विश्‍व अर्थतन्त्रमा व्यापक सुधार हुने आईएमफको अनुमान- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्‍व अर्थतन्त्रमा व्यापक सुधार हुने आईएमफको अनुमान

सन् २०२१ मा भारतको आर्थिक वृद्धिदर १२.५ प्रतिशत र चीनको ८.४ प्रतिशत पुग्ने अनुमान
इकान्तिपुर डेस्क

काठमाडौँ — कोरोना महामारीका बाबजुद विश्व अर्थतन्त्रमा व्यापक सुधार आउने अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमफ) ले पूर्वानुमान गरेको छ । कोरोनाले थला परेको बेलायत, अमेरिका र अन्य पश्चिमा मुलुकको अर्थतन्त्र आकलन गरिएभन्दा राम्रो हुने आईएमफको पूर्वानुमान छ ।

आईएमफले गत जनवरीमा महिनामा गरेको बेलायत र विश्व अर्थतन्त्रसम्बन्धी पूर्वानुमान परिमार्जन गरेको हो । आईएमफको अर्धवार्षिक वर्ल्ड इकोनोमिक आउटलुक(डब्लूईओ) मा कोरोना भाइरसविरुद्धको खोप अभियान, चुनौतीका बीच व्यवसायको निरन्तरता र अमेरिकामा कोरोनाको प्रभावबाट माथि उठ्न जो बाइडेनले छुट्याएको १.४ ट्रिलियन अमेरिकी डलरको प्याकेजका कारण विश्व अर्थतन्त्रममा व्यापक सुधार हुने बताइएको छ ।

आईएमएफले २०२१ मा विश्व अर्थतन्त्र ६ प्रतिशत र सन् २०२२ मा ४.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । यसअघि अक्टोबरमा आईएमफले सन् २०२१ मा ५.२ र सन् २०२२ मा ४.२ प्रतिशतले विश्व अर्थतन्त्र वृद्धि हुने बताएको थियो । त्यसपछि जनवरीमा आईएमएफले पुन: परिमार्जन गर्दै सन् २०२१ मा विश्व अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने बताएको थियो ।

कोरोना भाइरसका कारण सन् २०२० मा सबैभन्दा बढी प्रभावित भएको बेलायती अर्थतन्त्र सन् २०२१ र २२ मा भने माथि उठ्ने आईएमएफको अनुमान छ । यो वर्ष बेलायतको आर्थिक वृद्धि ५.३ प्रतिशत र सन् २०२२ मा ५.१ प्रतिशत हुने आईएमएफको प्रक्षेपण छ । चालु र आगामी आर्थिक वर्षको पूर्वानुमान हेर्दा सन् २०२०–२० मा बेलायती अर्थतन्त्र जी–७ मुलुकमध्ये सबैभन्दा बलियो हुने देखिएको छ ।

त्यस्तै अमेरिकाको अर्थतन्त्र सन् २०२१ मा ६.४ र सन् २०२२ मा ३.५ प्रतिशतले वृद्धि हुने आईएमफको अनुमान छ ।

त्यस्तै आईएमफले आर्थिक वर्ष २०२१–२२ मा भारतको आर्थिक वृद्धिदर १२.५ प्रतिशत पुग्ने अनुमान गरेको छ । यसअघि जनवरीमा आईएमएफले भारतको अर्थव्यवस्थामा ७.५ प्रतिशतको वृद्धि हुने बताएको थियो । त्यस्तै सन् २०२२ मा भारको अर्थतन्त्र ६.९ प्रतिशतले वृद्धि हुने देखिएको छ ।

त्यस्तै चीनको अर्थतन्त्र सन् २०२१ र २२ मा क्रमश: ८.४ प्रतिशत र ५.६ प्रतिशतले वृद्धि हुने पनि आईएफको अनुमान छ । त्यसैगरी न्यून आय र विकाशशील मुलुकको अर्थतन्त्र सन् २०२१ मा ४.३ प्रतिशत र सन् २०२२ मा ५.२ प्रतिशतले वृद्धि हुने आईएमएफको अनुमान छ ।

