काठमाडौँ — बिहीबार दिउँसो सिंगापुरबाट उड्दा पाइलटहरुले मिसन बनाएका थिए– ७ वटा देशमाथिको आकाशको बाटो छल्दै बेलुकीसम्म मेडिकल सामान काठमाडौं ओराल्ने ।
तर, अफसोच पाइलटहरुको त्यो मिसनमाथि तगारो भइदियो छिनछिनमा बदलिरहेको हवाई रुटको मौसम । अर्थात् हिन्द महासागरको उत्तरपूर्वी भागमा पर्ने बंगालको खाडीसँग जोडिएका म्यानमारलगायतका पूर्वी मुलुकमाथिको हवाई बाटोमा बाक्लै कालो बादलको जहाजले सामना गरिरहनु पर्यो ।
३६ हजार फिटमा उडिरहेको एउटा मझौला आकारको त्यो श्री एयरलायन्सको जहाज त्यसदिन नेपाल नपुग्दै बीचबाटै भारततर्फ मोडियो । मानवीय सहायताका सामग्री लिन काठमाडौंबाट उडेको त्यो चार्टर विमान २४ घण्टापछि मात्रै स्वदेश आइपुग्छ ।
श्रीको त्यस विमानमा थिए चारजना पाइलटहरु । क्याप्टेनहरु प्रफुल्ल वैद्य, प्रज्वल अधिकारी, शौरभ सिन्हा र को–पाइलट सुद्धत लामा । भैपरी आउन सक्ने प्राविधिक कठिनाईका लागि जगेडा स्पेयर पार्टससहित इन्जियर मोहताज अन्सारी र श्याम कुशुवाह पनि त्यसै उडानमा गएका थिए ।
उनीहरु सप्पैले बिहीबार (११, चैत) मा बेलुकी नेपाल आउन नसकेपछि भारतको कोलकत्तास्थित नेताजी सुभाषचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमै जहाज पार्किङ गरेर । उनीहरुले जहाजभित्रै रात बिताउनुपर्यो ।
यो कथा लामो छ । सबैभन्दा पहिले मेडिकल सहायता चार्टर उडानबाट सुरु गरौं । चैत २४ गते सिंगापुरमा रहेको टेमासेक फाउन्डेसनले नेपाल सरकारलाई ३३ किलो किलोग्राम कोरोना भाइरस जाच्ने पीसीआर किट अनुदानमा दिएको थियो । यसबाहेक पछि थपिएको स्वस्थ्य विभागको अर्को १ सय १९ केजीको मेडिकल सप्लाई ल्याउन श्रीले आफूसँग भएका ४ वटामध्ये सबैभन्दा ठूलो सीआरजे अल्फा माइक ब्राभो बमबार्डियरलाई त्यसदिन (बिहीबार) बिहान ७:५० बजे नै सिंगापुरका लागि काठमाडौंबाट उडाएको थियो ।
त्यो उडानका कमाण्डर थिए, क्याप्टेन प्रफुल्ल वैद्य । पाइलटको दुई सेट थियो । किन भने, यो उडानको समय १० घन्टाभन्दा बढीको थियो । नियमले एक सेटले १० घण्टा भन्दा बढी उडाउन नमिल्ने भएकाले दुई सेट पाइलट राखेर उडाइएको थियो ।
खासमा मानवीय सहायतासँग जोडिएका यी मेडिकल सामग्री १५ दिनअघि नैं आउनुपर्ने थियो । तर, लकडाउनका कारण व्यवसायिक उडान रोकिएपछि सिंगापुरबाट हवाई चार्टर उडान गर्नुबाहेक नेपालसँग कुनै विकल्प नै भएन ।
यो मिसनको संयोजनकारी भूमिकामा रहेका व्यवसायी रञ्जित आचार्यका अनुसार चार्टर उडान अनुमति लिन नेपालमै समय घर्किदा दुईपटक नेपालबाहेक भारत, बंगलादेश, म्यानमार, थाइल्याण्ड, मलेसिया र सिंगापुर गरी ७ वटा मुलुकमाथि उड्नुपर्ने अनुमति दुईपटक लिनुपर्यो ।
उनले सुनाए अनुसार, एकपटकमा २ लाख रुपैयाँभन्दा बढी रकम रुट अनुमति लिदा खर्च लाग्यो । नेपालमै भएका सरकारी निकायबीच संयोजन नभएकै कारण उक्त रकम खेर गएको उनी बताउँछन् ।
त्यसैले श्रीले ती मुलुकमाथि उड्ने अनुमति फेरि लिनु परेको थियो । यता नेपालमा आन्तरिक उडानको मात्रै अनुमति भएको श्रीले अन्तर्राष्ट्रिय कार्गो उडानको अनुमति पाउने प्रक्रिया टुंगिसकेको थिएन ।
२०७५ माघमै सुरु भएको अन्तर्राष्ट्रिय कार्गो उडानको अनुमति लिने लामो प्रक्रिया लकडाउनकै बेला श्रीले यसपाली पुनः थालेर टुंग्यायो । त्यसैले यताको अनुमति नपाउँदै यसलाई ७ वटा मुलुकले दिएको आफ्नो मुलुकको आकाशमाथि उड्ने अनुमति ७२ घन्टामै पहिलोपटक खेर गएको हो ।
दोस्रोपटकमा नागरिक उड्डयन प्राधिकरणले यसका चारवटा बमबार्डियर सीआरजे विमानलाई मात्रै लागू हुने गरी एशियाका केही क्षेत्रमा कार्गो उडान (यात्रु बोक्ने होइन) अनुमति फास्टट्रयाक विधि अपनाएर दियो ।
अहिलेको अवस्थामा नेपालबाट नजिकैका क्षेत्रीय सहरमा १० टनभन्दा कम सामान लिन नेपालमा भएका विमानमध्ये क्यानेडियन सीआरजे नै उपयुक्त देखियो । कारण यो विमानमा जेट इन्जिन भएको तथा युरोपीयन एटीआर विमानको दाँजोमा यसको गति बढी भएकाले । जब यसले पूर्वी, मध्य र पश्चिम एशियासम्मको कार्गो उडानको अनुमति पायो त्यतीबेला फेरि सिंगापुर जाने बाटोमा पर्ने मुलुकहरुको अनुमति भइदिएन ।
यसरी करिब ५ दिन अनुमति प्रक्रियामै यो उडान अन्यौलमा पर्यो । सोमबार उड्ने तय भएको सीआरजे शुक्रबार बिहानमात्रै काठमाडौंबाट उडेको थियो । त्यसो त कम्पनीले एक सातादेखि चालकदललाई ‘रेडी’ पोजिसनमा राखिसकेको थियो ।
काठमाडौंबाट उडेको करिब पौने ५ घन्टा हाराहारीमा जहाज त्यस बिहान सिंगापुरस्थित चांगी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । सिंगापुरमा नेपाली पाइलटसहित ६ जना चालक दललाई त्यहाँको विमानस्थलभित्र पस्ने अनुमति भने थिएन । कारण कोरोना भाइरसको माहामारी र लकडाउन ।
चांगी अन्तर्राष्ट्रिय विमानस्थलमा मेडिकल सामान आइनपुगेकाले फेरि ४ घन्टा त्यही ढिलो भइदियो । चालकदलका ६ जनाले ४ घन्टा जहाज रुघेरै समय कटाउनु पर्यो । नेपाली समय अनुसार, दिउसोको ४ सिंगापुरमै बजिसकेको थियो । ४ घन्टाको कुराइपछि मेडिकल सामान लोड गरेर काठमाडौंका लागि फर्के ।
