राजधानीका निजी अस्पताल : आइसोलेसन कक्ष सबैमा, सुरक्षा सामग्री शून्य

फातिमा बानु

काठमाडौँ — कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण रोक्न सरकारले सय बेडभन्दा माथिका सबै निजी अस्पताललाई अनिवार्य ज्वरो क्लिनिक राखेर बिरामी जाँच्न निर्देशन दिएको छ ।राजधानीका नौ ठूला अस्पताललाई कोरोनाको बिरामी हेर्न सरकारले हबसमेत तोकिसकेको छ ।

राजधानीका निजी अस्पताल : आइसोलेसन कक्ष सबैमा, सुरक्षा सामग्री शून्य

तर, ती अस्पतालहरुले शंकास्पद बिरामीको भर्ना नलिएको आरोप र गुनासो छ । अस्पतालका संचालकहरु भने बाहिर आएका गुनासा र आरोप अस्वीकार गर्छन् । उनीहरुले उपचारमा आवश्यक स्वास्थ्य सुरक्षा उपकरण सरकारले उपलब्ध नगराएको गुनासो गरेका छन् । अस्पतालहरुले भर्ना भएका शंकास्पद बिरामीहरुको परीक्षणमा कोभिडको नेगेटिभ रिपोर्ट आएको जनाएका छन् ।

एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपाल (अफीन) का महासचिव हेमराज दाहालले निजी अस्पतालले आएजति बिरामी हेरि शंकास्पदको थ्रोट स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइरहेको बताए । ‘बिरामी भर्ना लिन नमानेका अस्पतालसँग हामीले स्पष्टीकरण लिरहेका छौं,’ उनले भने, ‘धेरैजसो केसमा नियमित उपचारका लागि फलोअपमा जाने सामान्य बिरामी फर्काएको ती अस्पतालले जवाफ दिएका छन् ।’

दाहालको आफ्नै अस्पताल धापाखेलस्थित सुमेरुलाई पनि सरकारले हब तोकेको छ । ज्वरो क्लिनिक राखेर ५ बेडको आइसोलेसन र १० बेडको आईसीयू तयारी अवस्था रहेको उनले जनाए । दाहालले सुमेरुमा सामान्य ज्वरोका बिरामी आइरहे पनि अहिलेसम्म कोभिड १९ कै लक्षण भएका कोही नआएको बताए ।

थापाथलीस्थित नर्भिक अस्पतालमा बिहीबारसम्म १० जना शंकास्पद बिरामी भर्ना भएका छन् । उच्च ज्वरो आउने र सुख्खा खोकी लागेका ती बिरामीको सबै रिर्पोट नेगेटिभ आएको अस्पतालका प्रबन्धक आरपी मैनाललिे बताए । ‘अहिले पनि आइसोलेसन वार्डमा एकजना पुरुष भर्ना छन्,’ उनले भने, ‘लक्षण सबै मिल्छ तर रिर्पोट नेगेटिभ आयो, दोहोर्‍याएर स्वाब टेकु पठाएका छौं ।’ पोजेटिभ बिरामी हेर्ने मेडिकल टिमलाई अस्पतालमै क्वारेनटाइन गर्ने व्यवस्थासमेत भएको उनले बताए ।

जावलाखेलस्थित अर्को हब अस्पताल अल्कामा हालसम्म चारजना शंकास्पद बिरामी भर्ना भएका छन् । बुधबार साँझ अस्पतालमा बुझ्दा २ जना बिरामी आइसोलेसनमा भर्ना थिए । ती सबैको रिर्पोट नेगेटिभ आएकाले घर पठाउने तयारी रहेको अस्पताल प्रमुख कुमार थापाले बताए । ‘पोजेटिभ बिरामी फेला परे कसरी व्यवस्थापन गर्ने हो सरकारको स्पष्ट निर्देशन छैन,’ उनले भने, ‘सुरक्षा सामग्री नहुँदा पनि शंकास्पद बिरामी हेर्नुपर्‍यो भन्दै अन्य अस्पतालका जुनियर डाक्टरले फोन गर्छन्, अदालतको पनि कडा आदेश छ के गर्नु ?’

