खोप ल्याउन बहुराष्ट्रिय कम्पनीसँग संवाद- समाचार - कान्तिपुर समाचार

खोप ल्याउन बहुराष्ट्रिय कम्पनीसँग संवाद

भारतबाट खोप आउन ढिलाइ भएपछि अन्य कम्पनीबाट ल्याउन पहल 
कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले कोभिड–१९ विरुद्धको खोप ल्याउन बहुराष्ट्रिय कम्पनीसँग संवाद सुरु गरेको छ । भारतबाट खोप ल्याउन अग्रिम भुक्तानी दिइसके पनि खोप आउन ढिलाइ भएपछि अन्य कम्पनीसँग संवाद थालिएको सरकारले जनाएको छ । तर कुनै कम्पनीबाट प्रतिबद्धता भने आइसकेको छैन ।

‘हामी खोप खरिद गर्न इच्छुक छौं, सहयोग गर भन्दै बहुराष्ट्रिय कम्पनीसँग संवाद सुरु भइसकेको छ,’ स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा.तारानाथ पोख्रेलले भने, ‘खरिद गरिएको १० लाख मात्रा कोभिसिल्ड खोप कहिलेसम्म दिने भनेर सिरमले अझै निर्धारित कार्यतालिका दिन सकेको छैन ।’

कोभिडविरुद्धको अक्सफोर्ड– अस्ट्राजेनिकाको ‘एजेडडी १२२२’ खोपलाई सिरम इन्स्टिच्युट अफ इन्डियाले कोभिसिल्ड नाममा उत्पादन गरिरहेको छ । सिरमसँग २० लाख मात्रा खोप नेपालले खरिद गरेकामा हालसम्म १० लाख मात्र आपूर्ति भएको छ । ‘भारतमा मात्र भर पर्ने होइन, अन्य देशबाट पनि आफ्नो अनुकूल खोप ल्याउन सक्ने भएकाले नै बहुराष्ट्रिय कम्पनीसँग संवाद सुरु गरिएको हो,’ डा. पोख्रेलले भने ।

५५ वर्षमाथि उमेरका लागि खोप कार्यक्रम सञ्चालनको घोषणा गरेको सरकार समयमै कोभिसिल्ड खोप नआउँदा ६५ वर्षमाथिका लागि मात्र खोप कार्यक्रम सञ्चालन गर्न बाध्य हुनुपरेको थियो । भारतमा कोभिडको संक्रमण अत्यधिक बढेपछि निर्यातमा प्रतिबन्ध लगाउँदा खोप पाउन ढिलो भएको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले बताए । सिरमले खोप बाहिर पठाउन भारत सरकारको अनुमति आवश्यक पर्छ । डब्लूएचओबाट प्रमाणित अन्तर्राष्ट्रिय स्तरको भरपर्दो खोप प्राप्त गर्न सरकार युद्घस्तरमा लाग्नुपर्ने इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.जीडी ठाकुरले बताए ।

भारतले अनुदानमा दिएको १० लाख मात्रा, भारतबाटै खरिद गरिएको १० लाख, भारतीय सेनाबाट सहयोगस्वरूप प्राप्त १ लाख र कोभाक्स सुविधाको पहिलो चरणअन्तर्गत प्राप्त ३ लाख ४८ हजार गरी २४ लाख ४८ हजार मात्रा भित्रिएको छ । यस्तै, चीनको बेइजिङ इन्स्टिच्युट अफ बायोलजिकल प्रोडक्ट्स कम्पनी लिमिटेड (बीआईबीपी), सिनोफार्मअन्तर्गत उत्पादित भेरो सेल ८ लाख मात्रा अनुदानमा प्राप्त भएको छ । हालसम्म देशभर करिब २० लाख जनाले पहिलो मात्राको खोप लगाइसकेका छन् ।

प्रकाशित : वैशाख ९, २०७८ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्

ती गुरुशरण सदा

हामी अग्लाअग्ला गुम्बजतिर बढी हेर्छौं, जगमा हजारौं इँटा पुरिएका छन् भन्ने भेउ नै पाउँदैनौं ।
चन्द्रकिशोर

