१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कोरोना संक्रमण बढेको बढ्यै : अमेरिकामा मृतकको संख्या ७ हजारभन्दा बढी

 कोरोना संक्रमणका कारण अमेरिकामा ६६ लाखले बेरोजगारी सुविधाका लागि आवेदन दिएका छन् भने स्पेनमा ९ लाखले जागिर गुमाएका छन्
एजेन्सी

वासिङटन/जेनेभा — चीनको वुहानबाट विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित तथा मृत्यु हुनेको संख्या दिनदिनै बढ्दै गएको छ ।

कोरोना संक्रमण बढेको बढ्यै : अमेरिकामा मृतकको संख्या ७ हजारभन्दा बढी

जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर भाइरस संक्रमितको संख्या करिब ११ लाख पुगेको छ । करिब ५९ हजारले ज्यान गुमाइसकेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमितमध्ये कम्तीमा २ लाख २५ हजार जना निको भएका छन् ।


पछिल्लो समय अमेरिकामा कोभिड–१९ को संक्रमण निकै तीव्र रूपमा फैलिइरहेको छ । अमेरिकाका प्रमुख सहरहरू लकडाउनको अवस्थामा छन् भने निर्माण, पर्यटन, होटल, रेस्टुराँ, रात्रि क्लबलगायतका व्यवसायी निकै प्रभावित भएका छन् । जसका कारण बेरोजगारी पनि ह्वात्तै बढेको छ ।

अमेरिकाका पछिल्लो २४ घण्टामा एक हजार ४६ को मृत्यु भएको छ । शनिबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको स‌ख्या ७ हजार १ सय ४१ पुगेको छ । त्यस्तै शनिबार बिहानसम्म अमेरिकामा संक्रमितको संख्या २ लाख ७६ हजार नाघेको छ ।

संघीय सरकारको श्रम मन्त्रालयका अनुसार मार्च महिनाको अन्त्यसम्ममा ६६ लाख अमेरिकीले बेरोजगारी सुविधाका लागि आवेदन दिएका छन् । यो अमेरिकी श्रम बजारकै अभूवपूर्व संख्या हो ।


विज्ञहरूले यो संख्या थप बढ्न सक्ने र अप्रिल महिनामा लाखौंले रोजगारी गुमाउन सक्ने चेतावनी दिएका छन् । अमेरिकी स्वास्थ्य अधिकारीहरूले २ लाख ४० हजार जनासम्मको ज्यान जान सक्ने चेतावनी यसअघि नै दिइसकेका छन् ।

स्पेनमा ९ लाखले गुमाए रोजगारी

युरोपेली देश स्पेनमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या १० हजार नाघिसकेको छ । भाइरसका कारण सबैभन्दा बढी प्रभावित देशमध्येमा स्पेन दोस्रो स्थानमा छ ।

यसअघि नै बेरोजगारीको समस्या झेल्दै आएको स्पेनलाई भाइसरको संक्रमणले थप समस्यामा पारेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मार्च महिनामा मात्र करिब ९ लाख स्पेनीले रोजगारी गुमाएका छन् ।


स्पेनले मार्च सुरुदेखि अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द गरिसकेको छ । स्पेन सरकारका अनुसार लकडाउनका कारण ५ लाख ५० हजार अस्थायी कामदारसहित ८ लाख ९८ हजार ८ सय २२ जनाले रोजगारी गुमाएका हुन् ।

पछिल्लो तथ्यांकअनुसार हाल स्पेनमा बेरोजगारीको संख्या ३५ लाख पुगेको छ । जुन २०१७ को अप्रिलयताकै उच्च हो । श्रममन्त्री योलान्दा डियाजले पर्यटन र निर्माण क्षेत्र नराम्ररी प्रभावित भएको बताएका छन् ।


कोभिड–१९ का कारण विश्वभर कम्तीमा २ करोड ५० लाखले रोजगारी गुमाउने संयुक्त राष्ट्रसंघले अनुमान गरेको छ ।

ट्रम्पले गराए दोस्रो परीक्षण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः कोभिड–१९ को परीक्षण गरएका छन् ।

राष्ट्रपति कार्यालय ह्वाइटहाउसका चिकित्सक सिन कोन्लेले पछिल्लो पटक ट्रम्पको दोस्रो परीक्षण गरिएको र त्यसको नतिजा नकारात्मक आएको जनाए । कोन्लेका अनुसार ट्रम्पको नमुना लिन स्वास्थ्यकर्मीलाई करिब एक मिनेट लागेको थियो । करिब १५ मिनेटमा नतिजा आएको उनले जनाए ।


कोभिड–१९ सम्बन्धी कार्यदलको बैठकपछि बोल्दै राष्ट्रपति ट्रम्पले भाइरसविरुद्ध संघर्षरत नर्सिङ होमका लागि नयाँ निर्देशिका जारी गरिएको बताए । अमेरिकामा हाल विश्वकै सबैभन्दा बढी कोभिड–१९ संक्रमित छन् ।

मुम्बईको झुपडी बस्तीमा फैलिँदै

भारतको मुम्बईस्थित धारावी झुपडी बस्तीमा कोभिड–१९ का कारण एकजनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा उक्त बस्तीमा पसल चलाउँदै आएका ५६ वर्षीय पुरुष छन् ।

निकै घना बस्तीमा कोभिड–१९ का संक्रमित भेटिनु निकै जोखिमपूर्ण रहेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । दुई वर्गकिलोमिटरको बस्तीमा १० लाखभन्दा बढी मानिस बस्छन् ।


महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले निकै घना बस्तीमा संक्रमण फैलिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘संक्रमण आम मानिसमा फैलन नदिने प्रयासमा हामी थियौं । धारावीजस्ता घना बस्तीमा संक्रमण देखिनु चिन्ताको विषय हो ।’

यसअघि मुम्बईको अर्को झुपडी बस्ती वर्ली कोलिवाडी क्षेत्रमा पनि कोभिड–१९ का संक्रमित भेटिएका थिए । राज्य सरकारले त्यस इलाकामा आवागमन गर्न प्रतिबन्ध घोषणा गरेको छ ।

प्रकाशित : चैत्र २२, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?