सिंगापुरबाट उडेपछि मेलेसिया र थाइल्याण्डसम्मको रुटको मौसम त ठीकै थियो । तर, म्यानमारयता भने जहाजले बाक्लो कालो बादल र तीव्र गतिको हावाको सामाना गर्नुपर्यो । बंगलादेश आइपुग्दा मौसम र हावाको गति उडान अनुकुल नदेखिएपछि ३६ हजार फिटमाथि उडिरहेको जहाजलाई पाइलटहरु प्रज्वल अधिकारी र सौरभ सिन्हाले भारतको कोलकत्ता डाइभर्ट गर्ने निर्णय लिए । उनीहरुले काठमाडौंबाट नउड्दै कलकत्तालाई फलाइट प्लानमा वैकल्पिक विमानस्थलको सूचीमा राखेका थिए ।
सिंगापुरदेखि उडेको ४ घन्टा १० मिनेटको यात्रा नेपाली समयअनुसार ९ बजेतिर कोलकत्तामा विश्राम लिन पुग्यो । भारतमा पनि लकडाउन जारी थियो । जहाजबाट पाइलटलाई निस्किने अनुमति त्यहाँ पनि थिएन । यो चार्टर उडानका लागि श्रीले कोलकातामा भद्र इन्डिया नामको ग्राउन्ड ह्न्याडलिङ एजेन्सीले मद्दत लियो । लकडाउनका कारण त्यहाँ पनि कर्मचारी नहुँदा भन्सार चेकजाँच, ५ हजार किलोग्राम इन्धिन थप्दा, हवाई रुट स्विकृत गराउने लगायतका उड्डन सम्बन्धित प्रक्रिया सक्नै ढिलाई भइदियो ।
लकडाउनका कारण सृजित यी उल्झनले काठमाडौं फर्किने सम्भावना क्षीण हुँदै गइरहेको थियो । हुन त सीआरजेका लागि कोलकातादेखि काठमाडौं करिब ५० मिनेटको हवाई दुरी थियो । काठमाडौं उडानका लागि मौसम पनि अनुकुल नभएको चालकदलले रिपोर्ट पाए । पाइलटले जोखिम उठाउन चाहेनन् ।
‘अब के गर्ने ?’ उनीहरुले बिहीबारको रात कोलकाता विमानस्थलमा त्यो पनि जहाजमै बिताउनुपर्ने भयो । अरु कमर्सियल उडानमा जस्तो होटलको बास नहुने भयो । काठमाडौंबाटै लगिएको रोमिङ कल सुविधा भएका मोबाइल फोन र सेटेलाइट फोनमार्फत् उनीहरु कम्पनीसँग सर्म्पकमा थिए । त्यस साँझको सबै अवस्था काठमाडौंमा जानकारी गराउँदै उनीहरुले बिहीबारको रात त्यतै कटाउने निधो गरे ।
लकडाउनका कारण कोलकातामा पनि विदेशी नागरिकलाई विमानस्थलबाहिर निस्किन निषेध थियो । एयरपोर्टभित्रै वा नजिकै भएका होटलमा जानसक्ने सभावना थिएन । काठमाडौंबाटै बिहान जहााजमा राखिएका जुस, स्याण्डविच, पराठा, पानी थिए । केही पाइलटले घरबाटै खाना बनाएर बोकेका थिए । फेर्ने कपडासहितको ब्याग सबैको साथै थियो ।
७० सिट क्षमताको उक्त सीआरजे विमानका सिट काठमाडौंमै केही निकालिएका थिए । जहाजमा भएको विद्युतीय सहायक पावर प्रणाली (एपीयू) को मद्दतले जहाजमा एसी चलाएर चिसो बनाइयो । धन्न जहाजमा म्याट पनि राखिएकाले ६ जनाले विमानभित्रै भुईंमा सुतेर रात कटाए । राति धेरैबेर ढोका खुल्लै राखेका कारण कोलकाताको गर्मी र लामखुट्टेको टोकाईको अनुभव ६ जनाले नै भोगे ।
शुक्रबार बिहान ७ बजे उनीहरु काठमाडौं फर्किए । कोलकाताबाट फर्किदा कमान्डर प्रफुल्ल बैद्य र क्याप्टेन प्रज्वल अधिकारीले उडाएको जहाज ८ बजेतिर काठमाडौं अवतरण भयो ।
