कोरोना संक्रमण तीव्र हुँदा सरकारले उदासीनता देखाएको सांसदहरूको गुनासो- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना संक्रमण तीव्र हुँदा सरकारले उदासीनता देखाएको सांसदहरूको गुनासो

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र गतिमा बढे पनि नियन्त्रणको कदम चाल्न सरकारले उदासीनता देखाएको सांसदहरुले बताएका छन् । 

बुधबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा कोरोना भाइरसको बढ्दो संक्रमणका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गर्दै सांसदहरुले कोरोनाको दास्रो लहर तीव्र गतिमा फैलिएको भए पनि यसको रोकथाम, न्यूनीकरण तथा व्यवस्थापनको काममा सरकारले उदासीनता देखाएको बताएका हुन् ।

कोरोनाको अघिल्लो लहरमा भएका कमीकमजोरी र अनुभवहरुबाट पाठ सिकेर अघि बढ्नुपर्ने भए पनि हालसम्म कोभिड–१९ को व्यवस्थापनको सम्बन्धमा सरकार पहिलेकै अवस्थामा रहेको सांसदहरुको भनाइ छ । सांसद जीवनराम श्रेष्ठले सरकार संवेदनशील बन्न नसक्नु आश्चर्यको कुरा भएको बताए । अस्पतालहरुको अवस्था अझै सुधार नभएको भन्दै उनले सरकार आफैले पनि जनस्वास्थ्यको मापदण्ड पालना नगरेको बताए ।

सांसद अञ्जना विशंखेले दीर्घरोगका बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सञ्चालन गर्नुपर्ने बताए । विगतमा क्वारेन्टाइनमा खानाका कारण समस्या भएको भन्दै आगामी दिनमा सुधार्नुपर्ने उनको भनाइ थियो । कोरोना नियन्त्रणका लागि तीन तहका सरकारबीचमा समन्वय हुन नसकेको पनि उनले बताइन् । उनले प्रभावकारी अनुगमन प्रणाली नभएकाले आगामी दिनमा अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।

सांसद सरिता न्यौपानेले स्वाब संकलन, यातायात र भण्डारणमा समस्या भएका कारण यथार्थ रिपोर्ट आउन नसकेको भन्ने सुनिएकाले त्यसतर्फ सरकारले ध्यान पुर्‍याउनुपर्ने बताइन् । परीक्षणमा लापरबाही हुन नहुने पनि उनले बताइन् ।

सांसद एकवाल मियाँले पनि कोरोना नियन्त्रणका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताए । कोरोनाबाट बच्न आवश्यक मेडिकल सामाग्री तथा पूर्वाधारहरुको व्यवस्थापन अहिलेदेखि नै गर्नुपर्ने उनको भनाइ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले कोरोना संक्रमणदर वृद्धि भएसँगै काठमाडौं उपत्यकामा २ हजार आइसोलेसन बेड सञ्चालनमा ल्याइएको बताए । त्यस्तै सातवटै प्रदेशमा जम्मा २ हजार आइसोलेसन बेड तयारी अवस्थामा राख्न सूचित गरिएको पनि उनले जानकारी दिए । आइसोलेसन बेडलाई अस्पतालसँग जोडिने पनि उनले बताए । संघीय सरकारले २ सयवटा भन्दा बढी भेन्टिलेटर जोडेको तथा प्रत्येक प्रदेशले ३० देखि ५० वटा भेन्टीलेटर किनेर राखेको पनि उनले बताए । संघीय सरकारले ४ सयभन्दा बढी आईसीयू बेड थपेको र प्रदेश सरकारले २ सयदेखि २ सय ५० वटा सम्म आईसीयू बेड थपेको जानकारी उनले बताए । आवश्यक औषधी र अक्सिजन भारत अथवा बंगलादेशबाट ल्याउने तयारी पनि गरिरहेको उनले बताए ।

