३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कोरोना प्रभावित देशहरुको सूचीमा भारत सातौं स्थानमा

काठमाडौँ — कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा भारत सातौं स्थानमा पुगेको छ । भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र रुपमा वृद्धि भइरहेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या २ लाख पुग्न लागेको छ ।

कोरोना प्रभावित देशहरुको सूचीमा भारत सातौं स्थानमा

सोमबार बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या करिब एक लाख ९० हजार रहेको छ । त्यस्तै ५ हजार ४ सय ८ जनाको मृत्यु भएको छ । भारतमा संक्रमण पुष्टि भएकामध्ये करिब ९१ हजार ८ सय जना निको भएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ८ हजार ३ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ ।

कोभिड–१९ को संक्रमण फैलन नरोकिएपछि भारतमा पाँचौं चरणको लकडाउन जुन ३० सम्मका लागि जारी गरिएको छ । यस अवधिमा जोखिमपूर्ण क्षेत्रमा बाहेक अधिकांश व्यावसायिक गतिविधि सुचारु भएका छन् ।

पछिल्लो समय लकडाउन खुकुलो पारिएसँगै भारतमा संक्रमितको संख्या झन् बढेको छ । तर अर्थतन्त्रमा गम्भीर असर पुग्न थालेपछि भारत सरकार लकडाउन खुकुलो पार्न बाध्य भएको हो । जनस्वास्थ्यविद्हरूले भारतमा संक्रमण अझै उच्च बिन्दुमा पुगिनसकेको बताएका छन् । उनीहरूका अनुसार जुन र जुलाई महिनामा भारतमा संक्रमितको संख्या निकै बढ्नेछ ।

कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । सोमबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब १७ लाख ९० हजार रहेको छ । त्यस्तै अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४ हजार ३ सय ८३ रहेको छ भने करिब ४ लाख ४५ हजार निको भएका छन् । अमेरिकापछि ब्राजिलमा करिब ५ लाख १५ हजार संक्रमित भएका छन् । ब्राजिलमा अहिलेसम्म २९ हजार ३ सय १४ को मृत्यु भएको छ भने करिब २ लाख ६ हजार निको भएका छन् ।

त्यसैगरी रुसमा ४ लाख ५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ४ हजार ६ सय ९३ जनाको मृत्यु भएको छ । रुसमा निको हुनेको संख्या करिब एक लाख ७२ हजार रहेको छ । रुसपछि बेलायत, स्पेन र इटाली बढी प्रभावित भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहानसम्म विश्वभर ६१ लाख ७० हजारभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै ३ लाख ७२ हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये करिब २६ लाख ४१ हजार निको भएका छन् ।

प्रकाशित : जेष्ठ १९, २०७७ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?