जब जहाजमै बास पर्‍यो !

सुरज कुँवर

काठमाडौँ — बिहीबार दिउँसो सिंगापुरबाट उड्दा पाइलटहरुले मिसन बनाएका थिए– ७ वटा देशमाथिको आकाशको बाटो छल्दै बेलुकीसम्म मेडिकल सामान काठमाडौं ओराल्ने । 


तर, अफसोच पाइलटहरुको त्यो मिसनमाथि तगारो भइदियो छिनछिनमा बदलिरहेको हवाई रुटको मौसम । अर्थात् हिन्द महासागरको उत्तरपूर्वी भागमा पर्ने बंगालको खाडीसँग जोडिएका म्यानमारलगायतका पूर्वी मुलुकमाथिको हवाई बाटोमा बाक्लै कालो बादलको जहाजले सामना गरिरहनु पर्‍यो ।

३६ हजार फिटमा उडिरहेको एउटा मझौला आकारको त्यो श्री एयरलायन्सको जहाज त्यसदिन नेपाल नपुग्दै बीचबाटै भारततर्फ मोडियो । मानवीय सहायताका सामग्री लिन काठमाडौंबाट उडेको त्यो चार्टर विमान २४ घण्टापछि मात्रै स्वदेश आइपुग्छ ।

श्रीको त्यस विमानमा थिए चारजना पाइलटहरु । क्याप्टेनहरु प्रफुल्ल वैद्य, प्रज्वल अधिकारी, शौरभ सिन्हा र को–पाइलट सुद्धत लामा । भैपरी आउन सक्ने प्राविधिक कठिनाईका लागि जगेडा स्पेयर पार्टससहित इन्जियर मोहताज अन्सारी र श्याम कुशुवाह पनि त्यसै उडानमा गएका थिए ।

उनीहरु सप्पैले बिहीबार (११, चैत) मा बेलुकी नेपाल आउन नसकेपछि भारतको कोलकत्तास्थित नेताजी सुभाषचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमै जहाज पार्किङ गरेर । उनीहरुले जहाजभित्रै रात बिताउनुपर्‍यो ।

यो कथा लामो छ । सबैभन्दा पहिले मेडिकल सहायता चार्टर उडानबाट सुरु गरौं । चैत २४ गते सिंगापुरमा रहेको टेमासेक फाउन्डेसनले नेपाल सरकारलाई ३३ किलो किलोग्राम कोरोना भाइरस जाच्ने पीसीआर किट अनुदानमा दिएको थियो । यसबाहेक पछि थपिएको स्वस्थ्य विभागको अर्को १ सय १९ केजीको मेडिकल सप्लाई ल्याउन श्रीले आफूसँग भएका ४ वटामध्ये सबैभन्दा ठूलो सीआरजे अल्फा माइक ब्राभो बमबार्डियरलाई त्यसदिन (बिहीबार) बिहान ७:५० बजे नै सिंगापुरका लागि काठमाडौंबाट उडाएको थियो ।

त्यो उडानका कमाण्डर थिए, क्याप्टेन प्रफुल्ल वैद्य । पाइलटको दुई सेट थियो । किन भने, यो उडानको समय १० घन्टाभन्दा बढीको थियो । नियमले एक सेटले १० घण्टा भन्दा बढी उडाउन नमिल्ने भएकाले दुई सेट पाइलट राखेर उडाइएको थियो ।

खासमा मानवीय सहायतासँग जोडिएका यी मेडिकल सामग्री १५ दिनअघि नैं आउनुपर्ने थियो । तर, लकडाउनका कारण व्यवसायिक उडान रोकिएपछि सिंगापुरबाट हवाई चार्टर उडान गर्नुबाहेक नेपालसँग कुनै विकल्प नै भएन ।

यो मिसनको संयोजनकारी भूमिकामा रहेका व्यवसायी रञ्जित आचार्यका अनुसार चार्टर उडान अनुमति लिन नेपालमै समय घर्किदा दुईपटक नेपालबाहेक भारत, बंगलादेश, म्यानमार, थाइल्याण्ड, मलेसिया र सिंगापुर गरी ७ वटा मुलुकमाथि उड्नुपर्ने अनुमति दुईपटक लिनुपर्‍यो ।

उनले सुनाए अनुसार, एकपटकमा २ लाख रुपैयाँभन्दा बढी रकम रुट अनुमति लिदा खर्च लाग्यो । नेपालमै भएका सरकारी निकायबीच संयोजन नभएकै कारण उक्त रकम खेर गएको उनी बताउँछन् ।

त्यसैले श्रीले ती मुलुकमाथि उड्ने अनुमति फेरि लिनु परेको थियो । यता नेपालमा आन्तरिक उडानको मात्रै अनुमति भएको श्रीले अन्तर्राष्ट्रिय कार्गो उडानको अनुमति पाउने प्रक्रिया टुंगिसकेको थिएन ।

२०७५ माघमै सुरु भएको अन्तर्राष्ट्रिय कार्गो उडानको अनुमति लिने लामो प्रक्रिया लकडाउनकै बेला श्रीले यसपाली पुनः थालेर टुंग्यायो । त्यसैले यताको अनुमति नपाउँदै यसलाई ७ वटा मुलुकले दिएको आफ्नो मुलुकको आकाशमाथि उड्ने अनुमति ७२ घन्टामै पहिलोपटक खेर गएको हो ।

दोस्रोपटकमा नागरिक उड्डयन प्राधिकरणले यसका चारवटा बमबार्डियर सीआरजे विमानलाई मात्रै लागू हुने गरी एशियाका केही क्षेत्रमा कार्गो उडान (यात्रु बोक्ने होइन) अनुमति फास्टट्रयाक विधि अपनाएर दियो ।

अहिलेको अवस्थामा नेपालबाट नजिकैका क्षेत्रीय सहरमा १० टनभन्दा कम सामान लिन नेपालमा भएका विमानमध्ये क्यानेडियन सीआरजे नै उपयुक्त देखियो । कारण यो विमानमा जेट इन्जिन भएको तथा युरोपीयन एटीआर विमानको दाँजोमा यसको गति बढी भएकाले । जब यसले पूर्वी, मध्य र पश्चिम एशियासम्मको कार्गो उडानको अनुमति पायो त्यतीबेला फेरि सिंगापुर जाने बाटोमा पर्ने मुलुकहरुको अनुमति भइदिएन ।

यसरी करिब ५ दिन अनुमति प्रक्रियामै यो उडान अन्यौलमा पर्‍यो । सोमबार उड्ने तय भएको सीआरजे शुक्रबार बिहानमात्रै काठमाडौंबाट उडेको थियो । त्यसो त कम्पनीले एक सातादेखि चालकदललाई ‘रेडी’ पोजिसनमा राखिसकेको थियो ।

काठमाडौंबाट उडेको करिब पौने ५ घन्टा हाराहारीमा जहाज त्यस बिहान सिंगापुरस्थित चांगी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । सिंगापुरमा नेपाली पाइलटसहित ६ जना चालक दललाई त्यहाँको विमानस्थलभित्र पस्ने अनुमति भने थिएन । कारण कोरोना भाइरसको माहामारी र लकडाउन ।

चांगी अन्तर्राष्ट्रिय विमानस्थलमा मेडिकल सामान आइनपुगेकाले फेरि ४ घन्टा त्यही ढिलो भइदियो । चालकदलका ६ जनाले ४ घन्टा जहाज रुघेरै समय कटाउनु पर्‍यो । नेपाली समय अनुसार, दिउसोको ४ सिंगापुरमै बजिसकेको थियो । ४ घन्टाको कुराइपछि मेडिकल सामान लोड गरेर काठमाडौंका लागि फर्के ।

सिंगापुरबाट उडेपछि मेलेसिया र थाइल्याण्डसम्मको रुटको मौसम त ठीकै थियो । तर, म्यानमारयता भने जहाजले बाक्लो कालो बादल र तीव्र गतिको हावाको सामाना गर्नुपर्‍यो । बंगलादेश आइपुग्दा मौसम र हावाको गति उडान अनुकुल नदेखिएपछि ३६ हजार फिटमाथि उडिरहेको जहाजलाई पाइलटहरु प्रज्वल अधिकारी र सौरभ सिन्हाले भारतको कोलकत्ता डाइभर्ट गर्ने निर्णय लिए । उनीहरुले काठमाडौंबाट नउड्दै कलकत्तालाई फलाइट प्लानमा वैकल्पिक विमानस्थलको सूचीमा राखेका थिए ।

सिंगापुरदेखि उडेको ४ घन्टा १० मिनेटको यात्रा नेपाली समयअनुसार ९ बजेतिर कोलकत्तामा विश्राम लिन पुग्यो । भारतमा पनि लकडाउन जारी थियो । जहाजबाट पाइलटलाई निस्किने अनुमति त्यहाँ पनि थिएन । यो चार्टर उडानका लागि श्रीले कोलकातामा भद्र इन्डिया नामको ग्राउन्ड ह्न्याडलिङ एजेन्सीले मद्दत लियो । लकडाउनका कारण त्यहाँ पनि कर्मचारी नहुँदा भन्सार चेकजाँच, ५ हजार किलोग्राम इन्धिन थप्दा, हवाई रुट स्विकृत गराउने लगायतका उड्डन सम्बन्धित प्रक्रिया सक्नै ढिलाई भइदियो ।

लकडाउनका कारण सृजित यी उल्झनले काठमाडौं फर्किने सम्भावना क्षीण हुँदै गइरहेको थियो । हुन त सीआरजेका लागि कोलकातादेखि काठमाडौं करिब ५० मिनेटको हवाई दुरी थियो । काठमाडौं उडानका लागि मौसम पनि अनुकुल नभएको चालकदलले रिपोर्ट पाए । पाइलटले जोखिम उठाउन चाहेनन् ।

‘अब के गर्ने ?’ उनीहरुले बिहीबारको रात कोलकाता विमानस्थलमा त्यो पनि जहाजमै बिताउनुपर्ने भयो । अरु कमर्सियल उडानमा जस्तो होटलको बास नहुने भयो । काठमाडौंबाटै लगिएको रोमिङ कल सुविधा भएका मोबाइल फोन र सेटेलाइट फोनमार्फत् उनीहरु कम्पनीसँग सर्म्पकमा थिए । त्यस साँझको सबै अवस्था काठमाडौंमा जानकारी गराउँदै उनीहरुले बिहीबारको रात त्यतै कटाउने निधो गरे ।

लकडाउनका कारण कोलकातामा पनि विदेशी नागरिकलाई विमानस्थलबाहिर निस्किन निषेध थियो । एयरपोर्टभित्रै वा नजिकै भएका होटलमा जानसक्ने सभावना थिएन । काठमाडौंबाटै बिहान जहााजमा राखिएका जुस, स्याण्डविच, पराठा, पानी थिए । केही पाइलटले घरबाटै खाना बनाएर बोकेका थिए । फेर्ने कपडासहितको ब्याग सबैको साथै थियो ।

७० सिट क्षमताको उक्त सीआरजे विमानका सिट काठमाडौंमै केही निकालिएका थिए । जहाजमा भएको विद्युतीय सहायक पावर प्रणाली (एपीयू) को मद्दतले जहाजमा एसी चलाएर चिसो बनाइयो । धन्न जहाजमा म्याट पनि राखिएकाले ६ जनाले विमानभित्रै भुईंमा सुतेर रात कटाए । राति धेरैबेर ढोका खुल्लै राखेका कारण कोलकाताको गर्मी र लामखुट्टेको टोकाईको अनुभव ६ जनाले नै भोगे ।

