वुहानमा उपचाररत सबै संक्रमित डिस्चार्ज

वैशाख १५, २०७७

एजेन्सी

वुहान — चीन सरकारले वुहानका अस्पतालहरुमा उपचार गराइरहेका सबै कोभिड–१९ का बिरामी डिस्चार्ज भएका जनाएको छ ।

चिनियाँ नेसनल हेल्थ कमिसन (एनएचसी) का प्रवक्ता मी फेङका अनुसार वुहानका अस्पतालमा भर्ना भएका सम्पूर्ण संक्रमित निको भएपछि घर पठाइएको हो । चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट कोभिड–१९ को संक्रमण विश्वभर फैलिएको हो ।

‘पछिल्लो समाचार यो छ कि आज (आइतबार) देखि वुहानमा कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । अस्पतालहरुबाट सबैजना निको भएर फर्केका छन् । वुहान र देशभरका चिकित्सकहरूको प्रयासप्रति हार्दिक धन्यवाद,’ मीले भने ।

एनएचसीका अनुसार चीनका जम्मा संक्रमितमध्ये ५६ प्रतिशत वुहानका हुन् । यहाँ ४६ हजार ४ सय ५२ जनामा संक्रमण देखिएको हो । भाइरसका कारण ३ हजार ६ सय ३७ जनाको मृत्यु भएको छ । जुन चीनमा ज्यान गुमाउनेको ८४ प्रतिशत हो । चीनमा हालसम्म ८३ हजार ९ सय १२जनामा संक्रमण पुष्टि भइसकेको छ ।

कोभिड–१९ को संक्रमण फैलिएपछि वुहानलाई जनवरी २३ मा लकडाउन गरिएको थियो । अप्रिल ८ मा लकडाउन खुला गरिएपछि भने हाल वुहानको जनजीवन सामान्य हुँदै गएको छ ।

लकडाउनकोरोना भाइरस

एजेन्सी

Link copied successfully