९० प्रतिशतलाई अक्सिजन आवश्यक- समाचार - कान्तिपुर समाचार

९० प्रतिशतलाई अक्सिजन आवश्यक

अतुल मिश्र

काठमाडौँ — कोरोना संक्रमित भएर अस्पताल भर्ना हुनेमध्ये करिब ९० प्रतिशतलाई अक्सिजन आवश्यक पर्ने विज्ञले बताएका छन् । गत वर्ष यो दर करिब ६० प्रतिशत रहेको त्रिवि शिक्षण अस्पताल कोभिड व्यवस्थापन समितिका संयोजक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासले बताए ।

‘संक्रमण तीव्र फैलिरहेको छ । विस्तारको गति र अस्पतालको तयारी मिलेको छैन,’ उनले भने, ‘तयारीअनुसार दोब्बर बिरामी पुगिरहेका छन् ।’

कोरोनाको नयाँ भेरिएन्टसमेत देखिएकाले बिरामीलाई श्वासप्रश्वासको समस्या बढी देखिएको चिकित्सकको भनाइ छ । कोभिडको दोस्रो लहरको भाइरस धेरै आक्रामक देखिएकाले संक्रमितलाई अक्सिजनको आवश्यकता बढी रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका वरिष्ठ छाती रोग विशेषज्ञ डा. नवीन प्रकाश शाहले बताए । ‘दीर्घरोग नभएका ४५ वर्षका संक्रमित पनि अक्सिजनको अत्यधिक आवश्यकताले भेन्टिलेटरमा गएको अवस्था छ,’ उनले भने ।

कोभिड भाइरसले फोक्सोलाई संक्रमित गरेर रगतमा अक्सिजन आपूर्तिमा अवरोध उत्पन्न गर्छ । अक्सिजनको कमी भएपछि बिरामीले लामो सास लिन थाल्छ र दुखाइ, कमजोरीलगायत समस्या आइपर्छ । अक्सिजनको आवश्यकता समयमै पूरा गरे बिरामीलाई सहज हुने चिकित्सक बताउँछन् । कोभिडका बिरामी भेन्टिलेटरमा गएपछि फर्काउन गाह्रो हुने भएकाले आवश्यकता देखिनासाथ तुरुन्त अक्सिजन थेरापी गर्नुपर्ने चिकित्सक बताउँछन् ।

हाल त्रिवि शिक्षण अस्पतालको आईसीयूमा रहेका १० जना र अक्सिजन बेडका ३५ गरी ४५ बिरामीलाई अक्सिजन दिइरहनुपरेको छ । शिक्षण अस्पतालमा अक्सिजनको दुई वटा प्लान्ट भए पनि फ्रान्सबाट ल्याउनुपर्ने किट अभावमा एउटा प्लान्ट न्यून क्षमतामा चलेको अस्पतालले जनाएको छ । बिरामी बढे हाल उत्पादन भइरहेको अक्सिजनले धान्न नसक्ने डा. दासले बताए । ‘उत्पादक कम्पनीको क्षमता बढाउन जरुरी छ,’ उनले भने, ‘नत्र स्थिति भारतभन्दा नराम्रो हुन सक्छ ।’

पोहोरको दाँजोमा धेरै ठाउँमा अक्सिजन प्लान्ट राखिएको दाबी गर्दै स्वास्थ्य मन्त्रालयले तत्काल अभाव नदेखिएको बताएको छ । राजधानीका स्वास्थ्य संस्थामा हाल पुग्ने गरी अक्सिजन उत्पादन भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । ‘गत वर्षको तुलनामा यस पटक अक्सिजन आवश्यक पर्ने बिरामी धेरै देखिएका छन्,’ उनले भने ।

प्रकाशित : वैशाख ९, २०७८ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्

परीक्षण गरिएका ८० प्रतिशतमा कोरोना

नेपालगन्जमा संक्रमण नियन्त्रणबाहिर जाने खतरा, बुधबार राति १२ बजेदेखि एक साता लकडाउन
ठाकुरसिंह थारु, मनोज पौडेल

बाँके, कपिलवस्तु — गत वर्ष नेपालगन्जमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको ६ महिनापछि सरकारले जटिल लक्षण देखिएका बाहेकको पीसीआर परीक्षण बन्द गर्‍यो । संक्रमितसित सम्पर्कमा रहेका व्यक्तिको पहिचान गर्न छाडियो ।

