राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सीबीच टेलिफोन वार्ता

कोरोनाविरुद्धको लडाइँमा सहकार्य गर्ने प्रतिबद्धता

वैशाख १५, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीच सोमबार टेलिफोनमार्फत कुराकानी भएको छ । कुराकानीमा क्रममा चिनियाँ राष्ट्रपति सीले कोरोना भाइरस.(कोभिड–१९) विरुद्धको लडाइँमा नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कुराकानीका क्रममा चिनियाँ राष्ट्रपति सीले दुवै देशको स्वास्थ्य संस्थाहरुलाई सञ्चार र सहकार्यका लागि पनि आग्रह गरेका छन् ।

त्यस्तै विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसविरुद्धको लडाइँमा अन्तर्राष्ट्रिय समुदायबीच एकजुटता र सहयोगको आवश्यकता रहेको पनि सीले बताएका छन् । कोरोना संकटसँग जुध्न विश्वले बहुपक्षवादको रक्षा गर्दै अन्तर्राष्ट्रिय न्याय र नैतिकतालाई बचाइराख्नु पर्ने आवश्यकता रहेको पनि चिनियाँ राष्ट्रपति सीले औंल्याएका छन् । 

त्यस्तै राष्ट्रपति भण्डारीले कोरोना भाइरस संक्रमण रोकथामका लागि चीनले चालेको कदमको प्रशंसा गरेकी छिन् । साथै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विश्वका विभिन्न देशमा चीनले गरेको सहयोगप्रति पनि राष्ट्रपति भण्डारीले प्रशंसा गरेकी छिन् । जवाफमा चिनियाँ राष्ट्रपति सीले कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपालले चालेको कदम पनि प्रभावकारी भएको भन्दै प्रशंसा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

साथै चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणपछि नियमित काममा फर्किएको भन्दै खुशी व्यक्त गरेका छन् । साथै उनले प्रधानमन्त्री ओलीको सुस्वास्थ्यको कामना गरेका छन् ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully