महाराष्ट्रको अस्पतालबाहिर अक्सिजन ट्यांकर लिक : भेन्टिलेटरमा रहेका २२ जना बिरामीको मृत्यु

वैशाख ८, २०७८

कान्तिपुर संवाददाता

नयाँदिल्ली — भारतको महाराष्ट्र राज्यको नासिकको एउटा अस्पतालमा अक्सिजन ट्यांकर चुहिँदा कम्तीमा २२ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार नासिकको जाकिर हुसेन अस्पतालमा बुधबार बिहान अस्पतालको बाहिर रहेको अक्सिजन ट्यांकर चुहिँदा करिब आधा घण्टा अस्पतालमा अक्सिजन आपूर्ति अवरुद्ध भएको थियो । जसले गर्दा भेन्टिलेटरमा उपचार भइरहेका करिब १५० सिकिस्त बिरामीले आधा घण्टासम्म अक्सिजन पाएनन् ।

— Prasar Bharati News Services पी.बी.एन.एस. (@PBNS_India) April 21, 2021

अक्सिजन आपूर्ति अवरुद्ध हुँदा तीमध्ये कम्तीमा २२ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अक्सिजन चुहिएपछि अस्पताल परिसर पूरै कुहिरीमण्डल बनेको दृश्य सार्वजनिक भएको छ । लामो प्रयासपछि प्राविधिकहरु चुहावट रोक्न सफल भएका थिए । घटनालगत्तकै अक्सिजन आवश्यक सिकिस्त बिरामीहरुलाई तत्कालै अन्य अस्पतालमा सारिएको छ । घटनाका सम्बन्धमा महाराष्ट्र राज्य सरकारले छानबिन गर्ने भएको छ ।

भारतमा कोरोना संक्रमण तीव्र बनेसँगै मुलुकभर अक्सिजनको हाहाकार मच्चिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ९४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो । संक्रमित संख्या दुई लाख नाघेको लगातार सातौँ दिन हो । त्यसैगरी संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि तीव्र बन्दै गएको छ । मंगलबार २ हजार २३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully