खोप ल्याउन बहुराष्ट्रिय कम्पनीसँग संवाद

भारतबाट खोप आउन ढिलाइ भएपछि अन्य कम्पनीबाट ल्याउन पहल 

वैशाख ९, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले कोभिड–१९ विरुद्धको खोप ल्याउन बहुराष्ट्रिय कम्पनीसँग संवाद सुरु गरेको छ । भारतबाट खोप ल्याउन अग्रिम भुक्तानी दिइसके पनि खोप आउन ढिलाइ भएपछि अन्य कम्पनीसँग संवाद थालिएको सरकारले जनाएको छ । तर कुनै कम्पनीबाट प्रतिबद्धता भने आइसकेको छैन ।

‘हामी खोप खरिद गर्न इच्छुक छौं, सहयोग गर भन्दै बहुराष्ट्रिय कम्पनीसँग संवाद सुरु भइसकेको छ,’ स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा.तारानाथ पोख्रेलले भने, ‘खरिद गरिएको १० लाख मात्रा कोभिसिल्ड खोप कहिलेसम्म दिने भनेर सिरमले अझै निर्धारित कार्यतालिका दिन सकेको छैन ।’

कोभिडविरुद्धको अक्सफोर्ड– अस्ट्राजेनिकाको ‘एजेडडी १२२२’ खोपलाई सिरम इन्स्टिच्युट अफ इन्डियाले कोभिसिल्ड नाममा उत्पादन गरिरहेको छ । सिरमसँग २० लाख मात्रा खोप नेपालले खरिद गरेकामा हालसम्म १० लाख मात्र आपूर्ति भएको छ । ‘भारतमा मात्र भर पर्ने होइन, अन्य देशबाट पनि आफ्नो अनुकूल खोप ल्याउन सक्ने भएकाले नै बहुराष्ट्रिय कम्पनीसँग संवाद सुरु गरिएको हो,’ डा. पोख्रेलले भने ।

५५ वर्षमाथि उमेरका लागि खोप कार्यक्रम सञ्चालनको घोषणा गरेको सरकार समयमै कोभिसिल्ड खोप नआउँदा ६५ वर्षमाथिका लागि मात्र खोप कार्यक्रम सञ्चालन गर्न बाध्य हुनुपरेको थियो । भारतमा कोभिडको संक्रमण अत्यधिक बढेपछि निर्यातमा प्रतिबन्ध लगाउँदा खोप पाउन ढिलो भएको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले बताए । सिरमले खोप बाहिर पठाउन भारत सरकारको अनुमति आवश्यक पर्छ । डब्लूएचओबाट प्रमाणित अन्तर्राष्ट्रिय स्तरको भरपर्दो खोप प्राप्त गर्न सरकार युद्घस्तरमा लाग्नुपर्ने इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.जीडी ठाकुरले बताए ।

भारतले अनुदानमा दिएको १० लाख मात्रा, भारतबाटै खरिद गरिएको १० लाख, भारतीय सेनाबाट सहयोगस्वरूप प्राप्त १ लाख र कोभाक्स सुविधाको पहिलो चरणअन्तर्गत प्राप्त ३ लाख ४८ हजार गरी २४ लाख ४८ हजार मात्रा भित्रिएको छ । यस्तै, चीनको बेइजिङ इन्स्टिच्युट अफ बायोलजिकल प्रोडक्ट्स कम्पनी लिमिटेड (बीआईबीपी), सिनोफार्मअन्तर्गत उत्पादित भेरो सेल ८ लाख मात्रा अनुदानमा प्राप्त भएको छ । हालसम्म देशभर करिब २० लाख जनाले पहिलो मात्राको खोप लगाइसकेका छन् ।

कोरोना खोपकोरोना भाइरस

कान्तिपुर

Link copied successfully