लकडाउन हटेको एक वर्षपछिको वुहान

‘वुहानका बासिन्दाको व्यावहारिक कदमले चिनियाँ शक्ति र भावनाको प्रदर्शन गर्‍यो र एक वर्षपछि वुहानको पुनर्जन्म भयो । सहरका हर कुनामा जोश र जीवन्त शक्ति अहिले झन्‌झन् थपिइरहेको छ ।’

चैत्र २७, २०७७

लक्ष्मी लम्साल

बेइजिङ — विश्वमा कोरोना भाइरसको दोस्रो वा तेस्रो लहरको चिन्ता बढिरहेको छ । सबैभन्दा पहिला कोरोना भाइरस भेटिएको भनिएको चीनको  वुहान भने लकडाउन खुलेको एक वर्षमा झन्‌झन् उभारिएको छ।

गत वर्षको अन्त्यसम्ममा वुहानको कूल वार्षिक अर्थतन्त्र विश्वका शीर्ष १० वटा सहरमा फर्किएको थियो। चीनको हुपेई प्रान्तको राजधानी वुहान सहरमा सबैभन्दा पहिला चीनभित्र कोरोना भाइरस पत्ता लागेपछि चीनमा गत वर्ष सन् २०२० को अप्रिल ८ देखि लगातार ७६ दिनसम्म लकडाउन गरिएको थियो। त्यसअवधिमा नेपालसहित विभिन्न देशका विद्यार्थीहरू तथा कूटनीतिज्ञहरू धमाधम स्वदेश फर्किएका थिए । अनेकन आलोचनाका बाबजुद महामारी नियन्त्रणका लागि वुहान लकडाउनमा होमिएको थियो।

बिहीबार बेइजिङमा पत्रकार सम्मेलन गरी चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले हुपेई प्रान्त कोभिड १९ नियन्त्रण गर्ने नमूना प्रान्त भएको बताउँदै महामारी प्रतिरोधमा बलिदानी दिएर विश्व लडाइँमा योगदान गरेको टिप्पणी गरे।

वुहानवासीको समर्थनको प्रशंसा गर्दै उनले वुहानको अर्थव्यवस्था पुनः ट्रयाकमा आएको बताए। उनले भने, ‘वुहानका बासिन्दाको व्यावहारिक कदमले चिनियाँ शक्ति र भावनाको प्रदर्शन गर्‍यो र एक वर्षपछि वुहानको पुनर्जन्म भयो। सहरका हर कुनामा जोश र जीवन्त शक्ति अहिले झन्झन् थपिइरहेको छ।’

वुहान सहरमा लकडाउन गरिएलगत्तै विश्व समुदायबाट मानवअधिकारको विषयमा अनेकन टिप्पणी गरिएको थियो। अन्ततः चीनको अभ्यासबाट सिकेर अहिले विश्वका विभिन्न मुलुकले लकडाउनलाई नै महामारी मत्थर पार्ने अस्त्रका रुपमा अपनाउँदै आएका छन्।

महामारी नियन्त्रणमा ल्याएर वुहानको लकडाउन हटाइएपछि विश्वसमुदायमा महामारीविरुद्धको लडाइँमा आत्मविश्वास र शक्ति थपेको विश्लेषकहरू बताउँछन्। वुहानको आर्थिक तथा सामाजिक व्यवस्था सामान्य भएसँगै महामारीपश्चातको पुनरुत्थानका लागि सहायता कार्यक्रमलाई प्रश्रय दिइरहेको चिनियाँ परराष्ट्र मन्त्रालयको भनाइ छ।

आगामी अप्रिल १२ मा अनलाइन तथा अफलाइन माध्यमबाट हुपेई प्रान्तको विशेष प्रचारका लागि कार्यक्रम आयोजना गर्दै दुनियाँलाई महामारीपश्चात् पुनर्जन्म लिएको वुहानको छविबारे प्रचार गरिने पनि चिनियाँ परराष्ट्र मन्त्रालयले घोषणा गरेको छ। यसैमार्फत् वैदेशिक लगानी भित्र्याएर हुपेइ प्रान्तको नयाँ पुल बनाउने योजना पनि चीनले सुनाएको छ। 

कोरोना खोपकोरोना भाइरस

लक्ष्मी

Link copied successfully