सेरम इन्स्टिच्युटलाई खोप उत्पादनमा रकम अभाव : सीईओ पूनावाला- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेरम इन्स्टिच्युटलाई खोप उत्पादनमा रकम अभाव : सीईओ पूनावाला

रासस/एएफपी

मुम्बई — भारतमा एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्युटले आफ्नो उत्पादन विदेशमा निर्यात गर्न नपाएपछि आर्थिक समस्या झेल्नु परेको जनाएको छ । 


कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) आदर पूनावालाले भारत सरका समक्ष आर्थिक सहायताका लागि आग्रह गरिएको बताएका छन् । खोप उत्पादनमा सेरम इन्स्टिच्युट विश्वकै सबैभन्दा ठूलो कम्पनी हो ।

भारतले भारतमै कोभिड-१९ का बिरामीको संख्या ह्वात्तै बढेपछि गत महिना एस्ट्राजेनिकाको खोप निर्यातमा रोक लगाएको थियो । प्रमुख कार्यकारी पूनावालाले भारतीय सञ्‍चारमाध्यम एनडीटीभीलाई दिएको अन्तर्वार्तामा सेरमका खोपको माग विश्वभर रहेको तर अहिले भारतमै आपूर्ति गर्नु परेको बताए ।

सीईओ पूनावालाले कम्पनीलाई आफ्नो क्षमता बढाउन ४० करोड ८० लाख अमेरिकी डलर थप आवश्यक परेको बताउँदै कम्पनीले भारत सरकारसँग वित्तीय सहायताका लागि आग्रह गरिएको जानकारी दिए ।

विगतमा आफूहरुले खोप निकासीबाट आर्थिक स्रोत जुटाउने लक्ष्य राखिएको भए पनि हाल भारतमै सीमित हुनुपर्दा खोप उत्पादनमा असर परेको उनले बताए ।

सेरम इन्स्टिच्य'टले कोभिसिल्ड खोप प्रतिदिन २० लाख डोजभन्दा बढी उत्पादन गरिरहेको छ, र यो खोप भारतमा अनुदानको रुपमा प्रति डोज करिब १५० भारतीय रुपैयाँमा उपलब्ध गराइरहेको छ । तर यही खोप निर्यात गर्दा सेरमले बढी मूल्य लिने गर्दछ ।

सेरमले विश्व स्वास्थ्य संगठनको अग्रसरतामा स्थापित कोभ्याक्स परियोजनालाई २० करोड डोज खोप उपलब्ध गराउने सम्झौता गरिसकेको छ ।

प्रकाशित : चैत्र २५, २०७७ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्

बैंक राख्न अग्निपीडितको माग

नजिकमा बैंक नहुँदा व्यापारीले घरमै राखेको नगद आगलागीमा नष्ट
आनन्द गौतम

ताप्लेजुङ — फागुन १८ गते बिहान मेरिङदेन गाउँपालिका–३ दोभान बजारका गुरु पौडेल ब्याडमिन्टन खेल्न मैवाखोला नजिकैको खेलमैदानमा गए । श्रीमती रमा दोकान हेर्दै खाना बनाउन थालिन् । अरू दिन गुरु खेलेर आएपछि दोकानमा बस्थे र रमा खाना बनाउन भान्साघरमा जान्थिन् । 

त्यस दिन चाँडै खाना खाएर पौडेल सदरमुकाम फुङलिङ आउनु थियो । कारण, व्यापारमा जम्मा भएको पैसा बैंकमा जम्मा गर्नु । रमा खाना तयार पारेर दोकानमा बसिरहेकी थिइन्, सँगै जोडिएको भोला पौडेलको माथिल्लो तलामा आगोको मुस्लो देखियो । आगलागी सुरु भइसकेको रहेछ । मान्छेहरू भेला हुँदै गर्दा पैसा र सुनचाँदी निकाल्नुपर्छ भन्ने होस आयो । तर, रमा माथिल्लो तलामा जान सकिनन् ।

