कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना प्रकोप : स्पेनमा मृतक संख्या १० हजार नाघ्यो

पछिल्लो २४ घण्टामा मात्र ९ सय ५० जना संक्रमितको मृत्यु
एजेन्सी

म्याड्रिड — स्पेनमा नोवल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बिहीबार १० हजार नाघेको छ । स्पेनी स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्र ९ सय ५० जनाको मृत्यु भएसँगै बिहीबार मध्याह्नसम्म मृतक संख्या १० हजार ३ पुगेको छ । 

कोरोना प्रकोप : स्पेनमा मृतक संख्या १० हजार नाघ्यो

जनवरी ३१ मा पहिलो संक्रमित पुष्टि भएयता स्पेनमा एकैदिन यति ठूलो संख्यामा संक्रमितको मृत्यु भएको हो । कोरोनाका कारण मृत्यु हुने संख्याका आधारमा स्पेन इटालीपछि विश्वकै सबैभन्दा प्रभावित राष्ट्र हो । स्पेनमा हालसम्म १ लाख १० हजार २ सय ३८ संक्रमित पुष्टि भइसकेका छन् भने संक्रमण र मृत्युदर अझै बढिरहेको छ । २३ हजार संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


भाइरस संक्रमण थप नफैलियोस् भनेर स्पेन सरकारले गरेको ‘लकडाउन’ अहिले तेस्रो सातामा चलिरहेको छ । कतिपय स्थानमा ‘लकडाउन’ उल्लंघनका समाचार आइरहेका छन् भने सरकारी नियम कार्यान्वयनका लागि सुरक्षा फौजले ‘व्यापक बल प्रयोग गरिरहेको’ आरोप पनि लागेको छ ।


स्पेनमा हाल ‘आपत्काल’ समेत लगाइएको हुँदा खाद्यान्न र औषधिजन्य पदार्थ किन्न एक परिवारका एकजनाबाहेक अन्यलाई बाहिर निस्कन प्रतिबन्ध छ । जटिल स्वास्थ्य समस्याको उपचार गर्न र आपतकालीन सेवाका कर्मचारीलाई भने छुट दिइएको छ ।


लकडाउन र प्रतिबन्धका कारण स्पेनमा सरकारले उपलब्ध गराउने बेरोजगार भत्ता लिनका लागि दरखास्त दिनेको संख्यामा पनि रकेर्ड कायम भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

प्रकाशित : चैत्र २०, २०७६ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?