कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतमा कोरोना संक्रमण भयावह बन्दै, राजधानी दिल्लीमै अक्सिजनको हाहाकार

नयाँदिल्ली — भारत कोरोना संक्रमण भयावह बन्नेक्रमसँगै राजधानी दिल्लीलगायत प्रमुख सहरमा अक्सिजनको हाहाकार सुरु हुन थालेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार गएको २४ घण्टामा २ लाख ९४ हजार २९१ नयाँ संक्रमित थपिएका छन् । 

भारतमा कोरोना संक्रमण भयावह बन्दै, राजधानी दिल्लीमै अक्सिजनको हाहाकार

जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो । संक्रमित संख्या दुई लाख नाघेको लगातार छैटौं दिन हो । त्यसैगरी संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि तीव्र बन्दै गएको छ । मंगलबार २ हजार २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । दिल्लीमा मात्र पछिल्लो २४ घन्टामा २८ हजार ३९५ नयाँ संक्रमित थपिएका छन् । सबैभन्दा बढी महाराष्ट्रमा भने त्यो संख्या ५८ हजारभन्दामाथि छ । संक्रमण दरका हिसाबले दिल्ली अगाडि छ । दिल्लीमा गएको २४ घण्टामा गरिएको परीक्षणमध्ये ३२ प्रतिशतमा संक्रमण देखिएको छ । जबकि भारतको औसत संक्रमण दर १७ प्रतिशतको हाराहारीमा छ ।

संक्रमणदर बढेसँगै अक्सिजनको चरम अभाव थालेको छ । राजधानी दिल्लीमा त हाहाकार नै मच्चिएको छ । दिल्लीका प्रमुख अस्पतालहरुमा अक्सिजन सीमित रहेको र यदि समयमा आपूर्ति नभएको खण्डमा परिस्थिति भयावह बन्ने देखिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र उपमुख्यमन्त्री मनिष सिसोडियाले अक्सिजन चरम अभाव रहेको भन्दै सार्वजनिक रुपमै बताइसकेका छन् । केजरीवालले सोमबार केन्द्र सरकारलाई अक्सिजन आपूर्ति बढाउन अनुरोध समेत गरेका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै मुख्यमन्त्री केजरीवालले दिल्लीमा अक्सिजनको चरम अभाव रहेको भन्दै तत्काल आपूर्ति व्यवस्था मिलाइदिन अनुरोध गरेका थिए । उपमुख्यमन्त्री सिसोडियाले त मंगलबार साँझ ट्विट गर्दै दिल्लीका प्रमुख अस्पतालमा ८ देखि १२ घन्टाका लागि पुग्ने अक्सिजन रहेको बताएका थिए । ‘दिल्लीका धेरैजसो अस्पतालमा ८ देखि १२ लाई पुग्ने मात्र अक्सिजन उपलब्घ छ, हामीले एक हप्तादेखि दिल्लीमा अक्सिजन आपूर्ति बढाउन केन्द्र सरकारसमक्ष माग गर्दै आएका थियौं, यदि भोलि बिहानसम्म अस्पतालमा पर्याप्त अक्सिजन उपलब्ध नभएको खण्डमा हाहाकार मच्चिनेछ,’ सिसोडियाले ट्विट गरेका थिए । उनको ट्विटले नै दिल्लीको पछिल्लो अवस्था प्रष्ट हुन्छ ।

दिल्लीकै जस्तो अवस्था महाराष्ट्र, मध्यप्रदेश, गुजरात र उत्तरप्रदेशको रहेको छ । उत्तरप्रदेशको बनारस र लखनऊमा अक्सिजन समयमा उपलब्ध नहुँदा धेरैले ज्यान गुमाउनु परेको छ । सोमबार अक्सिजन समयमा नपाएर लखनऊका एक स्वतन्त्र पत्रकार विनय श्रीवास्तवको मृत्यु भएको थियो । केन्द्र सरकारले भने अक्सिजनको आपूर्ति तत्काल बढाइने आश्वासन दिएको उच्च अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रधानमन्त्री मोदीले पनि मंगलबार साँझ देशका नाममा सम्बोधन गर्दै अक्सिजनलगायतका अत्यावश्यक कुराको अभाव हुन नदिने बताएका थिए ।

प्रकाशित : वैशाख ८, २०७८ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?