एक थिए, सामाजिक अभियन्ता गुरुशरण सदा । एउटा चम्किलो सूर्य, जुन यसै साता सिरहाको गोलबजारमा अस्तायो, मध्याह्नपूर्व नै । जीवन त्यसै पनि मूल्यवान् हुन्छ; तर जब व्यक्तिगत नभई एउटा समुदाय, एउटा संघर्षका लागि बाँचेको जीवन अकस्मात् अस्ताउँछ, एउटा रिक्तता उत्पन्न हुन्छ ।

नेपाली समाजले आत्मप्रवञ्चना र आत्मप्रशंसाको एकै खालको पीडा भोगिरहेको यो संवेदनहीन समयमा दलित संघर्षको एउटा कोसिस गर्नु सम्पूर्ण नेपाली जनसंघर्षका लागि एउटा अभिरेखांकनीय पक्ष हो । न्यायपूर्ण संघर्षका क्रममा प्राप्त, अरू समुदायका लागि सामान्य ठानिने उपलब्धिसमेत वञ्चित समुदायका सन्दर्भमा असाधारण मानिन्छ । त्यसैले कोही दलित डाक्टर बन्नु, कुनै दलितले कृति लेख्नु चानचुने प्राप्ति ठहरिँदैन । स्वतन्त्रता र मुक्तिको लडाइँका लागि त्यो पनि उत्प्रेरक बन्न पुग्छ ।

क्रान्तिको मार्ग किमार्थ सजिलो हुँदैन र क्रान्ति हतियारबाट मात्र पनि हुन सक्दैन । हतियारको क्रान्तिको जगमा रगतको आहाल हुन्छ । हतियारले व्यवस्था उलटपुलट गर्न सके पनि कतिपय सन्दर्भमा समाज वा व्यक्ति बदल्न सक्दैन । समाज बदल्न शान्तिपूर्ण संघर्ष नै प्रभावकारी देखिएको छ । यस्तोमा कुनै व्यक्तिको उठान पनि बृहत् जनसंघर्षकै अभिन्न हिस्सा बन्न पुग्छ । हामीलाई थाहा छ, क्रान्ति संशोधन वा सुधार होइन; आयामिक परिवर्तन ल्याउन सक्ने अभियान हो । वर्ग र वर्णभेद विरुद्धको संघर्ष आफैंमा एउटा सोपानको यात्रा हो, जहाँ भुइयाँबाट अन्त्यहीन आकाशसम्मको गमन चल्छ । गुरुशरणले मधेसी दलितभित्रको ‘मुसहर’ जातलाई आफ्नो आत्मसंघर्षले आधार प्रदान गर्न कुनै कसर बाँकी राखेनन् । विपन्न एवं वञ्चित मुसहर समुदायका गुरुशरण, जो आफैं इँटाभट्टामा मजदुरी गर्थे, त्यहाँबाट उठेर उच्च शिक्षा हासिल गरे । आफ्नी पत्नी शान्ति सदालाई पढाए । पत्नीलाई पनि आफ्नो सामाजिक–साहित्यिक यात्राको अभिन्न हिस्सा बनाए । चौखटबाहिर अधिकारको शंख फुक्न सजिलो छ, तर आफ्नै घरआँगनमा न्याय र समताको बाँसुरी र मादल बजाउन कम गाह्रो छैन ।

मुसहर दलितहरूमध्ये महादलित हो । मुसहरहरूको आफ्नै पीडागाथा छ । उनीहरू प्रायः भूमिहीन छन् र सामाजिक रूपमा बहिष्कृत छन् । मधेसी दलित जनसंघर्षभित्र मुसहरहरू अझै किनारामै छन् । उनीहरू राजनीतिक रूपमा कमजोर छन् । दलित राजनीतिको फाइदा केही जातिले मात्र लिइरहेका छन्। यस्तोमा निराशाको तुवाँलोभित्र आशाको किरण खोज्नैपर्छ, हताशाको धमिलो पानीभित्र धैर्यको चट्टान रोज्नैपर्छ । पोखरीमा फ्याँकिने ढुंगाले जसरी छालरूपी तरंग जन्माउँछ, त्यसै गरी विचारको प्रवाहले कुनै दिन स्वच्छ बतास बहाउँछ । गुरुशरणले आफ्नो समुदायमा मद्यपानविरोधी अभियान चलाए, पढेर नै असलमा लडिन्छ भन्दै त्यसका निम्ति लागिपरे । मुसहरहरूलाई संगठित गर्न खोजे । उनीहरूको माटोसँगको आबद्धता र निर्भरतालाई गौरवान्वित गर्न ‘माटो दिवस’ को थालनी गरे । उनी त्यही सुन्दर र सम्मानित भविष्यको पर्खाइमा आफ्ना सीमाहरूका साथ डटिरहे । स्वच्छ बतासको अभ्यर्थी बनिरहे ।

