ब्रसेल्स — युरोपेली संघ (ईयू) को औषधि नियामक निकायले कोरोना भाइरसविरुद्धको अस्ट्राजेनेका खोपका कारण ‘रगत जम्ने समस्या निकै दुर्लभ’ भएको जनाएको छ । यसअघि कतिपय देशले अस्ट्राजेनेका खोपका कारण रगत जम्ने समस्या देखिएको भन्दै खोप अभियान स्थगित गरेका थिए ।
युरोपियन मेडिसिन्स एजेन्सी (ईएमए) ले युरोपमा देखापरेका त्यस्ता ८६ वटा अवस्थाबारे अध्ययन गरेपछि जोखिमभन्दा फाइदा बढी रहेको निष्कर्ष निकालेको हो । प्रतिवेदनले करिब २ करोड ५० लाख युरोपेलीहरूलाई दिइएको खोपबारे तथ्यांकको अध्ययन गरेको हो ।
ईएमएले खोप लगाएपछिका जोखिमका खास कारणबारे भने केही उल्लखे नगरेको बीबीसीले जनाएको छ । । तर रगत जमेको अधिकांश अवस्था ६० वर्षमुनिका महिलाहरूमा देखिएको बताइएको छ । बेलायतको खोपसम्बन्धी निर्देशन समितिले रगत जम्ने समस्याका कारण ३० वर्षभन्दा मुनिका मानिसलाई अस्ट्राजेनेकाको सट्टा अन्य खोप दिनु उचित हुने जनाएको छ ।
बेलायतमा मार्च महिनाको अन्त्यसम्ममा खोप लगाएका ७९ जनामा रगत जम्ने दुर्लभ समस्या देखिएको अधिकारीहरूको भनाइ छ । तीमध्ये १९ जनाको ज्यान गइसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले खोका कारण रगत जम्ने समस्याको ‘पुष्टि नभएको’ र विश्वव्यापी रूपमा २० करोड मानिसले अस्ट्राजेनेका खोप लगाएकामा त्यस्तो समस्या भने एकदमै दुर्लभ रहेको जनाएको छ ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट १३ करोड २० लाख मानिसहरू संक्रमित भइसकेका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार भाइरसको संक्रमणका कारण २८ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
