कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

भारत आउजाउमा रोक

अमेरिकाद्वारा भारत नजान निर्देशन
भारतबाट बेलायत आउन रोक
हङकङ र न्युजिल्यान्डद्वारा उडान बन्द
सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतमा कोरोना संक्रमण बढ्ने क्रमसँगै विभिन्न मुलुकले आफ्ना नागरिकहरूलाई भारत भ्रमणमा रोक लगाउन थालेका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार मंगलबार मात्र २ लाख ५९ हजार १ सय ७० संक्रमित थपिएका छन् ।

भारत आउजाउमा रोक

त्यसैगरी १ हजार ७ सय ६१ जनाको भाइरसका कारण मृत्यु भएको छ । भारतमा एकै दिन २ लाखभन्दा बढीलाई संक्रमण पुष्टि भएको यो लगातार पाँचौं दिन हो ।

संक्रमण तीव्र बनेकै कारण राजधानी दिल्लीमा सोमबार साँझदेखि एक साता लामो लकडाउन गरिएको छ । नयाँ प्रजातिका भाइरसका कारण संक्रमण एकाएक बढेको स्वास्थ्यविद्हरूको आशंका छ । भारतमै नयाँ किसिमको ‘डबल म्युटेन्ट’ भाइरस पहिचान भइसकेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मार्च २४ मै ‘डबल म्युटेन्ट’ भाइरस भेटिएको पुष्टि गरेको थियो ।

भारतमा नयाँ प्रजातिको डबल म्युटेन्ट भाइरस देखिएपछि अमेरिका, बेलायतलगायतका मुलुकले त्यसको संक्रमण जोखिम र असरलाई लिएर चिन्ता प्रकट गर्दै आएका थिए । नयाँ प्रजातिको भाइरसबाट हुने संक्रमण नियन्त्रणका लागि हालसम्म विकसित खोपहरू प्रभावकारी हुने/नहुनेबारे चासो व्यक्त हुन थालेको छ । यिनै चासो र चिन्ताका बीच विभिन्न मुलुकले आफ्ना नागरिकलाई भारत भ्रमणमा रोक लगाएका हुन् । त्यसका साथै कतिपय देशले भारतसँगको उडान बन्दको निर्णय गर्न थालेका छन् ।

अमेरिकाले मंगलबार त्यहाँको जनस्वास्थ्य क्षेत्रसम्बन्धी प्रमुख नियम निकायले आफ्ना नागरिकहरूले खोपको पूरै मात्रा लगाएको भए पनि भारत नजान चेतावनी दिएको छ । अमेरिकाको सेन्टर फर डिजिज एन्ड प्रिभेन्सन (सीडीसी) ले मंगलबार एउटा एडभाइजरी जारी गर्दै त्यस्तो चेतावनी दिएको हो । भारतमा विकसित नयाँ प्रजातिका संक्रमणका कारण जोखिम बढे भन्दै सीडीसीले उक्त निर्णय लिएको जनाएको छ ।

सीडीसीले संक्रमणको स्तरको हिसाबले भारतलाई चौथो तहमा राखेको छ । यसको अर्थ भारतमा कोरोना महामारीको संक्रमणको ‘जोखिम निकै’ रहेको भन्ने हो । ‘हालको अवस्थालाई हेर्दा खोप लगाइसकेकाहरूसमेत कोरोना भाइरसका नयाँ प्रजातिबाट संक्रमित हुने जोखिम भएकाले भारत भ्रमण नगर्नू,’ सीडीसीले भनेको छ । सीडीसी जनस्वास्थ्यसम्बन्धी आवश्यक नीति तर्जुमा गर्ने र निर्णय लिने अमेरिकाको सबैभन्दा प्रभावशाली निकाय हो ।

त्यसैगरी बेलायतले पनि नयाँ प्रजातिकै कारण देखाएर भारतबाट आउनेहरूलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएको छ । आगामी शुक्रबार बिहान ४ बजेदेखि बेलायती र आइरिस नागरिकबाहेक भारतबाट आउनेलाई प्रवेशमा रोक लगाउने निर्णय भएको बेलायती सञ्चारमाध्यमहरूले त्यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यानककलाई उद्धृत गर्दै लेखेका छन् । बेलायतले प्रतिबन्धित मुलुकहरूको सूचीमा भारतलाई ‘अत्यन्त जोखिम’ मा समावेश गर्दै भारतबाट हुने भ्रमणमा रोक लगाएको हो । बेलायती र आइरिस नागरिकका हकमा भने बेलायत प्रवेश गरेपछि कम्तीमा पनि १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको छ ।

बेलायतले पछिल्लो निर्णय लिनुका पछाडिको प्रमुख कारण भारतमा विकसित नयाँ प्रजातिको भाइरस रहेको छ । भाइरसको उक्त प्रजातिबाट बेलायतमा सय जनाभन्दा बढी संक्रमित भइसकेका छन् । ‘भारतमा पहिलो पटक देखिएको नयाँ प्रजातिको भाइरसका कारण यस्तो अहं र कठिन निर्णय लिइएको हो,’ ह्यानककलाई उद्धृत गर्दै बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसैगरी हङकङ र न्युजिल्यान्डले पनि नयाँ म्युटेन्ट भाइरसकै कारण देखाएर भारतबाट हुने उडानमा रोक लगाउने निर्णय गरिसकेका छन् । हङकङले मंगलबारदेखि दुई साताका लागि भारतबाट हुने उडानमा रोक लगाएको छ । न्यूजिल्यान्डले भने अप्रिल ८ देखि नै भारतसँगको उडान रोक लगाइसकेको छ ।

प्रकाशित : वैशाख ८, २०७८ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?