कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

‘सुत्केरी र गर्भवती बचाऊ’

कोभिड–१९ संक्रमणको त्रासले गर्भवती जँचाउन र प्रसूति गराउन अस्पताल जाने घटेका छन्
ऋषिराम पौड्याल

काठमाडौँ — कोभिड–१९ को संक्रमणको त्रासले गर्भवती र सुत्केरी महिलाले अस्पतालबाट स्वास्थ्य सेवा पाउन कठिन भएको भन्दै सांसदहरूले उनीहरूको जीवनरक्षाका लागि विशेष पहल गर्नुपर्ने माग गरेका छन् । संक्रमणको भयले अस्पताल नजाने र गए पनि सहज रूपमा उपचार नपाउने गरेको सांसदहरूले बताएका छन् ।

‘सुत्केरी र गर्भवती बचाऊ’

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंको प्रसूतिगृह र जिल्लाका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालमा गर्भवती एवं सुत्केरी जाँच गराउन आउनेको संख्या घट्दै गएको छ । प्रतिनिधिसभामा आइतबार सांसदहरूले गर्भवतीले क्वारेन्टाइनमै सुत्केरी हुनुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेकपाकी सांसद विद्या भट्टराईले बन्दाबन्दीका बेला ५६ जना सुत्केरी महिलाको मृत्यु भएको र ६० हजार गर्भवती स्वास्थ्य सेवाबाट वञ्चित भएको बताइन् । असुरक्षित गर्भपतन र रक्तस्रावका कारण महिलाको मृत्यु हुने गरेको उनको भनाइ थियो । नेकपाकी सांसद विन्दा पाण्डेले अस्पतालमा सुत्केरी हुनेको संख्या कम भएको उल्लेख गर्दै बालिकामाथि हिंसा बढेकामा सरकारको ध्यानाकर्षण गराइन् । पुसमा एक जना सुत्केरीको मृत्यु भएकामा चैतमा ५३ जना पुगेको तथ्यांक उनले पेस गरिन् । उनले बलात्कारलगायत लैंगिक हिंसा डरलाग्दो गरी बढेको दाबी गरिन् । ‘गाउँको स्वास्थ्य चौकीमा गएका महिलालाई स्वास्थ्यकर्मीले टाढैबाट हेर्ने गरेका छन्,’ उनले भनिन् । दैलेखमा एक महिला क्वारेन्टाइनमै सुत्केरी भएकी छन् । बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्डमा उपचार गराइरहेकी गर्भवती आइतबार निको भएर घर फर्केकी छन् ।

राजधानीको थापाथलीस्थित प्रसूतिगृहकी प्रशासक रानु थापाका अनुसार लकडाउनमा गर्भ जँचाउन आउने झन्डै ५० प्रतिशत कम भएको छ । उनले भनिन्, ‘सुत्केरी गराउने भने करिब १० प्रतिशत मात्र घटेका छन् । अन्य अस्पताल जाने बिरामी पनि कोरोना त्रासले थापाथली नै आउने गरेका छन् । त्यस हिसाबले त सामान्य अवस्थामा भन्दा धेरै घटेको हो ।’ थापाथली अस्पतालमा काठमाडौं, भक्तपुर, ललितपुरका झन्डै ६० प्रतिशत गर्भवती जँचाउन आउने गरेका छन् । कोभिड–१९ ले सिन्धुपाल्चोककी सुत्केरीको मृत्यु भएपछि शिक्षण अस्पताल महाराजगन्जमा जँचाउने गर्भवतीको संख्या घटेको छ । पाटन अस्पतलालाई कोरोना उपचार अस्पताल बनाइएकाले त्यहाँ जाने गर्भवती पनि कम भएका छन् । थापाका अनुसार दैनिक ओपीडीमा जँचाउन आउने गर्भवतीलाई पनि सामान्य अवस्थामा अस्पताल आउन प्रोत्साहन गरिँदैन । मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले गर्भवती र सुत्केरी अस्पताल आउन डराएकाले पनि जाँच गराउनेको संख्या घटेको बताए ।

सुत्केरीको मृत्यु

डोटीमा सुत्केरी भएको तीन दिनपछि एक महिलाको मृत्यु भएको छ । केआईसिंह गाउँपालिका–४ कार्कीबगरकी २६ वर्षीया नारु कार्कीको आइतबार बिहान मृत्यु भएको हो ।

ती महिलाले जेठ १६ गते शल्यक्रियाबाट छोरी जन्माएकी थिइन् । बेथा लागेपछि उनलाई दुर्गामाडौं स्वास्थ्यचौकीले दिपायल राजपुरस्थित सुजंग अस्पताल रिफर गरेको थियो । उनको मृत्युको कारण भने थाहा हुन सकेको छैन । शुक्रबार शल्यक्रिया गरिएकी महिलाको शनिबारसम्म स्वास्थ्य अवस्था सामान्य थियो । जन्डिस र टाइफाइडको समस्या देखिएकी उनलाई आइबार बिहान साढे ४ बजे एक्कासि बान्ता भई श्वास फेर्न गाह्रो भएको अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए ।

श्वासमा समस्या देखिएपछि अक्सिजन तथा बाफसमेत दिइएको थियो । स्वास्थ्यमा सुधार नभएपछि उनलाई थप उपचारका लागि बाहिर पठाउने तयारी हुँदाहुँदै मृत्यु भएको हो । नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य छ । जिल्ला स्वास्थ्य कार्यालयले कोरोना परीक्षणका लागि मृतकको स्वाब संकलन गरेको छ । अस्पतालले यसअघि गरेको आरडीटी परीक्षणमा महिलाको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रकाशित : जेष्ठ १९, २०७७ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?