शुक्रबार बिहान ७ बजे उनीहरु काठमाडौं फर्किए । कोलकाताबाट फर्किदा कमान्डर प्रफुल्ल बैद्य र क्याप्टेन प्रज्वल अधिकारीले उडाएको जहाज ८ बजेतिर काठमाडौं अवतरण भयो । प्रकाशित : वैशाख १५, २०७७ १६:४८

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

लकडाउनको मौका छोपी तस्करद्वारा वनमै काठ चिरानी

मोहन बुढाऐर

धनगढी — लकडाउनको मौका छोपी काठ चोरीतस्करीमा संलग्न समूहले कैलालीको जंगलमा घुम्ती आरा मेसिन सञ्चालन गरी वन फडानी गरेको खुलेको छ।

तस्करले जंगलमै काठ चिरान गरेर चोरी निकासी गरिरहेको धनगढी वन डिभिजन कार्यालयका प्रमुख रामचन्द्र कँडेलले बताए। ‘खडा रुख काट्न/चिर्न मिल्ने र बोकेर लैजान सकिने सानो औजारको प्रयोग गरेर जंगलभित्रै आरामिल चलाएको देखियो। त्यस्तो समूहको खोजीमा छौं।’ लकडाउनका कारण धेरै गस्ती परिचालन गर्न नसकिएको उनको भनाइ छ।

कैलालीका विभिन्न ठाउँबाट गोलिया र चिरानको एक हजार क्युफिटभन्दा बढी काठ डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरले बरामद गरेको छ।

‘सरकारले लकडाउनको अवधिमा अन्य सेवाका कार्यालयका कर्मचारीलाई घरमै बस भनेजस्तो गरेको छ,’ उनले भने, ‘यो महामारीको बेला वनका सुरक्षाकर्मीलाई परिचालन गर्न स्वास्थ्य सामग्री र बिमासमेत छैन।’

डिभिजन वन कार्यालय धनगढीका अनुसार यसै साता कैलालीको चौमालाको जंगलमा भइरहेको चिरानको १ सय ५ क्युफिट काठ स्थानीयको सूचनाका अधारमा वन सुरक्षाकर्मीले बरामद गरेका थिए। मंगलबार उर्मामा ६० क्युफिट गोलिया बरामद भएको छ।

यसअघि चैत्र २८ गते गोदावरी वनमा चिरान भएको १४ क्युफिट र गोलिया ६४ क्युफिट बरामद गरी ९ जनालाई मुद्दा दायर गरिएको थियो। लकडाउनले हिरासतमा राख्ने ठाउँ नभएर तारेखमा छोडिएको प्रमुख कँडेलले बताए।

कैलालीको चुरेसँग जोडिएको गोदावरीमाथिको जंगलमा बढी काठ तस्करी भएको कँडेल बताउँछन्। कैलालीको गोदावरी, उर्मा, फूलबारी, बाह्वनमाथिको चुरे क्षेत्र र पहलमानपुर डिभिजनअन्तर्गत घोडाघोडी करैया, बर्दगोरिया गाउँपालिकाको चुरे फेद, टीकापुर, सुख्खड र चिसापानी क्षेत्रका जंगलमा पनि काठ चोरीतस्करी भइरहेको छ।

‘लकडाउनले स्थानीय समिल बन्द भएकाले तिनका केही सिपालु कामदारलाई समेत काठचोरी तस्करले प्रयोगमा ल्याएका छन्,’ सहायक वन अधिकृत राजीव चौधरीले भने, ‘गाउँका बेरोजगार युवा यतिबेला झनै सस्तो श्रममा उपलब्ध हुने गरेका छन्।’

प्रकाशित : वैशाख १५, २०७७ १६:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×