खाद्यान्न र तरकारी पसल दिनमा तीन घन्टा मात्र

चैत्र २३, २०७६

नवीन पौडेल

परासी — लकडाउनको समयमा पनि भीडभाड नघटेपछि जिल्ला सुरक्षा समिति पश्चिम नवलपरासीले थप कडाइ गरेको छ । भारतसँग सीमाना जोडिएको पश्चिम नवलपरासी कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले सुरक्षा समितिले व्यक्तिहरुको आवतजावत र पसल खोल्ने समय तोकेको छ ।

यअसघि चौबिसै घन्टा खाद्यान्न र तरकारी पसल खोल्न दिइएको थियो । अब भने  समय सीमा तोकिएको छ । पहिलो चरणमा परासी सदरमुकाम क्षेत्रका खाद्यान्न र तरकारी पसल खोल्ने समय दिउँसो ११ बजेदेखि २ बजेसम्म तोकिएको जिल्ला प्रशासन कार्यालय पश्चिम नवलरासीका सूचना अधिकारी सागर केसीले बताए । औषधि पसलहरु भने चौबिसै घन्टा खुल्ने छन् । अन्य सबै पसल बन्द हुने छन् ।

तरकारी र खाद्यान्न खरिद गर्ने बहानामा साँझपख भीडभाड बढेपछि त्यसलाई नियन्त्रण गर्न यस्तो निर्णय गरिएको हो।

यसअघि विभिन्न बहाना बनाएर बजार क्षेत्रमा निस्कने सर्वसाधारणलाई सम्झाइबुझाइ छाडिएपनि अब भने पक्राउ गरी कानुन अनुसार कारबाही गर्न सुरक्षा निकायलाई प्रष्ट निर्देशन दिइएको छ ।

पश्चिम नवलरासीको भारतीय सीमावर्ती क्षेत्रमा कोरोना भाइरसको संक्रमण भेटीएपछि नेपालतर्फ थप कडाइ गरिएको हो । 

 

लकडाउनकोरोना भाइरस

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully