भेरीमा गरिएका परीक्षणमा पोजिटिभिटी रेट ९२ दशमलव ६ प्रतिशत

रूपा गहतराज

नेपालगन्ज — भेरी अस्पताल नेपालगन्जले आइतबार दिउँसो १२ बजे अधावधिक गरेको तथ्यांक अनुसार परीक्षण गरिएका नमुनामा पोजिटिभिटी रेट ९२ प्रतिशत भन्दा बढी देखिएको छ ।

भेरीमा गरिएका परीक्षणमा पोजिटिभिटी रेट ९२ दशमलव ६ प्रतिशत

बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार बितेको २४ घण्टामा भेरी अस्पतालको प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गरिएका ८१ वटा नमुनामध्ये ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसको पोजिटिभटी रेट ९२ दशमलव ६ प्रतिशत हुन आउँछ ।

अस्पतालका अनुसार संक्रमितहरु श्वासप्रश्वासमा समस्या, ज्वरो तथा अन्य लक्षणसहित आफै अस्पतालमा उपचार गर्न आएका व्यक्तिहरु हुन् ।

‘समुदायमा संक्रमणको अवस्था कस्तो छ भनेर पहिचान गर्नका लागि सबै स्थानीय तहहरुले समुदायस्तरबाटै नमुना संकलन गरी अस्पतालको प्रयोगशालामा परीक्षणका लागि पठाउने व्यवस्था गर्नुपर्ने देखिन्छ,’ भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रकाश थापाले भने,‘परीक्षणको दायरा बढनुका साथै जोखिम कम गर्न सकिन्छ’ ।

कोभिड महामारी सुरु भएपछि अस्पतालमा स्थापना गरिएको कोरोना विशेष आइसोलेसन वार्डको १०२ बेड र शंकास्पद बिरामीलाई राख्ने ४० शय्याको प्रि–आइसोलेसन वार्ड गरी जम्मा १४२ बेड संक्रमितहरुले करिबकरिब भरिइसकेको अस्पतालले जनाएको छ । त्यसैगरी, १५ शय्याको कोभिड आइसियु पनि भरिएका छन् ।

प्रकाशित : वैशाख ५, २०७८ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?