सानेपास्थित स्टार अस्पतालको आइसोलेसनमा चारजना बिरामी भर्ना भए । बिहीबारसम्म एकजना भर्ना रहेको अस्पतालका प्रबन्ध निर्देशक डा.शैल रुपाखेतीले बताए । ‘भारत घुमेर आएको बिरामीको त मृत्यु पनि भयो,’ उनले भने, ‘रिर्पोट भने नेगेटिभ आयो ।’ लक्षणसहित आइसोलेसनमा भर्ना भएका एक जनामा इन्फ्लुएञ्जा देखिएको उनले बताए ।

अस्पतालले ल्याब सम्बन्धित कलेज (बिएमएलटी) चलाइरहेकाले किट भएमा कोरोना परीक्षण गर्ने क्षमतासमेत भएको उनले जनाए । महामारी फैलिएर सरकारी अस्पतालमा कोरोनाका बिरामी राख्ने ठाउँ नपुगे आफूहरू राख्न र उपचार गर्न तयार रहेको उनले बताए । ‘निजी अस्पताल आत्तिनुको एउटै कारण सुरक्षा सामग्री नदिनु हो,’ उनले भने, ‘यस्तो अवस्थामा सरकारले हाम्रो हौसला बढाउनुको साटो कारबाही गर्ने भन्दै थर्काउनु निन्दनीय छ ।’

धापासीस्थित ग्राण्डी अस्पतालमा हालसम्म शंकास्पद नै भनेर २ जना बिरामी भर्ना भएका छन् । ती बिरामी आईसीयुमा भर्ना भएर उपचारै लिइसकेको अस्पतालका निर्देशक डा.चक्रराज पाण्डेले बताए । ती बिरामी स्वाइन्फ्लु र इन्फ्लुएञ्जाबाट संक्रमित भएको तर कोरोना परीक्षण रिर्पोट नेगेटिभ थियो । अहिले ती बिरामी डिस्चार्ज भैसकेका छन् ।

‘ज्वरोका बिरामी त आइरहन्छन्,’ पाण्डेले भने, ‘अहिले पनि २० जना आइसीयुमा भर्ना छन् तर शंकास्पद भेटिएका छैनन् ।’ कुनै एक अस्पतालले ज्वरोका बिरामी हेर्न नमानेको घटनालाई सबै निजीलाई एउटै डालोमा हालेर सरकारले आक्षेप लगाएकोमा चित्त दुखेको उनले बताए ।

बल्खुस्थित बयोधा अस्पतालमा चारजना शंकास्पद बिरामी भेटिए । आइसोलेसनमा राखिएका सबैको परीक्षण नेगेटिभ आएको अस्पतालका महाप्रबन्धक राजन श्रेष्ठले बताए । ‘पाँचवटा आइसोलेसन बेड छुट्याएका छौं,’ उनले भने, ‘बिरामीले फोन गर्छन्, फोनबाटै लक्षण र ट्राभल, हिस्ट्री सोध्दा शंका लागे अस्पताल नै बोलाउँछौं ।’

ग्वार्कोस्थित बी एण्ड बी असपतालको आइसोलेसनमा हालसम्म एकजना शंकास्पद बिरामी भर्ना भएका छन् । रिर्पोट नेगेटिभ आएपछि केही दिनअघि डिस्चार्जसमेत भइसके । ज्वरोलगायत मौसमी रुघाखोकीका बिरामी भने अस्पतालमा दैनिक २५ जनासम्म आउने गरेको र भर्ना हुने गरेको अस्पतालका प्रशासक प्रकाश कुवँरले बताए । ‘१० बेडको आइसोलेसन कक्ष छुट्याएका छौं, मेडिकल टीमका लागि पनि आइसोलेसन कोठा छ,’ उनले भने, ‘सरकारले शंकास्पद बिरामी भर्ना गर भनेको छ, सुरक्षा सामग्री दिएको छैन ।’

प्रकाशित : चैत्र २०, २०७६ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?