प्रमुख विशेषज्ञ पोखरेलले अझै पनि जनस्वास्थ्यका मापदण्ड पालना हुन नसकेको बताए । कोरोना नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय र अन्यले हेर्ने दृष्टिकोणमा फरक परेको पनि उनको भनाइ छ । अहिलेको अवस्था गम्भीर भएकाले लकडाउन गर्ने अथवा विशेष क्षेत्र तोकेर लकडाउन गर्ने भन्ने विषयमा पनि भोलिको दिनमा सोच्नुपर्ने उनले बताए । जनस्वास्थ्यको मापदण्डलाई कडाइका साथ पालना गराउन सकेमात्रै अहिलेको संकटलाई टार्न सकिने प्रमुख विशेषज्ञ पोखरेलको भनाइ छ ।

प्रकाशित : वैशाख ८, २०७८ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्

तनहुँमा एक चितुवा नियन्त्रणमा

सम्झना रसाइली

तनहुँ — ब्यास नगरपालिका–६ सिसाघाटका दिलबहादुर कुमाल (मदन) बुधबार बिहान खानपिन गरी भैंसी र गोरु लिएर गोठालो जाँदै थिए । घरबाट निस्कनसाथ नजिकैको जंगलबाट छिमेककी एक महिला चिच्याएको सुने । ‘दाई मलाई बचाउनुस्, चितुवाले आक्रमण गर्न लाग्यो ।’

कुमाल दौडिएर महिला भएकोमा पुग्दा चितुवा आएको रहेछ । गोठालो गएका महिलाले चितुवा देखेपछि हारगुहार गरेका थिए । कुमाल त्यहाँ पुग्ने बित्तिकै चितुवाले कुमालमाथि नै आक्रमण गर्न खाज्यो । ५३ वर्षीय कुमालले तत्कालै चितुवामाथि जाइलागे । ८ वर्षको जस्तो देखिने चितुवालाई २ मिनेटको घम्साघम्सी पछि कुमालले चितुवलाई आफ्नो नियन्त्रणमा लिन सफल भए ।

आफूलाई आक्रमण गर्न आएपछि चितुवासँग एक्लै भिडेका कुमालले चितुवाको खुट्टा समात्न पुगे र लगत्तै टाउको पनि समाते । ‘करिब २ मिनेटसम्म चितुवसँग घम्साघम्सी पर्‍यो’, कुमालले भने, ‘पछि हल्लाखल्ला सुनेपछि भाइ भेषबहादुर पनि घटनास्थलमा आइपुग्यो र हामी दुई मिलेर चितुवा नियन्त्रणमा लियौं ।’

चितुवा नियन्त्रणमा लिने दिलबहादुर कुमाल (मदन) । तस्बिर : सम्झना/कान्तिपुर

हल्लाखल्ला भएपछि गाउँले पनि जम्मा हुन थाले । गाउँलेको सहयोगमा चितुवालाई बाँध्न सफल भएको कुमालले बताए । उनले भने, ‘सुरुमा चितुवा देख्ने बित्तिकै डर लाग्यो तर चितुवा आफैमाथि जाइलागेपछि आफू बच्नका लागि भएपनि प्रतिरोध गर्नुपर्ने अवस्था आइलाग्यो ।’ चितुवा बुढो भएका कारण पनि नियन्त्रणमा लिन सहज भएको उनले बताए । चितुवालाई बाँधेर राखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

चितुवा नियन्त्रणमा आइसकेपछि चितुवा हेर्न स्थानीयको भीड लागेको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले बताए । ‘८ वर्षको बुढो भाले चितुवा रहेछ’, उनले भने, ‘कुमाल र चितुवाको लडाइँमा चितुवा निकै घाइते भएको छ । चितुवाको अवस्था नाजुक छ ।’ चितुवालाई अहिले कार्यालयमै पानी र मासु दिएर राखिएको उनले बताए ।

जिल्लामा विगत ३ वर्षदेखि मानव र चितुवाबीच द्वन्द्व बढ्दै गएको छ । जंगलमा वन्यजन्तुको आहारा र बासस्थानको व्यवस्थापन खलबलिएपछि चितुवा मानवबस्ती आउने गरेको छ । मानवबस्तीमा आहाराका लागि आउने र घरपालुवा जनावरलाई आक्रमण गर्न नसकेपछि बालबालिका, महिला र वृद्धवृद्धालाई आक्रमण गरी ज्यानै लिने गरेको छ । २०७४ फागुन १ गतेयता जिल्लामा चितुवाको आक्रमणबाट १० बालबालिकाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित : वैशाख ८, २०७८ १९:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×