भारतमा एकैदिन २ लाख ७३ हजारभन्दा बढीलाई कोरोना, १,६१९ को मृत्यु

एक हप्तामै थपिए करिब १५ लाख संक्रमित, अस्पतालमा बेड अभाव भएपछि केन्द्रीय मन्त्रीले नै मागे सहयोग

काठमाडौँ — भारतमा कोरोना संक्रमण दिनदिनै तीव्र गतिमा बढिरहेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै २ लाख ७३ हजार ८ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतमा एकैदिन २ लाख ७३ हजारभन्दा बढीलाई कोरोना, १,६१९ को मृत्यु

भारतमा एकैदिन २ लाखभन्दा बढीलाई संक्रमण पुष्टि भएको यो चौथो दिन हो । त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा १६ सय १९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमितको संख्या १ करोड ५० लाख ६१ हजार ९ सय १९ पुगेको छ । त्यस्तै अहिलेसम्म कोरोनाले १ लाख ७८ हजार ७ सय ६९ को मृत्यु भएको छ भने १ करोड २९ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । भारतमा अहिले १९ लाख २९ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

भारतले पछिल्लो समय कोरोनाविरुद्धको भ्याक्सिनलाई तीव्रता दिइए पनि कोरोनाको दोस्रो लहर रोक्न सफल भएको छैन । केही हप्तादेखि विभिन्न राज्यमा भइरहेका विधानसभा चुनावको प्रचार र हरिद्वारमा आयोजित कुम्भ मेलाले ‘सुपर स्प्रेडर’ को काम गरेको जनस्वास्थ्यविद्को भनाइ छ । भारतमा अहिलेसम्म १२ करोड ३८ लाख ५२ हजार ५ सय ६६ डोज खोप लगाइएको छ । जसमध्ये आइतबार मात्रै १२ लाख ३० हजारले कोरोना खोप लगाएका थिए ।

भारतमा पछिल्लो एक सातामा मात्रै करिब १५ लाख संक्रमित थपिएका छन् । जुन भारतमा अहिलेसम्म पुष्टि भएका संक्रमितको संख्याको १० प्रतिशत हो । अप्रिल ११ देखि अप्रिल १८ सम्म मात्रै १४ लाख ५० हजारभन्दा बढी संक्रमित थपिएका हुन् ।

अस्पतालमा बेड र औषधि अभाव

संक्रमण तीव्र बनेसँगै अस्पतालमा बेड, बिरामीहरुका लागि आईसीयू, भेन्टिलेटर, अक्सिजन र अन्य अत्यावश्यक औषधिको चरम अभाव हुन थालेको छ । अभावकै कारण आफन्तका लागि बेड, अक्सिजन र भेन्टिलेटरका लागि केन्द्रीय मन्त्रीदेखि पत्रकारहरुले समेतले सामाजिक सञ्जालमार्फत् गुहार लगाउन थालेका छन् । केन्द्रीय मन्त्री भीके सिंहले आइतबार मध्यान्ह कोरोना संक्रमित आफ्ना भाइका लागि बेडको आवश्यक भएको भन्दै ट्विटरमार्फत् सहयोग मागेका छन् ।

भारतीय सेनाका पूर्वप्रमुखसमेत रहेका सिंहले भनेका छन्, ‘कृपया मलाई सहयोग गर्नुहोस् मेरो भाइलाई कोरोना उपचारका लागि बेडको आवश्यकता छ, अहिले गाजियाबादमा बेडको व्यवस्था हुन सकिरहेको छैन ।’

उत्तरप्रदेशमा पर्ने गाजियाबाद मन्त्री सिंहको आफ्नै निर्वाचन क्षेत्र हो । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका सूचना सल्लाहकार शलभमणि त्रिपाठीले ट्वीटमै आवश्यक प्रक्रिया सुुरु गरिएको जवाफ दिएका थिए ।

केन्द्रीय मन्त्रीले नै सहयोग माग्नु परेपछि भारतीय स्वास्थ्य प्रणालीबारे प्रश्न उठाउँदै सामाजिक सञ्जालमा कडा आलोचना भएको थियो । त्यसपछि मन्त्री सिंहले आफूले आफ्ना भाइका लागि नभएर संक्रमित व्यक्तिसम्म जिल्ला प्रशासन पुगोस् भनेर ट्विट गरेको स्पष्टीकरण दिएका थिए । तर उक्त स्पष्टीकरणको केही समयपछि भने उनले पहिलेको ट्वीट हटाएका थिए ।

प्रकाशित : वैशाख ६, २०७८ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?