मुसहरको पहिचान र परम्पराको पुनर्जागरणको नाममा नेपालभित्रै ‘पूजावाद’ नचलाइएको होइन । दलित आन्दोलनको एक हिस्साले उसै पनि अवैज्ञानिक चेतनाबाट ग्रस्त सत्ताका लागि सम्झौतावादी गोरेटो समाउँदै आएको छ, जसले यसको गतिलाई मत्थर र भ्रमको जालोमा अल्झाइदिएको छ । परम्पराको निहुँमा चलाइने अभियान कमजोर र किनारा लाग्दै गरेको ब्राह्मणवादको पुनःस्थापनाको उपक्रम साबित भइरहेको छ । यसले मुसहरहरूको संघर्षलाई क्षति मात्र पुर्‍याएको छैन, निल्नसमेत थालेको छ । गुरुशरण यसबाट असाध्यै चिन्तित थिए ।

दलित आन्दोलन ‘पूजावाद’ भित्र कैद हुँदै गएको छ । मुसहर सशक्तीकरणको झ्याली पिट्नेहरू पूजावादी र कर्मकाण्डी बन्दै गएका छन् । कस्तो विडम्बना, जसलाई कथित धर्मको नाममा हजारौं वर्षदेखि गुलाम बनाइयो, तिनीहरूलाई नै सशक्तीकरण र पहिचान–मुखरताको नाममा पूजावादी–कर्मकाण्डी बनाइँदै छ । मुसहरहरू फेरि कसरी ठगिँदै छन्, फेरि वञ्चितिको अर्को अँध्यारो सुरुङतिर कसरी धकेलिँदै छन्, त्यो गुरुशरण बुझ्थे । र, यो रहस्यलाई उनी निरक्षर तर परिश्रमी मुसहरहरूमाझ तिनले बुझ्ने कथ्यमै प्रस्तुत गर्थे । राजनीति वा दाताहरूले मुसहरहरूमा व्याप्त प्रतिरोधको ऊर्जालाई आफ्नो स्वार्थअनुरूप प्रयोग गरिरहेका सन्दर्भहरू उनी आफ्ना रचनाहरूमा राख्थे । शीतलहरबाट सर्वाधिक सताइने मुसहरहरूको कथा–व्यथा कवितामा यसरी पोख्थे— शीतलहरले मेरो मात्र घर चिसिएको छैन सरकार/घरसँगसँगै मेरो मन र तन पनि चिसिएको छ/प्रकृतिका चिसा शीतहरूको लहरले मेरो परिवार/अनि मेरो जीवनको वरपर सबै चिसिएको छ/मैले खाने हरेक अन्नको भाग चिसिएको छ/सबैलाई ताप सम्प्रेषण गर्ने आगोको झिल्का पनि मबाट चिसिएको छ/र मलाई दिनबाट टाढिएको छ ।’ यी शब्दहरू त्यसै उब्जिएका होइनन् । उनले भोगेका दर्दनाक यथार्थ हुन् यी । परालको चटाइ ओढेर बाल्यकाल गुजारेका उनले जाडोको रात कस्तो हुन्छ भन्ने गहिरोसँग आत्मबोध गरेका थिए । त्यसैले उनका एकएक अक्षर उनकै भोगाइका वास्तविकता हुन् ।

