भारतमा एकैदिन ३ लाख १४ हजारभन्दा बढीलाई कोरोना संक्रमण, २१०४ को मृत्यु
काठमाडौँ — भारतमा एकैदिन ३ लाखभन्दा बढीलाई कोरोना संक्रमण भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ३ लाख १४ हजार ८ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
एकै देशमा २४ घण्टाभित्र यति धेरै संख्यामा संक्रमण भएको यो विश्वकै पहिलो घटना हो । यसअघि गत जनवरी २ मा अमेरिकामा एकैदिन ३ लाख ३ सय १० जनामा संक्रमण पुष्टि भएको थियो । भारतमा दैनिक रुपमा २ लाखभन्दा बढीलाई संक्रमण पुष्टि भएकै पनि यो ८औं दिन हो ।
त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा २ हजार १ सय ४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमितको संख्या १ करोड ५९ लाख ३० हजार ९ सय ६५ पुगेको छ । त्यस्तै अहिलेसम्म कोरोनाले १ लाख ८४ हजार ६ सय ५७ जनाको मृत्यु भएको छ भने १ करोड ३४ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । भारतमा अहिले २२ लाख ९१ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
India reports 3,14,835 new #COVID19 cases, 2,104 deaths and 1,78,841 discharges in the last 24 hours, as per Union Health Ministry
— ANI (@ANI) April 22, 2021
Total cases: 1,59,30,965
Total recoveries: 1,34,54,880
Death toll: 1,84,657
Active cases: 22,91,428
Total vaccination: 13,23,30,644 pic.twitter.com/S5wPm9KGwf
भारतमा कोरोना संक्रमण भयावह बन्नेक्रमसँगै राजधानी दिल्लीलगायत प्रमुख सहरमा अक्सिजनको हाहाकार सुरु हुन थालेको छ । संक्रमणदर बढेसँगै अक्सिजनको चरम अभाव थालेको छ । राजधानी दिल्लीमा त हाहाकार नै मच्चिएको छ । दिल्लीका प्रमुख अस्पतालहरुमा अक्सिजन सीमित रहेको र यदि समयमा आपूर्ति नभएको खण्डमा परिस्थिति भयावह बन्ने देखिएको छ ।
दिल्लीकै जस्तो अवस्था महाराष्ट्र, मध्यप्रदेश, गुजरात र उत्तरप्रदेशको रहेको छ । उत्तरप्रदेशको बनारस र लखनऊमा अक्सिजन समयमा उपलब्ध नहुँदा धेरैले ज्यान गुमाउनु परेको छ ।
प्रकाशित : वैशाख ९, २०७८ १०:२८