कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाबाट जोगिन काठमाडौं

संक्रमित धेरै पाइएको क्षेत्रबाट यात्रु उपत्यका भित्रिए संक्रमण नियन्त्रणमा चुनौती बढ्ने अवस्था भए पनि बिचल्ली परेकाको उद्धारका लागि भनेर आउने बसले यात्रु भित्र्याउन छाडेका छैनन्
सोमबार बिहान ६ देखि ११ बजेसम्म मात्रै ५५ वटा बस भित्रिए
मकर श्रेष्ठ

काठमाडौँ — लकडाउनले काठमाडौंको बसाइ कठिन भएको भन्दै गाउँ जानेको लर्को लागेका बेला प्रदेश १, २ र सुदूरपश्चिम प्रदेशका सर्वसाधारण कोरोनाबाट सुरक्षित ठानेर उपत्यकामा आउन थालेका छन् । काठमाडौं प्रवेश गर्ने नाकाबाट सोमबार बिहानसम्म निर्बाध रूपमा आए । सञ्चारमाध्यमले निगरानी गर्न थालेपछि भने प्रहरीले बाहिरबाट आउने यात्रुको विवरण टिप्न थालेको छ ।

कोरोनाबाट जोगिन काठमाडौं

एक सातायता उपत्यकामा अलपत्र सर्वसाधारण लिन भन्दै आउने बसहरूले बाहिरबाट समेत यात्रु ल्याइरहेका हुन् । कहिले कुन समय कति बस भित्रिए भन्ने विवरण प्रहरीसँग छ, तर कसले कहाँ बस्ने यात्रु उपत्यका भित्र्याए भन्ने छैन । आइतबार साँझसम्म प्रहरीले काठमाडौं प्रवेश गर्ने बसको नम्बर र यात्रु संख्यामात्रै राख्ने गरेको थियो । सोमबार बिहानदेखि मात्रै नाम, ठेगाना, मोबाइल नम्बर टिप्न थालेको छ ।

काठमाडौंको नागढुंगा, फर्पिङ, भक्तपुरको जगाती नाका हुँदै आउने यात्रुबाहक सवारीले बाहिरबाट यात्रु ल्याउने गरेको पाइएको हो । सोमबार बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म नागढुंगा नाकामा कान्तिपुर संवादादाता रहँदा प्रदेश १, २ र सुदूरपश्चिमबाट आउने बसमा यात्रु ल्याउने गरेको प्रत्यक्ष देखियो । प्रहरी स्रोतका अनुसार सोमबार बिहान ६ देखि ११ बजेसम्म मात्रै ५५ वटा बस काठमाडौं भित्रिए । ‘यसमध्ये आधाभन्दा बढी प्रदेश १ को काँकडभिट्टा र विराटनगरका आएका बस छन,’ नाकामा खटिएका एक प्रहरीले भने, ‘यसमा रित्तो आउने बस कमै छन् ।’ कोभिड–१९ संक्रमित धेरै पाइएको प्रदेशबाट काठमाडौं आउने यात्रुको संख्या बढिरहेको प्रहरीले जनाएको छ । काठमाडौंबाट बाहिरिने मजदुर बढी छन् भने काठमाडौं आउनेहरूमा घर भएका र आफन्त यतै भएकाहरू छन् ।

नागढुंगा प्रहरीले बाहिरबाट आउने यात्रुलाई उपत्यका भित्रिनुको कारणसमेत सोधेको थियो । काठमाडौंमा घर र कोठामा आएको भन्ने कारण टिपाएका छन् । ‘हामी आफन्त भेट्न विराटनगर गएका थियौँ । लकडाउनले रोकिएका थियौं,’ सुजन राईले भने, ‘उता भन्दा काठमाडौंमा सुरक्षित पनि लाग्यो । अनि आफन्त पनि यतै भएकोले आएको हौं ।’ लकडाउनले रोकिएपछि विराटनगर महानगरपालिकाले गाडीको व्यवस्था गरेर पठाएको उनले बताए ।