बैंकमा जम्मा गर्नका लागि १० लाख ९० हजार रुपैयाँ एउटै झोलामा राखेको उनी बताउँछिन् । गुरु घरमा फर्किनसक्दै झोलासँगै पैसा पनि जल्यो । चामल, पेय पदार्थ, स्टेसनरी, किराना पसलका सामान गरी उनले ४ करोड ६० लाखको क्षति बेहोरेको अनुमान छ ।

आगलागीमा यही बजारका लोकेन्द्र अधिकारीले १७ लाख नगदै गुमाए । तीनवटा पसलबाट आर्जन गरेको पैसा माथिल्लो तलामा राखेका थिए । ‘हामीलाई आगोले जलाउला भन्ने चिन्ता थिएन, तर चोर, डाँका लाग्ला कि भन्नेचाहिँ हुन्थ्यो,’ लोकेन्द्रले थपे, ‘त्यसैले सबै पैसा माथ्लो तलाको फरकफरक ठाउँमा राख्थ्यौं ।’ फरकफरक ठाउँमा राखेको पैसा निकाल्न नसक्दा जलेको उनले सुनाए । ‘काठ र जस्तापाताले बनाइएका घरमा चाँडै आगोले टिप्यो,’ उनले भने, ‘हाम्रो त बैंक नै घरको माथिल्लो तला थिए ।’

गुरु र लोकेन्द्रको सहित दोभान बजारमा भएको आगलागीमा १ करोड ६० लाख नगदै जलेको मेरिङदेन गाउँपालिकाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । नजिकमा बैंक नभएकै कारण यति ठूलो मात्रामा नगदै नष्ट भएको गुरु पौडेलले बताए । ‘यहाँ (दोभान) बाट सदरमुकाम फुङलिङ पुग्न १७ किलोमिटर छ, १० किलोमिटर कच्ची सडक छ,’ उनले भने, ‘पुग्न एक–डेढ घण्टा लाग्छ, दिनहुँ धाउन सम्भव नै हुँदैन ।’

यहाँबाट पैसा जम्मा गर्न सदरमुकामको विकल्पमा आठराई त्रिवेणी गाउँपालिका या त मेरिङदेन गाउँपालिकाको केन्द्र सुलुम्फी पुग्नुपर्छ । कम मानिसको आवतजावत हुने ती मार्ग पनि असुरक्षित रहेको व्यापारी बताउँछन् । यी केन्द्रमा पुग्न पनि डेढ/दुई घण्टाभन्दा बढी समय लाग्छ ।

व्यापारिक केन्द्रमा बैंक नहुँदा ठूलो मात्रामा नगद जल्ने सम्भावना भएका बजार अरू पनि छन् । सिरिजंगा गाउँपालिकाको खाम्दिङगे बजार पनि यस्तै जोखिममा छ । दोभान बजारको जस्तै कारोबार हुने खाम्दिङ्गे बजारका व्यापारीले पैसा जम्मा गर्न तेल्लोक पुग्नुपर्छ । यातायात चल्दा एक घण्टामा पुगिन्छ तर दिनहुँ पैसा बोकेर हिँड्न निकै जोखिम र चुनौतीपूर्ण हुने व्यापारी बताउँछन् । लिंखिमको सिंवा बजार, पाँचथरको कावेली, सिंहपुरजस्ता दर्जनौं बजारका व्यापारीलाई पैसा घरमै राख्नुपर्ने बाध्यता छ ।

यस्ता व्यापारिक केन्द्रमा बैंकका शाखा राख्न उनीहरूले माग गरे पनि सुनुवाइ भएको छैन । ‘हामीले दोभानमा बैंक राखिदिनुहोस् भन्यौं, पक्की घर पनि बनाइदियौं,’ दोभानका गुरु पौडेलले भने, ‘गाउँपालिकाले हुन्छ भनेको थियो, पछि केन्द्रमै लग्यो ।’

प्रकाशित : चैत्र २५, २०७७ १२:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×