कोरोना प्रकोप : १३ दिनमै बढे १० लाख संक्रमित

अमेरिकामा बुधबार मात्रै २४०० भन्दा बढीको मृत्यु
एजेन्सी

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या बुधबार बीस लाख नाघ्यो । २०१९ को डिसेम्बर अन्त्यमा चीनको वुहान सहरमा देखिएको यो भाइरस २०२० को जनवरीबाट अन्य क्षेत्रमा पनि फैलिएको हो । 

कोरोना प्रकोप : १३ दिनमै बढे १० लाख संक्रमित

सुरुमा विस्तारै फैलिएको संक्रमण पछिल्ला दिनहरुमा निकै तीव्र गतिमा फैलिएको देखिन्छ । २० लाखमध्ये १० लाख मानिसहरुमा पछिल्लो १३ दिनमा संक्रमण देखिएको हो । १० लाख मानिसमा संक्रमण फैलिन ९३ दिन लागेकोमा बाँकी मानिसमा यति छोटो अवधिमा संक्रमण देखिएको हो । मुख्यत: युरोप र अमेरिकामा संक्रमण फैलिएपछि यो संख्या ह्वात्तै बढेको हो ।

जोन होप्किन्स विश्‍वविद्यालल कोरोना रिसोर्स सेन्टरको तथ्या‌कअनुसार कोरोना संक्रमितको कूल संख्याको ७८ प्रतिशत र यसबाट मृत्यु हुनेमध्ये ८६ प्रतिशत मानिस युरोप र अमेरिकाका छन् । हाल अमेरिका सबभन्दा धेरै संक्रमित भएको र तीव्र गतिमा संक्रमण फैलिइरहेको देश बनेको छ । वासिङ्टन पोस्टका अनुसार अमेरिकामा पछिल्लो २४ घन्टामा २ हजार ४ सयभन्दा बढीको मृत्यु भएको छ ।

हालसम्म कोरोनाका कारण अमेरिकामा करिब ३१ हजारको ज्यान गइसकेको छ, जसमध्ये १० हजार न्युयोर्कबासी छन् । बिहीबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० हजार ९ सय २५ रहेको छ । त्यस्तै संक्रमितको संख्या करिब ६ लाख ३९ हजार रहेको छ भने तीमध्ये ५२ हजार निको भएका छन् ।

युरोपका इटाली, स्पेन, फ्रान्स र बेलायत सबभन्दा बढी प्रभावित देश हुन् । बिहीबार बिहानसम्म कोरोना भाइरसबाट विश्‍वभर मृत्यु हुनेको संख्या एक लाख ३७ हजार २० पुगेको छ । त्यस्तै संक्रमितको संख्या २० लाख ६४ हजार पुग्दा करिब ५ लाख १२ हजार जना निको भएका छन् ।

प्रकाशित : वैशाख ४, २०७७ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?