केही दिनयता मात्रै १ सय ४५ वटा बस काठमाडौं भित्रिएको प्रहरी स्रोतले जनाएको छ । नागढुंगा चेकपोस्टले गाडी नम्बर र यात्रु संख्या टिपेर सवारी छाड्ने गरेको थियो । तर, सोमबार बिहान भने प्रदेश २ को राजविराजबाट आएको लालिमा यातायातका तीन वटा बस पौने ८ बजे यात्रु लिएर आएको पाइएपछि फर्काइयो । तर, बस फर्किएन । केही तल पीपलमोडमा पार्किङ गरेर यात्रु ओराल्यो । यात्रु भने हिँडेरै आए । चेकपोस्टभन्दा केही तल असईको नेतृत्वमा उनीहरुलाई रोक्न प्रहरी खटिएका थिए । केही बेर रोके पनि । २० जना जति भएपछि प्रहरीले ४/५ जनाको समूह बनाउँदै चेकपोस्टतिर पठाए । यी तीन वटा बसका यात्रुहरुमध्ये केहीको प्रहरीले नाम, ठेगाना पनि टिपोट गरे । केही त्यतिकै आए । चेकपोस्ट हुँदै यात्रुबाहक बस आउने क्रम जारी थियो । कुनै खाली हुन्थ्यो त कुनैमा यात्रु । यात्रु भएका बसलाई भने प्रहरीले फिर्ता पठाइदिन्थ्यो । तर, केही तल यात्रु छाडेर बसचाहिँ फेरि चेकपोस्टतिरै फर्किन्थ्यो । प्रहरीले ती बसलाई भने थानकोटतिर आउन रोकेको थिएन । निर्बाध रूपमा आइरह्यो ।

यही क्रममा विराटनगर महानगरपालिकाले रिजर्भ गरेर पठाएको बस पौने ८ बजेतिर नागढुंगा आइपुग्यो । ५/७ जना यात्रु लिएर आउने बस प्रहरीको रोकतोकबिनै छिरिहाल्यो । जब १५ जनाभन्दा बढी यात्रु लिएर विराटनगरबाट आएको बसचाहिँ नाकामा टिपोट गर्ने प्रहरीको निगरानीमा पर्‍यो । यात्रु ल्याउने अरू बसलाई जस्तै झापा, विराटनगरबाट आउने बसलाई प्रहरीले फिर्ता पठाए । अलि तल यात्रु झारेर फेरि चेकपोस्टमै तिरै फर्के । यात्रु भने आफ्नो झोला र बच्चा च्यापेर चेकपोस्ट आउँदा प्रहरीले रोके । केही बेरअघिसम्म नाम टिपाएर यात्रु छुटिरहेका थिए । एउटा बसमा चढेका यात्रुलाई ओरालेपछि नाम टिपाउँदा अगाडि जुन आउँथ्यो प्रहरीले त्यसमै हालेर पनि पठाए । तर, विराटनगरबाट आएको यात्रुको हुल अलि ठूलै देखेर प्रहरीले पठाउने आट गरेन । त्यो हुल देखेपछि प्रहरी पनि हच्किए । महानगरले सात वटा बसमा एक सयभन्दा बढी यात्रु काठमाडौं पठाएको थियो ।

नागढुंगा प्रहरीले रोकेको डेढ घण्टापछि १० बजे नाम र मोबाइल नम्बर टिपाएर पठाउन सुरु गर्‍यो । नागढुगा चेकपोस्टका सईले १५ मिनेटमा ५० भन्दा बढी यात्रु थानकोटतर्फ पठाइसकेका थिए । तर, इन्स्पेक्टर आएर नाम टिपाउन लाइन बसेकालाई भने अघि बढ्नै दिएनन् । उनले रोक्नुअघि नाम टिपाएर जाने गएको गएकै भए । कोही मूल सडक हुँदै कलंकीतर्फ र कोही नागढुंगाबाट कलंकी निस्कने भित्री बाटो हुँदै गए । बसले ओरालेपछि हिँडेर चेकपोस्ट आइपुगेका यात्रु प्रहरीसँग रिसाए । केहीले औंला ठड्याउँदै बाझेर आफ्ना समस्या सुनाए । तर, प्रहरीले उनीहरुलाई डेढ घण्टाभन्दा राख्नै सकेनन् ।

