मनकामना मन्दिर वैशाखभर बन्द- समाचार - कान्तिपुर समाचार

मनकामना मन्दिर वैशाखभर बन्द

हरिराम उप्रेती

गोरखा — कोरोना संक्रमण जोखिम बढेसँगै प्रसिद्ध धार्मिक तीर्थस्थल मनकामना मन्दिर र गोरखकाली मन्दिरमा नित्य बाहेकको पूजा बन्द गरिने भएको छ । मंगलबार बसेको जिल्लास्तरीय कोभिड-१९ विपद व्यवस्थापन समितिको बैठकले मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च, लगायतका धार्मिकस्थलमा स्वास्थ्य मापदण्ड पालना गर्ने गरी नित्य पूजा,ध्यान र प्राथनाबाहेक सम्पुर्ण पूजाआजा बुधबारबाट वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय अनुसार मनकामना मन्दिरमा नित्य बाहेकका पूजा बन्द गरिने मनकामना क्षेत्र विकास समितिका सचिव लेवेन्द्र गुरुङले बताए । आज(बुधबार) नित्य बाहेकको पूजाआजा बन्द गर्ने सूचना जारी गर्ने तयारी भइरहेको उनले बताए । ‘आज त काठमाडौ लगायतका ठाउँबाट भक्तजन आइसक्नुभएको छ, केवलकार पनि बिहानैदेखि भिडभाड छ,’ उनले भने,‘आज नै पूजामा रोक लगाइहाल्ने अवस्था छैन, सूचना जारी गरी भोलिबाट बन्द गर्छौं ।’

वैशाख मसान्तसम्म वा अर्को सूचना नभएसम्मका लागि सर्वसाधारणका लागि पूजा बन्द गरिने उनले बताए । प्रशासनको निर्देशन अनुसार नै मन्दिरमा नित्य बाहेकको पूजामा रोक लगाइएको उनले बताए । पछिल्लो समय मनकामना मन्दिरमा सरदर दैनिक चार हजारसम्म भक्तजन पुग्ने गरेका थिए । ‘भक्तजनको आउने क्रम बढीरहेको थियो, पुरानै स्थितिमा फर्किएसकेका थियौं,’ उनले भने, ‘पछिल्लो समय चार हजारदेखि नौ हजारसम्म भक्तजन मनकामना मन्दिर आए ।’

बुधबार नै केहिबेरमा सूचना जारी गरि गोरखकाली मन्दिर पनि बन्द गर्ने तयारी भइरहेको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुषालले बताए । बुधबारबाटै नित्य बाहेकको पूजा बन्द गर्न सम्बन्धित पक्षलाई निर्देशन गरिसकेको प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलले बताए । ‘सूचना जारी गरिसकेका छौं, सम्बन्धित सरोकारवालालाई पनि सुचित गरिसक्यौं,’ उनले भने ।

सिनेमा हल, पार्टी प्यालेस, नाचघर हेल्थ क्लब, जिम खाना, फुटसल, सभा, आमसभा तथा भिडभाड हुने सबै कार्यक्रममा रोक लगाइएको उनले बताए । अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलपमा पनि २५ जनासम्म मात्र भेला भइ स्वास्थ्य मापदण्ड पालना गर्न भनिएको छ । होटल तथा रेष्टुरेन्टहरु पनि बिहान आठ बजेबाट बेलुकी आठ बजेसम्म मात्र खोल्न निर्देशन गरिएको छ ।

प्रकाशित : वैशाख ८, २०७८ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्

बागलुङ–पर्वत जोड्ने झोलुंगे पुल तर्न २० रुपैयाँ शुल्क

प्रकाश बराल

बागलुङ — नेपालकै लामो झोलुंगे पुलमा आउजाउ गर्ने यात्रीलाई बागलुङ नगरपालिकाले शुल्क लिन थालेको छ । पुल तर्न २० रुपैयाँ शुल्क तोकिएको हो । 

नगर कार्यपालिकाले निर्णय गरेर रकम लिन थालिएको २ नम्बर वडाध्यक्ष जीवन आचार्यले बताए । बागलुङको रामरेखादेखि पर्वतको पाङ जोड्ने यो पुल ५ सय ६७ मिटर लामो छ ।

कार्यपालिकाले निर्णय गरे पनि यसरी शुल्क उठाउनु वैध नभएको वडा नं. १ का सदस्य सूर्य लामिछानेले बताए । ‘राजस्व परामर्श समितिको सिफारिसमा नगरसभाले पास गरेपछि मात्रै रकम संकलन गर्न पाइन्छ,’ उनले भने, ‘जनतालाई सेवासुविधा दिन बनाइएको पुलमा शुल्क उठाउने विषय नै राम्रो भएन ।’

वडाध्यक्ष आचार्यले पर्वत र बागलुङका बासिन्दालाई नभई बाहिरबाट आएका पर्यटकलाई मात्र टिकट काट्ने व्यवस्था गरिएको बताए । ‘एकैपटक धेरै मानिस जान सक्ने र घुम्नकै लागि आएकाहरूले शुल्क तिर्न सक्ने भएर यो निर्णय गरिएको हो,’ उनले भने ।

शुल्क लिइएको विषयलाई लिएर स्थानीय रूपमा विरोध भएको छ । ‘नेपाल सरकारको बजेटबाट निर्माण भएको पुलमा पैदल यात्रीमाथि कर लगाउने काम गैरकानुनी हो,’ स्थानीय सुजन परियारले भने, ‘पुलमा कर लगाइनु लाज मर्नु भयो, पुलमै कर लगाएपछि कहाँका पर्यटक आउलान र बजारको व्यापार बढ्ला ?’

यो पुलले पाङ जानेलाई एक घण्टा समय छोट्याइदिएको छ । पुल बनेपछि बढेका पर्यटकले जिल्लाको व्यवसाय फस्टाउने व्यवसायीको आस थियो । यो पुलबाट कालीगण्डकी नदी, धौलागिरि हिमाल देखिन्छ । बत्तीको राम्रो व्यवस्थापन गरिएकाले रातको समयमा पुल अझ आकर्षक देखिन्छ ।

नगरप्रमुख जनकराज पौडेलले पुलको नियमित मर्मतका लागि कोष बनाउन शुल्क लिइएको बताए । ‘निश्चित कोष भएपछि नियमित मर्मत गर्न सकिन्छ,’ उनले भने, ‘समूहमा मिलेर आउने पर्यटकले सानो शुल्क तिर्नु नौलो कुरा पनि भएन ।’ व्यवसायीले भने पुलमा शुल्क लगाउनुभन्दा नजिकमा रेस्टुरेन्ट खोलेर कर संकलन गर्न सुझाव दिएका छन् ।

प्रकाशित : वैशाख ८, २०७८ ११:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×