अस्पताल र होटलमा बनाइएका आइसोलेसन रित्तिए । संक्रमण नियन्त्रणमा आएको भन्दै चार महिनाअघि विद्यालय खुले । मध्य पश्चिमको ठूलो सहर पूर्ववत् अवस्थामा फर्कियो ।

नेपाल–भारत सीमा खुले । भौतिक दूरी कायम गरिएन । मास्क लगाउन छाडियो । त्यसबेला चिकित्सकले कोरोनाको दोस्रो लहर फैलिन सक्ने भन्दै सावधानीका लागि पटक–पटक आग्रह गरे । ‘संक्रमण नियन्त्रण गर्ने सबैभन्दा भरपर्दो उपाय अनिवार्य स्वास्थ्य मापदण्ड पालना नै हो । तर, नेपालगन्जमा त्यसको धज्जी उडाइयो । जसको परिणाम हामीले फेरि भोग्नुपरेको छ,’ भेरी अस्पताल नेपालगन्जका मेडिकल विभाग प्रमुख डा. राजन पाण्डेले भने, ‘हरेक दिन सयभन्दा बढी संक्रमित थपिरहँदा पनि बेवास्ता भइरहेको छ । सावधानी नअपनाउने हो भने स्थिति भयावह बन्न सक्छ । चाहेर पनि केही गर्न सक्दैनौं ।’

यहाँ भुसको आगो जस्तै संक्रमण फैलिनुको कारण लापरबाही भएको चिकित्सकले बताए । बिनाकाम घर बाहिर निस्किने, मास्क नलगाउने, भीडभाड बढी गर्ने, अंकमाल गर्ने, हात मिलाउने गरिएकाले पनि संक्रमण बढेको हुन सक्ने उनीहरूको तर्क छ । गत वर्ष वैशाख १९ गते नेपालगन्ज उपमहानगरपालिका–८ का एक स्थानीयमा पहिलोपल्ट कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाभर त्रास फैलिएको थियो । ती व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्दैगर्दा एउटै टोलमा ६३ जना संक्रमित फेला परे । स्थानीय आफैंले टोलटोलमा डोरी, बेरियल लगाएर बन्द गरे । संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले तीनपल्ट लकडाउन गर्‍यो । निषेधाज्ञा लगाएर नेपाली सेनासमेत परिचालन गरियो । त्यसले कोरोनाको महामारी नियन्त्रणमा निकै ठूलो सफलता मिलेको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले भारतबाट फर्किनेमध्ये थोरैमा र स्थानीयमा बढी संक्रमण देखिएको बताए । लापरबाही गरेकै कारण कोरोनाको संक्रमण समुदायमा सरिसकेको उनले जनाए । ‘सबैले सावधानी अपनाउनुपर्थ्यो । तर, हामीले सोचेजस्तो सहयोग भएन,’ उनले भने, ‘पछिल्लो समयका संक्रमितमा जटिल खालको समस्या देखिरहेको छ । यो निकै चिन्ताको विषय हो ।’ उनका अनुसार स्वास्थ्य मापदण्ड पूरा नगर्नु र कोरोनालाई बेवास्ता गरिएकै कारण नेपालगन्ज फेरि हटस्पट बनेको हो । दैनिक संक्रमित थपिने क्रम हेर्दा कोरोना नियन्त्रणबाहिर जाने खतरा बढेको छ ।

पछिल्लो दुई सातामा जिल्लामा संक्रमित ह्वात्तै बढेका छन् । अहिले दैनिक तीन सयभन्दा बढी संक्रमित भइरहेका छन् । भेरी अस्पताल, शिक्षण अस्पताल नेपालगन्ज र अनुमति प्राप्त ल्याबहरूमा गरिएको परीक्षणमा ८० प्रतिशतसम्म पोजिटिभ रिपोर्ट आउन थालेको छ । ‘भेरी अस्पताल आफ्नो स्रोतसाधनले भ्याएसम्म बिरामीको उपचारमा प्रतिबद्ध भएर लागेको छ । तर, यसैगरी बिरामीको चाप बढ्ने हो भने थेग्न मुस्किल हुने निश्चित छ,’ अस्पताल प्रमुख डा. प्रकाश थापाले भने, ‘संक्रमणलाई थप फैलिन नदिन सरकारले अनुरोध गरेबमोजिम सुरक्षाका मापदण्डको पालना गरौं ।’ कोरोनाका बिरामी कोभिड वार्डमा नअटाएपछि जनरल वार्डमा राखिन थालेको छ । संक्रमण फैलिइरहने र अस्पतालले थेग्न नसक्ने गरी बिरामीको चाप बढ्दा स्वास्थ्य प्रणाली नै फेल हुन सक्ने जोखिम रहेको चिकित्सक बताउँछन् ।

