वासिङ्टन — कोभिड–१९ को सम्भावित संक्रमणबाट बच्न अमेरिकी संघीय सरकारले आफ्ना नागरिकलाई अनिवार्य रूपमा मास्क लगाउन निर्देशन दिए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क नलगाउने बताएका छन् । ‘मैले मास्क नलगाउने निर्णय गरेको छु,’ राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा बोल्दै ट्रम्पले भने ।
संघीय सरकारको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सबै नागरिकलाई मास्क लागाउन तथा मुख ढाक्न निर्देशन दिइसकेको छ । तर ट्रम्पले राष्ट्रपति कार्यालयको कार्यकक्षमा बसेर मास्क लगाएर विश्वका नेताहरुलाई अभिवादन गर्नु उपयुक्त नहुने भन्दै मास्क नलगाउने बताएका हुन् ।
‘यो एक सुझाव हो, तिनीहरुले यो सुझाव दिए,’ उनले भने, ‘तर म आफैंले मास्क लगाउन चाहन्नँ ।’ नयाँ निर्देशनसँगै संघीय अधिकारीले नागरिकलाई अन्य मास्क लगाउन र एन–९५ मास्क सकभर स्वास्थ्यकर्मीका लागि उपलब्ध गराइदिनसमेत आग्रह गरेका छन् ।
ट्रम्पले आफ्नो प्रशासनले कोभिड–१९ विरुद्ध राम्रो तयारी गरेको र उपचार भइरहको बताए । सरकारको राम्रो कामका कारण हजारौं मानिसको ज्यान बचेको ट्रम्पको दाबी छ । ट्रम्पले कोभिड–१९ का कारण अमेरिकी राष्ट्रपतिको चुनाव नसर्ने पनि बताएका छन् ।
पछिल्लो समय कोभिड–१९ को संक्रमण सबैभन्दा बढी अमेरिकामा फैलिइरहेको छ । आइतबार बिहानसम्म मेरिकामा कोभिड–१९ का कारण ८ हजार ४ सय जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् । ३ लाख १२ हजारभन्दा बढी संक्रमित भएका छन् भने करीब १३ हजार निको भएका छन् ।
