काठमाडौँ — विराटनगरलगायत विभिन्न ठाउँबाट आएका यात्रुलाई नागढुंगा चेकपोस्टका प्रहरीले रोकेको छ । यसअघि विराटनगरबाट आएका केही यात्रुलाई व्यक्तिगत विवरण टिपेर छाडिए पनि पछि माथिको आदेश भन्दै महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठले रोकेका हुन् ।
यसैबीच काठमाडौंका प्रमुख जिल्ला अधिकारी(सीडीओ) जनकराज दाहाल नेतृत्वको टोलीले थानकोट नाकाको अनुगमन गरेको छ । राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकारी र ट्राफिक प्रहरी प्रमुख भीम ढकालसहित आएका सीडीओ दाहालले थानकोट नाकामा अनुगमन गरे पनि अलपत्र यात्रुको व्यवस्थापनका बारेमा केही बोलेनन् । उनले यात्रुहरु र मिडिया कसैसँग पनि कुरा गरेनन् ।

