लिली फूल फूलाएर बेच्ने सपना पालेका उनी अत्यधिक वर्षात्ले फूलको बीउ गानो नै कुहिने हो कि भन्ने चिन्तामा छन्
धादिङ — गत सातासम्म धादिङको अमिलीटार विभिन्न रंगका लिली फूलले ढकमक्क थियो । पृथ्वीराजमार्गबाटै त्रिशूलीपारि देखिने यो फूलबारी अहिले ओइलाउँदै गएको छ । सात रोपनीमा फैलिएको बारीको फूल लकडाउनले बिक्न सकेन । उल्टै २ दिनको झरीले चुटेपछि ओइलाएर खेर गयो ।
धादिङको गजुरी घाटबेंसीस्थित सिद्धलेक ७ अमिलीटारमा ७० हजार तरबार लिली फूल फुलाएर वेच्ने सपना पालेका सुधीर खतिवडा अत्यधिक वर्षातले फूलको बीउ गानो नै कुहिने हो कि भन्ने चिन्तामा छन् ।
खतिवडा २०६२ सालदेखि २०७२ सालसम्म ठमेलमा व्यवसाय गर्थे । विनाशकारी भूकम्पपश्चात व्यापार खस्क्यो । व्यापार छोडेर ६ महिना युरोप बसे । तर, आफ्नै देशमा केही गर्ने सपनाले उनलाई त्यहाँ बसिरहन मन लागेन । पैतृक भूमिमा फूल फुलाउने बोकेर स्वदेश फर्के ।
‘फूलखेती पर्यटन क्षेत्रकै अर्को रूप हो । ट्राभल एजेन्सी र ट्रेकिङ एजेन्सीले आफ्ना विदेशी पाहुनाहरुलाई स्वागत गर्न र बिदाई गर्न फूल तथा बुकी प्राय: अनिर्वायजस्तै छ,’ उनले भने, ‘नेपालको फूलले मात्र नपुगेर भारतबाट समेत आयात गर्नुपरेको छ । त्यसैले फूल खेती गरेको हुँ ।’
काठमाडाैंनजिक र राजमार्गको छेउमै आफ्नो जग्गा भएर पनि फूलखेती गर्न सहज भएको उनले बताए । तर सिँचाइका लागि वर्षाको पानीको भर पर्नुपर्ने उनको भनाइ छ । यस वर्ष पानी परिरहेकाले सिँचाइ गर्न सजिलो भएको उनले भने । ‘फूलको पात तरवाजस्तो हुने भएर तरवार लिली भनिन्छ । यो बहुवर्षे जातको फूल हो । यसको गानोबाट नयाँ बिरुवा निस्कन्छ,’ उनले भने । विवाह तथा व्रतबन्ध मण्डप गाडी, सभासमारोह स्थल सजाउन र स्वागत गर्न प्रयोग हुने फूल प्रतिगोटा १० देखि १४ रुपैयाँसम्म होलसेलमा बिक्ने खतिवडाले बताए ।
उनले फूलखेती सोख भएकाले लगानी नउठे पनि विस्मात् नभएको बताए । हालसम्म १० लाखभन्दा बढी लगानी गरिसकेका उनले अझै लगानी थप्नुपर्ने सुनाए । अहिले सात रंगका फूलहरु फुलिरहेका छन् । ‘यो सिजनको फूल लकडाउनले बोटमै सुक्ने भो । पर्यटक र यो फूलको भेट नहुने भो,’ सुधीरले भने ।