आईएमएफकी प्रमुख अर्थशास्त्री गीता गोपिनाथले सन् २०२१ मा विश्वका अधिकांश मुलुकको अर्थतन्त्रमा सुधार आउने देखिनुको मुख्य कारण कोरोना भाइरसविरुद्धको खोप अभियान भएको बताएकी छिन् । कोरोना रोकथाम र नियन्त्रणमा पछि रहेका मुलुकको अर्थतन्त्रमा भने तत्काल सुधार देखिने सम्भावना न्यून रहेको पनि आईएमफको भनाइ छ ।

कोरोना महामारीले गर्दा विश्व अर्थतन्त्र नै जर्जर बनेको छ । चिनियाँ अर्थतन्त्र कोरोना महामारीपूर्वको अवस्थामै फर्किए पनि अन्य मुलुक भने सन् २०२३ अघि त्यो अवस्थामा नपुग्ने बताइएको छ । अर्थशास्ती गोपिनाथले अर्थतन्त्र पुरानै लयमा फर्किंदै गरे पनि ब्याज दरमा वृद्धि देखिनु चुनौतीपूर्ण भएको बताएकी छिन् । ‘हामीले तीव्र रुपमा रिकभरी भइरहेको र ब्याजदर बढ्दै गइरहेको देखेका छौँ । यदि ब्याजदर योभन्दा माथि पुग्छ भने विकाशशील र उदीयमान अर्थव्यवस्थामा नकारात्मक असर पुग्नेछ,’ गोपिनाथले भनेकी छिन् ।

त्यस्तै उनले नीति निर्माताले आर्थिक सकंटको समयमा प्रोत्साहन दिने नीति अपनाउनुपर्ने बताएकी छिन् । अधिकांश मुलुक ऋणमा डुबेकाले उनीहरुको अर्थतन्त्र उकास्नका लागि प्रोत्साहित गर्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित : चैत्र २५, २०७७ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्

नरभक्षी बाघ समात्दा...

‘घना जंगलमा बाघ खोज्न सम्भव थिएन, भाग्यवश झाडीमा करिब बेहोस अवस्थामा फेला परेपछि ढुक्क भयौं’ 
कमल पन्थी

बर्दिया — राष्ट्रिय प्रकृति संरक्षण कोषका फिरुलाल थारू र स्रोत सहायक उमेश पौडेल आइतबार साँझ सवा ५ बजे एकाएक रूखमा चढे । उनीहरू रूख चढेको करिब ३ मिनेटपछि बाघ आइपुग्यो ।

रूखनजिकै भर्खरै बाघको आक्रमणमा परी मारिएका ठाकुरबाबा–९ का ३१ वर्षीय पुलिसराम थारूको शव थियो । उनी बर्दिया राष्ट्रिय निकुञ्जमा नौ वर्षदेखि पछुवाको काम गर्दै आएका थिए ।

‘शव मानिसले नछोएको हुँदा फेरि एक पटक बाघ आउन सक्छ भन्ने आशंकाले नै हामी रूख चढेर बसेका थियौं,’ फिरुलालले भने । सुरुमा केहीबेर बाघले रूखलाई कोतर्न थाल्यो । बेलुका भएकाले अँध्यारोमा डार्ट गर्न सजिलो थिएन । एउटै डार्टगन भएकाले मिस फायर भए बाघ नियन्त्रणबाहिर पुग्न सक्थ्यो । ‘त्यसैले आत्मविश्वासी भएर फायर गरें,’ फिरुलालले भने, ‘करिब २ सय मिटरको दूरीमा रहेको बाघलाई फायर गर्दा हात्ती प्रयोग गरेको थिएँ ।’ लठ्याउने औषधि लागेपछि बाघ छटपटाएर झाडीतर्फ भाग्यो । हिउँचितुवा र तराईमा चारवटा बाघ डार्ट गरी नियन्त्रणमा लिने काममा फिरुलाल सरिक भइसकेका छन् ।