यस क्षेत्रकै सबैभन्दा ठूलो र सुविधायुक्त उक्त अस्पतालले बनाएको कोभिड वार्ड बिरामीले भरिभराउ छन् । तर, दैनिक एक सय बढी कोरोनाका बिरामी थपिँदै गएका छन् । अस्पताल भरिभराउ हुँदा थपिएका कोरानाका बिरामी होम आइसोलेसनमा बस्दै आएका छन् । एक साताको दौरानमा परीक्षण गर्दा साढे सात सय कोरानाका बिरामी थपिएका छन् । भेरी अस्पतालमा कोरोनाका ८२ बिरामी भर्ना भएका छन् । ३४ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा छन् ।

यसैबीच, उच्च जोखिम रहेको नेपालगन्जमा जिल्ला प्रशासन कार्यालयले बुधबार राति १२ बजेदेखि वैशाख १५ गते राति १२ बजेसम्म लागू हुने गरी लकडाउन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा जारी सूचनामा बिरामीले अस्पतालका बेड भरिभराउ भएको अवस्थालाई गम्भीरतापूर्वक लिई यस्तो निर्णय लिनुपरेको उल्लेख छ ।

यस्तै, कपिलवस्तुस्थित कृष्णनगर नाका हुँदै भित्रिइरहेका तीन जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भयो । संक्रमित व्यक्तिको स्वाब संकलन गरेका स्वास्थ्यकर्मीले पीपीई सेट लगाएका थिएनन् । ‘संक्रमण पुष्टि भएपछि आत्तियौं र जोखिम महसुस गर्‍यौं,’ एक स्वास्थ्यकर्मीले भने, ‘कृष्णनगर नगरपालिकालाई जानकारी गरायौं तर कुनै रेस्पोन्स नआएपछि संक्रमितलाई घरघर पठायौं ।’ नयाँ दिल्लीमा लकडाउन भएपछि यसरी मुलुक आउनेको संख्या बढिरहेको छ । यसरी आउनेमध्ये मंगलबार ज्वरो आएका, रुघाखोकी लागेका पाँच जनाको एन्टिजेन परीक्षण गरिएको थियो । कृष्णनगर नगरपालिकाले दशगजामा राखेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले परीक्षण गर्दा मंगलबार ३ जनामा संक्रमण पुष्टि भएको हो । सरकारले संक्रमितलाई होम आइसोलेसनसम्म पठाउँदा सार्वजनिक यातायातमा नपठाउन निर्देशन गरेको छ । यहाँ संक्रमितहरू आफूखुसी गाडी चढेर घर पुगिरहेका छन् ।

जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेको अध्यक्षतामा गत वैशाख २ गते बसेको बैठकले लक्षण देखिएका बिरामीलाई अस्पतालको आइसोलेसनमा राख्ने निर्णय गरेको थियो । यसका लागि स्थानीय तहलाई अस्पतालमा आइसोलेसन सेन्टर बनाउन अनुरोध गरेको थियो । सदरमुकाम तौलिहवामा साबिकको महिला विकास कार्यालयमा आइसोलेसन सेन्टर सञ्चालन गर्ने निर्णय गरिए पनि सञ्चालनमा आएको छैन । ‘स्थानीय तहलाई क्वारेन्टाइन र आइसोलेसन सेन्टर बनाउन सरकारको स्पष्ट निर्देशन छैन,’ प्रजिअ पाण्डेले भने, ‘त्यही भएर हामीले अनुरोध गरेको हो ।’ प्रशासन र स्थानीय तहबीच समन्वय गरेर समस्या समाधान भइरहेको उनले बताए ।

प्रकाशित : वैशाख ९, २०७८ ०८:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×