रश्वासमा बढी समस्या देखिएपछि पुनः अस्पताल पुगे । अस्पतालले अक्सिजन, भेन्टिलेटर नभएको भन्दै तराईका सुविधासम्पन्न अस्पतालमा जान सल्लाह दियो । डाक्टरको सल्लाहपछि तुरुन्तै एम्बुलेन्समार्फत बीपी कोइराला स्वास्थ्य विज्ञान धरान जाने योजना बन्यो । झापाको बिर्तामोड नपुग्दै अवस्था निकै कमजोर भएपछि परिवारले बी एन्ड सी अस्पतालमा भर्ना गरे । तर भेन्टिलेटरमा पुर्‍याउन नपाउँदै उनको मृत्यु भयो । मृत्युपर्यन्त गरिएको परीक्षणमा कोरोना पोजटिभ देखियो । 

सोही वडाका अर्का युवालाई पनि शनिबार बिहान झापाको भद्रपुर पुर्‍याइएको छ । शुक्रबार राति एम्बुलेन्समा गएका उनी शनिबार भद्रपुर पुगे । ‘अस्पताल भर्ना र पीसीआर परीक्षणको तयारी गरिरहेका छौं,’ सँगै गएका उनका दाजुले भने, ‘आज शनिबार भएकाले अलिक अलमलजस्तो भइरहेको छ ।’ उपचार भने शनिबारदेखि नै सुरु हुने उनले बताए । यी युवालाई पनि कोरोनाको जस्तै लक्षण देखिएको आफन्त बताउँछन् । श्वासप्रश्वासमा पनि समस्या देखिएपछि उपचारका लागि तराई झरेका हुन् । 

फुङलिङ नगरपालिका–५ की एक महिला विराटनगर पुगेकी छन् । शुक्रबार बेलुका एम्बुलेन्स चढेकी उनी शनिबार दिउँसो विराटनगरको कोभिड अस्पताल पुगेकी हुन् । आफैंले कोरोना संक्रमणको आशंका गरेकी उनलाई सरासर कोभिड अस्पताल लगिएको उनका आफन्तले बताएका छन् । यसअघि कोरोनाको जस्तै लक्षण देखिएका सदरमुकाम फुङलिङका दुई जना थप उपचारका लागि तराई पुगे । एकाघरका आमा र छोरा संक्रमणको आशंकामा तराई झरेका हुन् । संक्रमण भइहाले जिल्लामा आईसीयू, भेन्टिलेटर नभएकाले पूर्वसावधानी अपनाएको उनीहरूको दाबी छ । 

उनीहरू आफ्नो खर्चमा तत्काल उपचारका लागि जान सक्ने प्रतिनिधि पात्र हुन् । उपचार गर्ने क्षमता भए पनि समयमा नपुग्दा नेता गुरुङको भने निधन भयो । संक्रमण बढ्दै गएपछि थप जोखिम हुने भएकाले पूर्वसावधानी अपनाउनेहरू भेन्टिलेटर, आईसीयू भएको अस्पतालको पहुँचमा पुगेका छन् । तर पहुँच नपुग्नेमा भने अन्योल बढेको इन्सेक नेपालका जिल्ला प्रतिनिधि देवराज गुरुङ बताउँछन् । ‘यहाँ त संक्रमित भन्यो भने एम्बुलेन्स पाउन पनि कठिन रहेछ,’ गुरुङले भने, ‘सर्वसाधारणको भविष्य नै अन्योल भयो ।’ जिल्ला सदरमुकाममा रहेको अस्पतालमा तीन शय्याको आइसोलेसन छ । फुङलिङ नगरपालिकाको क्वारेन्टाइन सदरमुकामदेखि ५ किलोमिटर टाढा छ । यसअघि उद्योग वाणिज्य संघमा भए पनि अहिले वाणिज्य संघको क्वारेन्टाइन सञ्चालनमा छैन । गाउँपालिकाका क्वारेन्टाइन पनि सञ्चालनमा आएका छैनन् । 

स्थानीय सरकार भने अझै मौन छन् । फुङलिङ नगरपालिका प्रमुख छत्रपति प्याकुरेल आइतबारसम्म विद्यालय र परीक्षा सञ्चालनसम्बन्धी निर्णय गर्ने बताउँछन् । बजारका विषयमा छलफल गर्न वाणिज्य संघका प्रतिनिधिलाई पनि बोलाउने उनले बताए । संक्रमणको जोखिम बढिरहँदा निजी तथा सामुदायिक विद्यालय सञ्चालकको चाहना कम्तीमा एक साता विद्यालय बन्द भइदिए हुन्थ्यो भन्ने छ । नगरपालिका शिक्षा समितिका संयोजक पदमसुन्दर पालुङवाका अनुसार एक साता विद्यार्थीलाई परीक्षा बिदा दिएर प्रश्नपत्र बनाउने र अर्को साता परीक्षा गरेर विद्यालय बन्द गर्ने मनस्थितिमा नगरपालिका रहेको छ । यसको निर्णय प्रधानाध्यापकसमेतको बैठकले गर्ने तयारी रहेको पालुङवाले बताए । 

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे पाँचथर जिल्लासँगको सिमाना कावेलीमा हेल्प र हेल्थ डेस्क राख्न गाउँपालिकासँग समन्वय गरेको बताउँछन् । यसका लागि पाथीभरा याङवरक गाउँपालिकालाई अनुरोध गरिएको छ । कोरोना संक्रमणविरुद्ध मन्त्रिपरिषद्ले गरेको जस्तै निर्णय जिल्ला विपत् व्यवस्थापन समितिले पनि गरेको छ । 

कोरोना भाइरस

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully