कोरोना भाइरस नियन्त्रणका लागि चालेको कदमको ‘अनुमोदन’
सोल — कोरोना भाइरस(कोभिड–१९) को प्रकोपबीच दक्षिण कोरियामा सम्पन्न भएको संसदीय चुनावमा राष्ट्रपति मुन जाए इनको पार्टी विजयी भएको छ ।
कोरोना भाइरसको प्रकोप सुरु भएययता आम निर्वाचन सम्पन्न गर्ने दक्षिण कोरिया पहिलो मुलुक हो । कडा सुरक्षा र सामाजिक दूरी कायम गर्दै सम्पन्न भएको चुनावमा २८ वर्षयताकै उच्च मतदान भएको कोरिया हेराल्डले जनाएको छ ।
मतगणना अन्तिम चरणमा पुग्दा सत्तारुढ डेमोक्रेटिक पार्टीले ३ सयमध्ये १६३ सिटमा जित हात पारेको बीबीसीले जनाएको छ । गठबन्धनमै रहेको अर्को प्ल्याटफर्म पार्टीले १७ सिट जित्ने र डेमोक्रेटिक पार्टीले १८० सिटसहित सरकार चलाउने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
कोरोना भाइरसविरुद्धको लडाइँमा प्रभावका्री कदम चालेकाले राष्ट्रपति मुनको पार्टी विजयी भएको विश्लेषकहरुको दाबी छ । बीबीसीकी सोल संवाददाता लाउरा बिकरका अनुसार जनवरीमा राष्ट्रपति मुनको पार्टीप्रति जनसमर्थन निकै कम थियो । दक्षिण कोरियाली अर्थतन्त्र खस्कँदै गएको, उत्तर कोरियासँगको वार्ता सफल नभएको र विभिन्न राजनीतिक काण्डले मुनको पार्टीको लोकप्रियता घटेको लाउरा विश्लेषण गर्छिन् । तर कोरोना भाइरसविरुद्धको लडाइँमा आक्रामक रणनीतिका साथ प्रभावकारी कदम चालेपछि मुनको लोकप्रियता फेरि बढेको हो । ट्रेसिङ, ट्रयाकिङ र परीक्षणमा आक्रामक ढंगले अघि बढेकाले दैनिक ८ सय जनासम्म संक्रमण भएको अवस्थाबाट वर्तमान सरकारले ३० जनामा झारेको थियो ।
जितसँगै डेमोक्रेटिक पार्टीले सन् १९८७ मा कोरियामा प्रजातान्त्रिक चुनाव भएयता सबैभन्दा ठूलो बहुमतको सरकार बनाउने भएको छ ।
बिहीबार बिहानसम्म दक्षिण कोरियामा कोरोना भाइरसबाट २ सय २९ जनाको मृत्यु भएको छ । त्यस्तै १० हजार ६ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । दक्षिण कोरियामा अस्पतालमा उपचार गराइरहेकाभन्दा निको हुनेकाे संख्या धेरै रहेकाे छ । अहिलेसम्म दक्षिण कोरियामा कोरोना संक्रमणपछि ७ हजार ७ सय ५७ जना निको भएका छन् ।