अहिलेको समय नेपाली जनसंघर्षको परीक्षाको हो । भुइँतहमा क्रियाशील भइरहेकाहरूले नै यसलाई उत्तीर्ण गराउने हुन् । हामी अग्लाअग्ला गुम्बजतिर बढी हेर्छौं, जगमा हजारौं इँटा पुरिएका छन् भनेर भेउ नै पाउँदैनौं । छोटाछोटा प्रयत्न, ओझेलमा परेका पात्रहरू नै विराट् जनसंघर्षको आधार बन्न पुग्छन् । जसले नायक बनेर वाहवाही बटुलिरहेका हुन्छन्, तिनको पृष्ठभूमिमा अनेकौं काँधले टेवा दिइरहेका हुन्छन् । मुसहर जनसंघर्षका समस्याहरू के हुन् ? दलित आन्दोलनभित्र मुसहरको अस्तित्व कहाँ छ ? यस्ता जिज्ञासाहरूको चर्चा प्रायः समाज विज्ञानका जानकारहरूमाझ हुने गर्छ । तर चर्चा यसरी गरिन्छ कि समाजका अधिकांश मान्छेलाई यसबारे अवगत नै हुँदैन । कहिलेकाहीँ यस्तो पनि हुन्छ, समाज विज्ञानका जानकारहरूकै एउटा वर्गको कुरा अर्को वर्गले बुझ्न पाउँदैन । यस्तोमा समुदायविशेषकै मान्छेका सहज र सरल शब्दहरू बढी सशक्त र सार्थक हुने गर्छन्।

गुरुशरण कतिपय उपक्रममा अगाडि देखिन्थे, कतिपयमा सुविचारित ढंगले आफूलाई पछाडि राख्थे । तर, मुसहर संघर्ष चेतनाका यी सहयात्री अब कहिल्यै अगाडि देखिनेछैनन् । उनी चालीस वर्ष नपुग्दै बिते, मुसहर आन्दोलनमा एउटा रिक्तता पैदा गरेर । अधिकारकर्मी राजकिशोर रजकले गुरुशरणको मृत्युले उब्जाएका प्रश्नहरू भनेर मुहार पुस्तिकामा लेखे, ‘कोरोनाको दोस्रो लहरको समयमा गुरु बिरामी परेर उपचार गराउन जाँदा कोरोना जाँच किन गरिएन ? सिरहाको डाक्टरले कुन जाँचको आधारमा (कथित) उपचार गर्‍यो ? सरकारको कोरोना प्रोटोकल किन पालना भएन ? मृत्युपछि गरिएको परीक्षणबाट कोरोना पुष्टि कुनै डिजाइन त होइन ? कोरोनाले सबभन्दा बढी दलित–बहुजन प्रभावित भएका छन् । सरकारले यी समुदायको जनस्वास्थ्यको अधिकारलाई संरक्षण किन गर्न सकेको छैन ?’ यी प्रश्नहरू कोरोनाको कहरभन्दा कम खतरनाक छैनन् । हामी साँच्चिकै समता, स्वतन्त्रता र न्यायमा भरोसा गर्छौं भने रजकका लागि जवाफ–प्राप्तिको जमिन तयार गर्नैपर्छ । प्रदेश २ मा मुसहर ऐक्यबद्धताको गुरुशरणको प्रयत्न सदैव सम्झिरहनुपर्छ ।

हुन त गुरुशरणबारे यति श्रद्धाका शब्दहरू राख्दा कतिपय स्थापित दलित अगुवाहरूलाई रुचिकर नलाग्न सक्छ, उनीहरूले आफू कतै साँघुरिएको ठान्न सक्छन्, तत्कालका लागि कोही ‘टावर पर्सनालिटी’ नभेटिन सक्छन् तर के भुल्नु हुन्न भने हाम्रै वरिपरि त्यस्ता साधारण मानिस हुन सक्छन्, जसका साधारण प्रयासहरूको बाछिटाले थोरै बदलाव ल्याइरहेको हुन सक्छ । गुरुशरणको स्मृतिसँगै मुसहर आन्दोलनको चिरफार पनि जरुरी छ । दलित समुदायलाई देखाएर राजनीतिक पद प्राप्त गरेकाहरूमा दलित मुक्तिको चेत नहोला, कसैले आफ्नो करिअर उकासेर पनि सामुदायिक सशक्तीकरणका लागि शून्य काम गरेका होलान् । अहिले आफ्नो घरगृहस्थी जोगाउँदै पूरै परिवारलाई आन्दोलनको हिस्सा बनाउन सक्नु नै दलित संघर्षलाई बाँझो हुनबाट जोगाउनु हो । मुक्तिको संघर्ष शुभसाइत पर्खिनुपर्ने विषय होइन, निरन्तर चलिरहनुपर्ने प्रक्रिया हो ।

प्रकाशित : वैशाख ९, २०७८ ०८:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×