कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

दिल्लीमा कुम्भ मेलाबाट फर्कनेलाई १४ दिन क्वारेन्टाइन अनिवार्य

एजेन्सी

नयाँदिल्ली — भारतको दिल्ली राज्यले कुम्भ मेलामा सहभागी भएर फर्केकाहरूलाई १४ दिन क्वारेन्टाइन अनिवार्य गरेको छ । 

दिल्लीमा कुम्भ मेलाबाट फर्कनेलाई १४ दिन क्वारेन्टाइन अनिवार्य

उत्तराखण्ड राज्यको हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी सयौं तीर्थालुलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मेलाबाट फर्केनेलाई १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको दिल्ली सरकारले जनाएको छ । दिल्ली सरकारद्वारा जारी निर्देशनमा कुम्भ मेलाबाट आएकाहरूले आफैं पनि स्वास्थ्य सतर्कता अपनाउनुपर्ने र क्वारेन्टाइनमा बस्नुपर्ने उल्लेख गरिएको छ । नियम पालना नगर्नेलाई कडा सजाय गरिने पनि सरकारले जनाएको छ ।

राज्यका मुख्य सचिव विजय देवद्वारा जारी निर्देशिकामा ‘होम क्वारेन्टाइनमा’ बस्न सकिने उल्लेख छ । निर्देशिकामा अप्रिल ४ देखि १७ सम्म कुम्भ मेलामा सहभागी भएकाहरूले आफ्नो विवरण राज्य सरकारलाई उपलब्ध गराउन पनि आह्वान गरिएको छ । अप्रिल १८ देखि ३० सम्म कुम्भ मेलामा जाने तयारीमा रहेकाहरूले पनि दिल्ली छाड्नुअघि केही व्यक्तिगत विवरणहरू बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

पछिल्लो २४ घण्टामा दिल्लीमा मात्रै २४ हजार ३ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ । अधिकारीहरूका अनुसार एकै दिन संक्रमित हुने यो हालसम्मकै उच्च संख्या हो । दिल्लीमा हाल करिब ७० हजार सक्रिय संक्रमित छन् । कुम्भ मेलामा सहभागी भएकामध्ये करिब १८ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । मेलाका क्रममा गत साता मात्रै दसौं लाखले शाही स्नान गरेका थिए । त्यसक्रममा मास्क लगाउनुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्नेलगायत आधारभूत मापदण्डहरू पालना गराउन असम्भव भएको स्थानीय प्रशासनले स्वीकार गरिसकेको छ ।

भारतमा एकै दिन २ लाख ६१ हजार संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६१ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६१ हजार ५ सय जनामा संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या १ करोड ४७ लाख ८८ हजार १ सय ९ पुगेको छ ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये १ करोड २८ लाख ९ हजारभन्दा बढी निको भइसकेका छन् भने १८ लाख १ हजार ३ सय १६ जनामा संक्रमण कायमै छ । मन्त्रालयले उक्त अवधिमा १ हजार ५ सय १ जनाले भाइरसको संक्रमणका कारण ज्यान गुमाएका जनाएको छ । योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार १ सय ५० पुगेको छ । भारतीय मेडिकल रिसर्च काउन्सिलका अनुसार शनिबार मात्रै १५ लाख ६६ हजार ३ सय ९४ जनामा कोरोना भाइरस परीक्षण गरिएको छ । काउन्सिलका अनुसार हालसम्म २६ करोड ६५ लाख ३८ हजार ४ सय १६ जनामा भाइरसको परीक्षण गरिसकिएको छ ।

संक्रमण फैलिने क्रम बढेसँगै भारतमा कोरोनाविरुद्धको खोप अभियान पनि तीव्र पारिएको छ । भारतमा अहिलेसम्म १२ करोड २६ लाख २२ हजार ५ सय ९० जनाले खोप लगाइसकेका छन् ।

भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सिन र स्पुत्निक–५ गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायहरूले जनाएका छन् । भारत सरकारले गत जनवरी १६ देखि खोप अभियान सुरु गरेको हो । रुसले विकास गरेको ‘स्पुत्निक–५’ खोप अप्रिल १२ देखि लगाउन थालिएको हो । भारत सरकारले जुलाई अन्तिमसम्म २५ करोड जनालाई खोप दिने लक्ष्य राखेको छ ।

प्रकाशित : वैशाख ६, २०७८ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?