चितवन — समाचार संकलनमा हिँडेका चितवनका दुईजना पत्रकारलाई प्रहरीले गिरफ्तार गरेको छ। भरतपुरको चौबिसकोठीबाट नियन्त्रणमा लिएपछि क्वारेन्टाइनमा राख्न भन्दै उनीहरुलाई भरतपुरको कर्भडहल पठाइएको थियो।
क्वारेन्टाइनमा राखिएका पत्रकारलाई नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले जमानी बसेर एक घन्टापछि छुटाएर ल्याएका थिए।
स्थानीय कायाकैरन दैनिकका सम्पादक विनोदबाबु रिजाल र त्रिवेणी एफएमका सञ्चारकर्मी अर्जुन अधिकारीलाई प्रहरीले सोमबार बिहान १० बजेतिर भरतपुर चौबिसकोठीबाट नियन्त्रणमा लिएको थियो। ‘हामी समाचार संकलनका लागि यसअघि पनि फिल्डमै थियौं। आज चौबिसकोठीमा प्रहरीको जाँच थियो। हामीले पत्रकार हौं भन्दा पनि आज कसैलाई छुट नभएको भन्दै मोटरसाइकलसहित हामीलाई गाडीमा राखे,’ पत्रकार रिजालले भने।
चौबिसकोठीबाट सुरुमा जिल्ला प्रहरी कार्यालय ल्याएको र त्यहाँबाट क्वारेन्टाइन्मा राख्ने भन्दै भरतपुर कभर्डहल पुर्याएको उनको भनाइ छ। कर्भडहलबाट साढे ११ बजे महासंघ चितवन शाखा अध्यक्ष खतिवडाले आफूहरुलाई छुटाएर ल्याएको उनले बताए।
नेपाल पत्रकार महासंघ चितवन शाखा, प्रेस संगठन चितवन र नेपाल प्रेस युनियन चितवन शाखाले संयुक्त विज्ञप्ति निकालेर घटनाको विरोध गरेका छन्। ‘कार्यक्षेत्रमा खटिने पत्रकारमाथि दुर्व्यवहार गर्दै नियन्त्रणमा लिने काम भएको छ। ती प्रहरीलाई कारबाही होस् भन्ने हाम्रो माग छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ। कोभिड–१९ को महामारीका बेला सत्यतथ्य सूचना र जानकारी प्रवाह गर्नका लागि कार्यक्षेत्रमा खटिने पत्रकारहरुको सुरक्षामा संवेदनशील हुन र स्वतन्त्र रुपमा काम गर्ने वातावरण बनाउन पत्रकार सम्बद्ध संघसंगठनले माग गरेका छन् ।