सुरुमा १ सयभन्दा बढी यात्रुलाई प्रहरीले रोकेर लाइन लगाएका थिए । केही छिनपछि खाजा खाने, ट्वाइलेट जाने निहुँमा बिस्तारै रोकिएको यात्रुको हूल पातलिँदै गयो । रोकिएका सबैले आफ्ना समस्या सुनाउँथे । प्रहरीले पनि केही समय बस्न थामथुम पारे । नागढुंगा इन्चार्ज थानकोटमा डीएसपीलाई भेट्न गएकै बेला नाम टिपाएर ५० भन्दा बढी छुटेका हुन् । जो रोकिए उनीहरु दिनभरि नाकामै अलपत्र परे । दिनभरि परेको पानीले रुझे । नागढुंगामा अलपत्र परेका यात्रुहरु ओत लाग्न कहिले गाडीको चेपतिर छिर्थे । कहिले चन्द्रागिरी नगरपालिकाको २ नम्बर वडा कार्यालय बाहिरको पेटीमा ओत लाग्न जान्थे । एउटै बसमा आउने कोही यात्रु नागढुंगाबाट घर पुगिसकेका थिए भने केही भने दिनभरि नागढुंगामै अड्किएपछि उनीहरु प्रहरीप्रति आक्रोशित थिए । प्रशासनले प्रहरीलाई सही निर्देशन नदिँदा कोही थानकोटतर्फ आए भने केही नागढुंगामा फसेका हुन् । प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल दिउँसो पौने १२ बजे सुरक्षा टोलीसहित नागढुंगा अनुगमनमा गए पनि अलपत्र यात्रुसँग नभेटी फर्किए ।

नौ घण्टापछि छुटे

विराटनगरबाट आएकालाई नागढुंगामा रोकेको ९ घण्टापछि प्रहरीले छाडेको छ । बिहान पौने ८ बजे नागढुंगा आइपुगेका उनीहरुलाई प्रहरीले ६ बजे कलंकीतर्फ आउन दिएको हो । एउटै बसमा आएका कोही १० बजे छुटेर घर पुगे पनि आफू रोकिएको भन्दै उनीहरु आक्रोशित भएका थिए ।

‘हामी धादिङबाट आएका होइनौं । हामीले प्रहरीको कर्या चेकपोस्ट हुँदै नागढुंगा आइपुगेका थियौं ,’ नागढुंगामा रोकिएका पवित्रराज खत्रीले भने, ‘रोक्ने भए हामीलाई विराटनगरमै किन नरोकेको ? बाटोभरिको प्रहरीले किन नरोकेको ? यहाँ आएर हामीलाई दिनभरि अलपत्र पारेर साझमा छाड्यो ।’ दिउँसो १ बजे सीडीओ नै चेकपोस्टमा आएपछि आफूहरुलाई छाड्ने उनीहरुले आशा गरेका थिए । साँझसम्म पनि नछाडेपछि साना दूधेबालक भएका यात्रुहरु आत्तिएका थिए ।

जंगलको बाटो हुँदै थानकोट

नागढुंगा नाकामा यात्रुबाहक बसको चाप चढेपछि धादिङ प्रहरीले नौबिसेमा बाहिरबाट आएको बस रोकेको थियो । यसरी रोकिनेमा सुदूरपश्चिम र कर्णालीबाट आएको यात्रुबस बढी थियो । नागढुंगा प्रहरीले बाहिरबाट बसमा यात्रुलाई रोकेपछि नौबिसे र झयाप्ले खोला हुँदै जंगलको बाटोबाट हिँडेर यात्रुहरु थानकोट निस्कने गरेका थिए । बिहान १० बजेभन्दा अघि आउने बसका यात्रुलाई नागढुंङगा प्रहरीले रोकेपछि यात्रु लिएर आएको बसले नौबिसेमै काठमाडौं आउने यात्रु झारेका थिए । नागढुंगामा बिराटनगरबाट आएका सहित ६१ जना यात्रु दिनभरि रोकिए । उनीहरुलाई नागढुंगाबाट थानकोटतर्फ आउन दिइएको थिएन । ६ बजे मात्रै प्रहरीले छाडेको हो ।

नागढुंगामा कडाइ गरेपछि नौबिसेबाटै हिँडेर यात्रुहरु थानकोट निस्केका हुन् । ‘बसले नौबिसेमा झारेपछि तीन घण्टा हिँडेर थानकोट आइपुग्‍यौं,’ धनगढीबाट बसमा आएकी रमा भुजेलले भने, ‘अब भित्रको बाटोबाट कलंकी निस्केर साह्रेखुट्टे कोठामा जान्छौं ।’ धनगढीमा कोरोना फैलिएकोले काठमाडौं सुरक्षित लागेर आएको उनले बताइन् । नौबिसेबाट जंगलको बाटो हुँदै आएका उनीहरु नागढुंगा चेकपोस्टभन्दा अलि वर निस्केका थिए । थानकोट जाने मूलबाटो प्रहरीले रोक्ने भन्दै उनीहरु भित्री बाटो हुँदै कलंकी तर्फ लागे । उनीहरुको समूहमा हिँडेर आउने १४ जना थिए । ‘अरू पनि आइरहेका छन, हामीभन्दा अघि धेरै गए,’ उनले भनिन् ।

१ बजे हेल्थ डेस्‍कमा कर्मचारी

यात्रु रोकिएको चर्चा पछि नागढुंगा चेकपोस्टको हेल्थ डेक्समा दिउँसो १ बजे मात्रै २ जना कर्मचारी पीपीई लगाएर पुगेका थिए । प्रहरीले बिहान नाम टिपाएर पठाएका यात्रुको स्वास्थ्य परीक्षणसमेत भएन । चेकपोस्टमा स्वास्थ्य परीक्षण गर्ने हेल्थ डेक्स राखे पनि स्वास्थ्यकर्मी कोही थिएनन् । पौने १ बजे काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, प्रहरी प्रमुख श्याम ज्ञवालीलगायत सुरक्षाकर्मी नागढुंगा पुग्ने बेलासम्म हेल्थ डेक्समा स्वास्थ्यकर्मी पुगेका थिएनन् । स्वास्थ्यकर्मी नभएकै कारण विराटनगरबाट आएका ५० भन्दा बढी यात्रुको स्वास्थ्य परीक्षणबिना पठाउनुपरेको एक प्रहरीले बताए । ‘अरू बेला त बिहान १० देखि ४ बजेसम्म हेल्थ डेक्सका कर्मचारी हुन्थे,’ ती प्रहरीले भने, ‘आज त कोही आएकै छैन ।’

नाकामा एम्बुलेन्ससहितको स्वास्थ्यकर्मीको खाँचो रहेको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए । उनले भने ‘अहिले त स्वंयसेवकको भरमा हेल्थ डेस्क चलेको छ ।’ लकडाउन हुनुभन्दा केही दिन अघि चन्द्रागिरी नगरपालिकाले २४ घण्टा स्वास्थ्यकर्मी राखेर परीक्षण गरेको थियो । केही दिनपछि दिउँसो मात्रै भयो । अहिले योङ डक्टरर्स एसोसिएसनले गरिरहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी प्रमुख घनश्याम श्रेष्ठले नागढुंगा नाका हुँदै यात्रुबाहक बसमा यात्रु ल्याउन कडाइ गरेको बताए । ‘काठमाडौं प्रवेश गर्ने बसले यात्रु ल्याउन पाउँदैन । यात्रु ल्याएको पाइएमा फिर्ता गर्ने गरेका छौं,’ उनले भने, ‘फिर्ता गरेको बसमा आएका यात्रु अन्यत्र बाटो हुँदै यदाकदा फर्केर आउने गरेका छन् । यसतर्फ पनि निगरानी बढाएका छौँ ।’

तस्बिरहरु : अनिस रेग्मी र मकर श्रेष्ठ

प्रकाशित : वैशाख १६, २०७७ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?