इटालीका अधिकांश क्षेत्र अर्को साता खुल्ने

मानिसहरूको कम उपस्थिति रहने क्षेत्र तथा व्यवसाय मे ४ देखि खोल्न योजना सार्वजनिक
एजेन्सी

रोम — कोरोना भाइरस (कोभिड–१९) का कारण सबैभन्दा बढी प्रभावित युरोपेली देश इटालीले ७ सातादेखिको कडा प्रतिबन्ध खुकुलो पार्ने योजना सार्वजनिक गरेको छ ।

इटालीका अधिकांश क्षेत्र अर्को साता खुल्ने

इटालीका प्रधानमन्त्री जुसेपे कोन्टेले टेलिभिजनमार्फत सम्बोधन गर्दै मे ४ देखि दैनिक जीवनका कतिपय प्रतिबन्ध हटाइने बताए । उनका अनुसार मानिसहरूले मे ४ पछि मास्क लगाएर सानो संख्यामा आफन्तहरूसँग भेटघाट गर्न सक्नेछन् ।

कोन्टेका अनुसार मानिसहरू आफ्नो क्षेत्रमा सीमित रहेर आवतजावत गर्न पाउनेछन् । खेलाडीहरूले व्यक्तिगत रूपमा तालिम लिन सक्नेछन् । तर समूहगत तालिमका लागि भने मे १८ सम्म कुर्नुपर्ने प्रधानमन्त्री कोन्टेले बताए । उनका अनुसार बढीमा १५ जना मानिसको उपस्थितिमा अन्तिम दाहसंस्कार गर्न सकिनेछ ।

पार्क, उद्योग तथा निर्माण क्षेत्रहरू खुला गरिनेछ । तर विद्यालयहरूमा भने सेप्टेम्बरसम्म पठनपाठन सुरु हुने छैन । बार तथा रेस्टुराँहरूले घर तथा कार्यालयका लागि ‘टेक अवे’ (खानेकुरा लैजाने) सेवा दिन सक्नेछन् ।

प्रधानमन्त्री कोन्टेका अनुसार केही दिनदेखि भाइरसबाट मृत्यु हुनको संख्या घटेपछि प्रतिबन्ध खुकुलो पार्ने योजना ल्याइएको हो । सैलुन तथा ब्युटीपार्लर भने जुनदेखि मात्र खोल्न पाइनेछ । त्यसैगरी बार तथा रेस्टुराँले पनि जुन १ देखि मात्र पूर्णरूपमा सेवा दिन सक्ने कोन्टेले बताए ।

सम्बोधनका क्रममा उनले इटालियन प्रिमियर लिग फुटबल आयोजनाबारे भने उल्लेख गरेनन् । कोन्टेले सबै क्षेत्रमा सामाजिक दूरी कायम गर्नु अत्यावश्यक रहेको बताए । उनले मानिसहरूलाई एक–अर्काबीच कम्तीमा ३ फिटको दूरी कायम गर्न आग्रह गरेका छन्

‘यदि हामीले सावधानी अपनाएनौं भने मृतक तथा संक्रमितको संख्या बढ्छ र अर्थतन्त्रमा थप क्षति पुग्छ,’ कोन्टेले भने, ‘यदि तपाईं इटालीलाई माया गर्नुहुन्छ भने दूरी कायम गर्नुहोस् ।’ उनले मास्कको मूल्य ५० सेन्टमा सीमित राखिने बताए ।

इटालीमा हालसम्म भाइरसका कारण २६ हजार ९ सय ७७ जनाको मृत्यु भइसकेको छ । १ लाख ९९ हजार ४ सय १४ जनामा संक्रमण पुष्टि भइसकेको छ । आइतबार इटालीमा भाइरसका कारण २ सय ६० जनाको ज्यान गएको थियो । भाइरसको संक्रमण तीव्र रूपमा फैलिएसँगै इटाली मार्च ९ देखि लकडाउनको अवस्थामा छ । मृतक तथा संक्रमितको संख्यामा कमी आएको भन्दै इटाली सरकारले दुई साताअघि लकडाउन केही खुकुलो पारेको थियो । जसअन्तर्गत पुस्तक पसल, ड्राइक्लिनर्स, स्टेसनरीलगायतका साना व्यवसाय खुला गरिएको थियो ।

त्यसैगरी कोभिड–१९ बाट दोस्रो बढी प्रभावित युरोपेली मुलुक स्पेनमा पनि मृत्यु हुनेको संख्यामा कमी आएको छ । अधिकारीहरूले भाइरस नियन्त्रण सकारात्मक दिशातर्फ गइरहेको देखाएको बताएका छन् ।

स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार २ सय ८८ जनाको भाइरसका कारण ज्यान गएको हो । यो गत मार्च २० यताकै सबैभन्दा कम हो । शनिबार स्पेनमा ३ सय ७८ जनाको भाइरसका कारण मृत्यु भएको थियो । हालसम्म स्पेनमा २३ हजार ५ सय २१ जनाको मृत्यु भइसकेको जनाइएको छ ।

मृतकको संख्यामा कमी आएसँगै ६ सातापछि बालबालिकालाई घरबाट बाहिर निस्कने अनुमति दिइएको छ । आइतबार स्पेनमा कैयौं बालबालिका घर बाहिर निस्किएका छन् ।

स्पेनले १४ वर्षभन्दा कम उमेरका बालबालिकालाई बिहान ९ बजेदेखि राति ९ बजेसम्म एक घण्टाका लागि घर बाहिर जान अनुमति दिएको हो । लकडाउन कडा पारिएपछि उनीहरू मार्च १४ देखि घरैमा थुनिएका थिए । बालबालिकालाई सार्वजनिक पार्क तथा घरबाट एक किलोमिटर टाढा जान भने रोक लगाइएको छ ।

त्यस्तै स्विट्जरल्यान्डले मानिसहरूको कम उपस्थिति रहने सैलुन, बगैंचा तथा फूलसँग सम्बन्धित व्यवसाय सञ्चालनमा ल्याएको छ । तर ८ जुनसम्म ५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने बताएको छ । बार तथा रेस्टुराँ खुल्नेबारे भने केही उल्लेख गरिएको छैन ।

प्रकाशित : वैशाख १६, २०७७ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?