धादिङ — लकडाउनका लागि पुलमा लगाइएको छेकबार नाघ्न खोज्दा एक जनाको मृत्यु भएको छ । ज्वालामुखी–५ स्थित बुङ्गकोटघाट पुलकाे छेकबार पार गर्न खाेज्दा ३८ वर्षीय होमबहादुर रानाको बगरमा खसेर मृत्यु भएको हाे ।
ज्वालामुखी–५ बांझगरा निवासी रानाले बुधबारनै घरमा फोन गरेर आफू चितवनबाट पैदलै आइरहेको बताएका थिए । पृथ्वीराजमार्गस्थित बेनीघाटबाट गोरखा फुजेल आउँदै गरेको एम्बुलेन्समा सवार भइ उनी बुढीगण्डकी गोरखा र धादिङ जोडने पुल तरेर आउन खोजेका थिए ।
उक्त पुलको दुवै जिल्लातर्फ छेकबार गरिएको थियो । धादिङतर्फ वडा नम्बर ५ का बासिन्दाले यस अघि नै उक्त पुलमा अवरोध गरेर छेकबार लगाए पनि बुधबार ज्वालामुखी मैदीका एकजना युवामा र्यापिड टेस्टमा पोजिटिभ देखिएपछि गोरखावासीले पनि बिहीबार काँडेतार हालेर आवागमन रोक्ने थप प्रयास गरेका थिए । मृतक रानाले बुधबार राति साढे नौ बजेतिर घरमा फोन गरि अँध्यारोमा कसैले नदेख्ने र गोरखातर्फको छेकबार नाघेर आउँदै गरेकोले पुलसम्म लिन आउन भनेका थिए ।
उक्त घटनाको शव परीक्षणका लागि सदरमुकामस्थित जिल्ला अस्पताल लगिएको छ भने थप अनुसन्धान भइरहेको वडा अध्यक्ष टिका काप्रीले बताए ।
