संक्रमण बढेपछि धमाधम विद्यालय बन्द

प्रदेश ब्युरो

काठमाडौँ — विद्यार्थी, शिक्षक र अभिभावकमा कोरोना संक्रमण बढ्न थालेपछि सहरी क्षेत्रबाहेकका विद्यालय पनि बन्द गरिन थालेको छ । शिक्षा तथा विज्ञान, प्रविधि मन्त्रालयले कोभिड–१९ संक्रमण फैलिए विद्यालय बन्द वा खुला राख्ने निर्णय सम्बन्धित स्थानीय तहले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को समन्वयमा गर्न सक्ने जनाएपछि पालिकाहरूले आफ्नो क्षेत्रका विद्यालय बन्द गर्न थालेका हुन् ।

संक्रमण बढेपछि धमाधम विद्यालय बन्द

संक्रमितको संख्या बढेसँगै सुनसरीको इनरुवा नगरपालिकाले आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि सबै विद्यालय बन्द गरेको छ । विद्यार्थीहरूमा संक्रमण देखिनुका साथै समुदायस्तरमा फैलिएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख राजन मेहताले बताए । इनरुवा–५ बलाहास्थित नवयुग बोर्डिङ स्कुलमा पढ्ने १३ वर्षीय एक विद्यार्थीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि अन्य विद्यालय पनि बन्द गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मिश्रीलाल मेहताले बताए । ती बालकका आमाबाबु दुवैमा कोरोना पुष्टि भएको थियो । बालकलाई पनि उच्च ज्वरो आएपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । हाल उनीहरू सबै होम क्वारेन्टाइनमा छन् ।

इनरुवाबाहेक सुनसरीका अन्य ११ स्थानीय तहले भने विद्यालय बन्द गर्ने/नगर्ने निर्णय गर्न सकेका छैनन् । इटहरी उपमहानगर प्रमुख द्वारिकालाल चौधरी र कोसी गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीले सरोकारवालासँग छलफल जारी रहेको बताए ।

सुनसरीका प्रुमख जिल्ला अधिकारी उमेशकुमार ढकालले खुला सीमाका कारण संक्रमितको संख्या बढेको बताए । ‘आवतजावतमा कडाइ छ तर खुला सिमाना भएकाले सबैतिर नियन्त्रण गर्न सकिएको छैन । भन्टाबारी नाकामा हेल्थ डेस्क राखिएको छ । तैपनि कतै न कतैबाट लुकीछिपी आइहाल्छन्,’ उनले भने । भारतमा कोरोनाको संक्रमण बढेसँगै रोजगारीमा गएकाहरू फर्केर आउने क्रम जारी रहँदा सुनसरीमा पनि संक्रमितको संख्या बढेको हो । जिल्लामा ५८ जनामा कोरोना पुष्टि भएको छ ।

धरानमा बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा एक सतायता संक्रमितको चाप बढ्न थालेको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार अस्पतालका शय्या, आईसीयू, एचडीयू बेडमा संक्रमित भर्ना हुन थालेका छन् । ६ जना सक्रिय संक्रमितमध्ये तीन आईसीयू, दुई जना एचडीयूमा र एक जना जनरलमा भर्ना छन् ।

नगरभरिका विद्यालय बन्द

बैतडी– मेलौली नगरपालिकाका सबै विद्यालय आइतबारदेखि बन्द गरिएका छन् । मेलौली–७ तोल्या गाउँमा शनिबार एक स्थानीयमा कोरोना संक्रमण देखिएपछि वैशाख १४ सम्मका लागि विद्यालय बन्द गरिएका हुन् । नगरको कोरोना व्यवस्थापन समिति बैठकले आइतबार विद्यालय बन्दसँगै तोल्या क्षेत्र सिल गरेको पालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टले बताए । ‘संक्रमित देखिएकाको परिवारमा एक जनाको घरमा मृत्यु पनि भएको छ । दाहसंस्कारपछि परिवारका सदस्यमा लक्षण देखिएर जाँच गर्दा संक्रमण पुष्टि भएको हो । परिवारमा भारतबाट आएका पनि छन्,’ उनले भने । पालिकामा दुई संस्थागतसहित ४८ विद्यालय छन् । जिल्लाभर आइतबारसम्म २५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै सल्यानमा विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि शारदा नगरपालिका–८ मार्केको त्रिभुवन जनता मावि एक साताका लागि बन्द गरिएको छ । १० कक्षाकी एक छात्रालाई संक्रमण पुष्टि भएपछि अरुलाई जोखिम हुने देखेर विद्यालय बन्द गरिएको प्रधानाध्यापक दलबहादुर विकले बताए । रुघाखोकी लागेकी छात्राको पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनलाई जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । रुघाखोकीबाट ग्रसित अन्य १५ विद्यार्थी र शिक्षकको स्वाब संकलन गरिएको विद्यालयले जनाएको छ ।

अन्य विद्यालयलाई पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पठनपाठन गर्न आग्रह गरिएको शारदा नगरपालिकाका शिक्षा संयोजक लीलाधर बबालले बताए । उनले भने, ‘बालबालिका जोखिममा नपरून् भनेर वार्षिक परीक्षा छिटो सञ्चालन गर्ने तयारी पनि भइरहेको छ ।’ एक साताको अवधिमा चार जनालाई कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

पोखरामा परीक्षा नरोकिने

पोखरा– पोखराका विद्यालयले वैशाखभित्रै आफ्ना वार्षिक परीक्षा गराइसक्नुपर्ने निर्णय महानगरपालिकाको शिक्षा समितिले आइतबार गरेको छ । भौतिक अवस्था, स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै विद्यालयले लिने वार्षिक परीक्षा वैशाखभित्रै लिनुपर्ने समितिले आइतबार निर्णय गरेको हो । जेठ ३ देखि ११ सम्म तोकिएको ८ कक्षाको नगरस्तरीय परीक्षाको मिति पनि हाललाई हेरफेर नगर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख हेमप्रसाद आचार्यले बताए । ‘त्यतिबेलासम्मको परिस्थितिलाई आकलन गरेपछि मात्रै सार्ने/नसार्ने निर्णय गर्छौं,’ उनले भने । बैठकमा प्याब्सन, एनप्याब्सन, अभिभावक संघ, नगरस्तरीय परीक्षा समितिलगायत प्रतिनिधि सहभागी थिए ।

पछिल्लोपल्ट पोखरामा एक दर्जन विद्यालयका ८९ जना विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित जिल्लामा कास्कीलाई वर्गीकरण गरेको र विद्यार्थीहरू उच्च जोखिममा रहेको बताए पनि यहाँका स्थानीय तहले औपचारिक रूपमा विद्यालय बन्दको घोषणा गरेका छैनन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार आइबारसम्म पछिल्लो २४ घण्टामा कास्कीमा ६१ संक्रमित थपिएका छन् । सक्रिय संक्रमितको संख्या ४ सय ९ छ ।

प्रकाशित : वैशाख ६, २०७८ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?