त्यस दिन बेलुकी ५ बजेतिर सहकर्मी मुकुन्द न्यौपानेको फोन आएपछि फिरुलाल र उमेश अफिसमै केही समय रोकिएका थिए । ‘निकुञ्जमा बाघले मानिसलाई आक्रमण गरेको खबर सुन्नासाथ मेरो मन आत्तियो,’ राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा. रविन कडरियाले भने, ‘लगत्तै गाडी लिएर गैंडा मचान आउनुपर्‍यो भनेर न्यौपानेले फोन गर्नुभयो । म गाडी चालकलाई लिएर कार्यालय आएँ ।’ बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बाघ नियन्त्रण लिने तयारीका साथ आउन भनेकाले सोहीबमोजिम आफू हतारिँदै कार्यालयमा आएको कडरियाले सुनाए ।

निकुञ्जमा पशु चिकित्सक नभएपछि गुलरियास्थित कृष्णसार संरक्षण क्षेत्रबाट डार्टगन ल्याइएको थियो । वन्यजन्तु प्राविधिक टोलीसहित कर्मचारी घटनास्थलमा पुगेका थिए । बाघले मारेको थारूको शवलाई नछुनु भनेर त्यसअघि नै जानकारी गराइएको थियो । निकुञ्ज, प्रकृति संरक्षण कोष र नेपाली सेनाका प्रमुखसहितको टोली यसअघि नै घटनास्थल पुगेको थियो ।

पशु चिकित्सक डा. चित्रबहादुर खड्का पनि पुगेका थिए । बाघ पूर्ण रूपमा बेहोस नभएका कारण जोखिम हुने भएकाले थप सातवटा हात्ती झिकाइएको कोषका प्रमुख कडरियाले बताए । थप पाँचवटासहित १३ वटा हात्ती उक्त बाघलाई निणन्त्रणमा लिन प्रयोग गरिएको थियो । ‘रात परिसकेको थियो । घना जंगलमा बाघ खोज्न सम्भव थिएन,’ उनले भने, ‘भाग्यवश खोजेको १० मिनटमा गैंडा मचान नजिकैको झाडीमा बाघ करिब–करिब बेहोस भएको अवस्थामा फेला पर्‍यो ।’

नियन्त्रणमा लिएको बाघ करिब २ सय किलो छ । रात परेकाले दुई क्विन्टलको बाघलाई ट्रकको खोरभित्र राख्नुपर्ने र पुलिसराम थारूको शवलाई मुचुल्का उठाएर लैजानुपर्ने चुनौती थियो । राति ९ बजे बाघलाई लठ्याउने औषधि (सुईमार्फत) दिएर ट्रकको खोरमा राखियो । घटनास्थलबाट करिब ७ किमि दूरीमा रहेको निकुञ्जको मुख्यालय ठाकुरद्वारा लैजाने क्रममा थप २ वटा बाघ जंगलमा भेटिएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए ।

‘जिउँदो बाघलाई बेहोस बनाएर लैजाँदै गर्दा थप बाघ देखिँदा मन त्यसै फुलेर आयो,’ उनले भने । सबै प्रक्रिया मिलाउँदा राति करिब १२ बजेको थियो । ठाकुरद्वारामा बाघलाई राखेपछि निकै जोरले कराएको थियो । बाघ कराएको आवाजले निकुञ्ज र आसपासका बासिन्दा त्रसित भएका थिए ।

निकुञ्जले आइतबार राति नियन्त्रणमा लिएको पाटेबाघ मंगलबार ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा पुर्‍याइएको छ । निकुञ्जमा बाघ राख्ने खोरको अभाव भएकाले चिडियाखाना लैजानुपरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । चिडियाखानाका प्रमुख चिरन पोखरेलका अनुसार उक्त बाघलाई दैनिक करिब ७ किलो राँगाको मासु दिइनेछ ।

प्रकाशित : चैत्र २५, २०७७ ०९:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×