कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

कोरियामा कोभिडको तेस्रो लहर

सोल — दक्षिण कोरियामा जाडो बढ्दै गएसँगै कोभिड–१९ को तेस्रो लहरको संक्रमण देखा परेको छ । संक्रमितको संख्या बढेपछि सोमबारदेखि सरकारले ठूला सहरी क्षेत्रमा कडा नियमहरू लागू गरेको छ । गत अगस्टमा सरकारको विरोधमा दसौं लाख मानिसले सोल क्षेत्रमा र्‍याली गरेपछि कोभिडको संक्रमण थप फैलिएको थियो ।

कोरियामा कोभिडको तेस्रो लहर

हाल देखिएको कोभिडको संक्रमण ५ करोड १० लाखभन्दा बढी मानिस बसोबास गर्ने राजधानी सोल र ख्याङ्गी प्रान्तमा बढी छ । सोमबार सोल क्षेत्रका १ सय ९ तथा ख्याङ्गी प्रान्तका ७४ जनामा संक्रमण पुष्टि भएको थियो । दुवै बाक्लो जनसंख्या भएका क्षेत्र हुन् ।

झन्डै ४ महिना कोभिड–१९ को संक्रमण नियन्त्रणमा लिएको कोरियाले अति आवश्यक कामबाहेक घर बाहिर ननिस्कन सबैलाई आग्रह गरेको छ । लकडाउन नै नगरे पनि सामान्य भइसकेको मानिसको दैनिकी फेरिएको छ । देशभर १० जनाभन्दा बढी मानिस जम्मा हुन नपाइने नियम लागू गरिएको छ । सार्वजनिक स्थलमा माक्स नलगाएमा एक लाख वन (१० हजार रुपैयाँ) जरिवाना हुने नियम छ । ठूला पार्टी हल, सिनेमा हल फेरि बन्द भएका छन् । विद्यालयहरू खुलेको भए पनि विद्यार्थीलाई आलोपालो गरेर पढाउने व्यवस्था गरिएको कोरियाली रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडीसी) ले जनाएको छ ।

पछिल्ला पाँच दिनमा संक्रमित हुनेको संख्या ३ सयभन्दा बढी छ । ‘अहिले फेरि संक्रमण डरलाग्दो अवस्थामा देखिएको छ । अति आवश्यक काम नपरी बाहिर ननिस्कन अनुरोध गर्छौं । सबै मिलेर नै महामारी नियन्त्रण गर्न सक्ने हो,’ कोरियाली प्रधानमन्त्री छङ से क्युनले भनेका छन् ।

संक्रमण नियन्त्रणमा नआए अझ कडा नियमहरू लागू गर्ने पनि केसीडीसीले जनाएको छ । अगस्टमा रोग नियन्त्रणमा आएको भन्दै सरकारले विद्यालय, सिनेमा हल, धार्मिक स्थल, जिम तथा रेस्टुरेन्टहरू खोल्न दिएको थियो ।

नेपालीहरू पनि संक्रमित, अधिकांश विद्यार्थी

गत फेब्रुअरीको अन्त्यमा कोरियामा देखा परेको कोभिड–१९ बाट हालसम्म ३३ जना नेपाली संक्रमित भएका छन् । तीमध्ये अधिकांश विद्यार्थी छन् । गत महिना नेपालबाट अध्ययनका लागि कोरिया आएका २० जना विद्यार्थीमा कोभिड–१९ को संक्रमण देखिएको थियो ।

अक्टोबर १० मा मलेसिया हुँदै कोरिया आएका १४ जना विद्यार्थीमा संक्रमण देखिएको थियो । उनीहरू सबै एकै उडानमा कोरिया आएका देखिएको राजधानी सोल नजिकैको गोयाङ नगरले जनाएको थियो । उनीहरू गोयाङमा हरेको कोरियाली भाषा स्कुलमा अध्ययनका लागि आएका थिए । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया आएका २ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

प्रकाशित : मंसिर ९, २०७७ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?